coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वातावरण राम्राे भएकाे छ लगानी गर्नुस् सरकारले सुरक्षा र प्रतिफलकाे ग्यारेन्टी गर्छः प्रचण्ड

लगानी सम्मेलनमा सम्बाेधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । तस्बिरः माेहम्मद/नागरिक

बुटवल– रुपन्देहीको तिलोत्तमा लगानी सम्मेलन सुरु भएको छ। सम्मेलन एक कार्यक्रमबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका छन्। सम्मेलनको उदघाटन गर्दै प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण निर्माण भएको बताएका छन्। लगानीको सुरक्षा र प्रतिफल प्राप्तिको स्वतन्त्रतालाइ ग्यारेन्टी गर्ने दिशामा सरकार अगाडी बढेकाले लगानीमैत्री वातावरण बनेको उनले दावी गरे। लगानीमैत्री वातावरण निर्माणकै लागि सरकारले उपयुक्त ऐन कानुन निर्माणसँगै भएका कानुनहरुलाइ परिमार्जित गर्दै पुर्वाधार निर्माणलाइ पनि गति दिइएको बताए।

प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनी रहेको रुपन्देही तथा प्रदेश नं. ५ नै देशमा सबैभन्दा धेरै लगानी सम्भावना बोकेको क्षेत्र भएको बताए। ‘यहाँ विश्वले चिनेको बुद्ध जन्मस्थल लुम्बिनी र अन्य बुद्धस्थलहरु छन्। यस हिसाबले पनि यो प्रदेश लगानीकालागि सम्भावनानै सम्भावना बोकेको क्षेत्र हो’ प्रचण्डले भने। तिलोत्तमा नगरपालिकाले गरेको लगानी सम्मेलनले स्थानीय तहमा मात्रै नभइ नेपालमै लगानीको उत्साहजनक वातावरण बनेको सन्देश प्रवाह गरेको भन्दै प्रशंसा गरे। उनले अरु स्थानीय तहहरुलाइ पनि राम्रो कामको सिको गर्न आग्रह गरे।

लगानी भित्र्याउन पुर्वाधार विकास अति आवश्यक भएको भन्दै उनले तीन वटै सरकारको समन्वय र सहकार्यमा अगाडी बढनु पर्नेमा जोड दिए। ‘लगानी भित्र्याएर देशलाइ समृद्धिको दिशामा लैजाने कार्यभार हाम्रो काँधमा आएको छ त्यसलाई हामीले गम्भीर रुपमा लिएका छौ’ पुर्वप्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डले भने। राजनीतिक घोषणाले मात्रै देशमा परिवर्तन नआउने भन्दै उनले सरकार, जनप्रतिनिधी तथा राजनीतिक दलका नेताहरुको शैली र संस्कार भने बदलीनु पर्ने खाँचो औल्याए।

कार्यक्रममा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ ले राजनीतिक सहमती र सहकार्यमै संघीयता कार्यान्वनय र विकासमा फड्को मारीरहेको दावी गरे। प्रदेशको आर्थिक वृद्धिदर तथा बजेट खर्चसगै  पुर्वाधार विकासमा पनि उल्लेखनीय प्रगती गरिरहेको भन्दै उनले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाइ आव्हान गरे।

लगानीको वातावरण निर्माणमाा प्रदेश सरकार जुटेको भन्दै उनले तिलोत्तमाको लगानी सम्मेलनले प्रदेशको आर्थिक विकासमा उल्लेखनिय योगदान दिने विश्वास व्यक्त गरे। कार्यक्रममा संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले पनि देशमा अर्थतन्त्रका सुचकहरुले नै लगानीको वातावरण बनेको पुष्टि गरीरहेको बताए। उनले स्थानीय तहले लगानी भित्रयाउँदा भुउपयोग नीतिलाइ अबलम्बन गरी अगाडी बढनु सुझाव दिए।

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, नेपाली कांग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँड, नेकपाका महासचिव बिष्णु पौडेलले बोल्दै सम्मेलन सफलताको शुभकामना दिए।

 
उत्पादन मुलक क्षेत्रमा आन्तरिक तथा बाहृय लगानी भित्र्याएर स्थानीय तहमा रोजगारी सृजना गर्ने उद्देश्यले लगानी सम्मेलनको आयोजना गरिएको तिलोत्तमाका नगरप्रमुख वासुदेव घिमिरेले बताए। सम्मेलनमा  अहिले लगानी क्षेत्रहरुका सम्बन्धमा बिषयगत तथा समुहगत रुपमा छलफल सुरु भएको छ।

उदघाटन लगत्तै सबै प्रदेशका आर्थिक मामिला मन्त्रीबीचको छलफल सुरु भएको छ। मन्त्रीहरु अर्थ सचिव, जिल्लाका औद्योगिक तथा व्यापारिक संघसंस्था, प्रदेश सभासद, जनप्रतिनिधि सम्मिलित छलफलले प्रदेशका सम्भावना र लगानीका क्षेत्रहरु पहिल्याउने नगर उपप्रमुख जागेश्वरी चौधरीले बताइन्। सम्मेलनमा भारत र चीनका लगानीकर्तासहित करिब पाँच सयको सहभागिता छ।

प्रकाशित: ९ आश्विन २०७६ ०८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App