४ वैशाख २०८१ मंगलबार
अर्थ

१५ अर्बको कपडा व्यापार

कोटेश्वरकी शर्मिला सुवेदी २०७६ सालको दसैं यादगार बनाउन चाहन्छिन्। त्यसैले उनी काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्युरोड, असन लगायत बजारमा सपिङ गर्न व्यस्त छिन्। उनी वर्षमा एकपटक आउने दसैं पर्वलाई विशेष गराउन परिवारको सपिङमा भ्याइनभ्याई भएको बताउँछिन्। ‘वर्षमा एकपटक आउने दसैंलाई भव्य बनाउनै प¥यो नि !’ न्युरोडको एक कपडा पसलमा मंगलबार भेटिएकी उनले हाँस्दै भनिन्, ‘मरेर लानु के नै छ र ! वर्ष दिनमा आउने दसैं–तिहारलाई त भव्य गराउनै प-यो।’ उनी आफू मात्रै नभएर परिवारका सदस्यलाई समेत दिल खोलेर सपिङ गरिदिने बताउँछिन्। ‘आफूले मात्रै सपिङ गरेर कहाँ सुख पाइन्छ ?’ उनले भनिन्, ‘स–साना छोराछोरीलाई पनि किनमेल गरिदिनुप-यो नि !’

शर्मिलाले दसैंको सपिङ गर्दा आफूलाई भन्दा धेरै बालबच्चालाई खुसी लाग्ने बताइन्।  ‘मैले त जुन बेला जे आवश्यकता प-यो, त्यही बेला सरसमान किनमेल गर्दै आएकी छु,’ उनले भनिन्, ‘छोराछोरीलाई त दसैंको सपिङ त विशेष हुने गर्छ। त्यसैले गर्दा सपिङ गर्न आएकी हुँ।’ शर्मिला दसैंमा अरुको देखासिकी भन्दा पनि आफ्नो गक्षले धान्ने मात्रै सपिङ गर्न आग्रह गर्छिन्। ‘अरुले के किन्यो भन्दा पनि आफूले के किन्न सकिन्छ, त्यही मात्रै किन्नुपर्छ,’ उनले भनिन्, ‘अनावश्यक ऋण खोजेर धेरै सपिङ गरेर केही फाइदा छैन।’ शर्मिला जस्तै दसैंको सपिङ गर्न दोलखाका रमेश शाक्य पनि न्युरोडको गल्लीमा कपडा छान्न व्यस्त छन्। ‘दसैं आइसक्यो। जतिसुकै भीडभाड भए पनि किनमेल त गर्नै प¥यो नि !’ रमेशले भने, ‘मलाई त पोहोरकै छ, स–साना बालबच्चाको खुसीको लागि किनमेल गर्न आएको हुँ।’

उनका अनुसार ठूलालाई भन्दा पनि ससाना बालबालिकालाई दसैंको महत्व धेरै हुने गर्छ। ‘हामीलाई त के दसैं लाग्छ र ? स–साना केटाकेटीलाई पो दसैं लाग्छ !’ उनले भने, ‘अरु बेला जतिसुकै कपडा किनिदिए पनि दसैंको किनिदिएको कपडाको महŒव विशेष हुने गर्छ। त्यसैले सन्तानकै खुसीको लागि नयाँ कपडा किन्न आएको हुँ।’ प्राचीन समयदेखि नै दसैंमा नयाँ कपडा लगाउने, मिठो–मसिनो खाने पर्वको रुपमा चिनिँदै आइरहेको छ। त्यसैले पनि आर्थिक हैसियत अनुसार मानिसले सपिङ गर्दै आइरहेका छन्।

संस्कृतविद् ओम धौभडेल दसैं हुनेखाने र हुँदाखाने सबैको लागि महत्वपूर्ण चाड भएको बताउँछन्। ‘दसैं हुनेखाने भन्दा पनि हुँदाखानेले विशेष महत्वका साथ मनाउँदै आएको देखिन्छ,’ उनले भने, ‘हुँदाखाने वर्गले ऋण काँढेरै भए पनि दसैं धुमधामसँग मनाउँदै आइरहेका हुन्छन्।’ संस्कृतविद् धौभडेल पछिल्लो समय दसैंमा देखासिकी गर्ने गतल प्रवृत्ति विकास भएको बताउँछन्। ‘दसैं भन्दैमा ऋण काढेर नै मनाउनुपर्छ भन्ने छैन,’ उनले भने, ‘परिवारका सदस्य एकैठाउँमा जुटेर आफ्नो सद्भाव साटासाट गर्ने पर्वको रुपमा विकास गराउन जरुरी भइसक्यो।’ उनका अनुसार आफ्नो आर्थिक हैसियत तथा गक्ष अनुसार मनाउने हो, अरुको देखासिकी गरेर होइन्।

दसैंको महोल अहिले ठूला सपिङ मलमा मात्रै केन्द्रित छैन। मानिसहरु आफ्नो हैसियत अनुसारका लत्ताकपडा तथा गरगहना किनमेल गरिरहेका छन्। अहिले काठमाडौंको असन, इन्द्रचोक, भृकृटीमण्डप, सुनधारा लगायतका फुटपाथ पसलमा दसैं किनमेल गर्ने ग्राहक खचाखच देखिन्छन्। आर्थिक हैसियत कम हुने ग्राहकको रोजाइ फुटपाथ पसल नै हुने गरेको छ। भृकृटीमण्डपमा बालबच्चासँगै दसैं किनमेल गर्न आएकी अनिता श्रेष्ठले ठूला–सपिङ मलभन्दा फुटपाथमै सस्तो पाइने बताइन्।

‘ठूला सपिङ मलमा एउटालाई किन्न पुग्ने पैसाले यहाँ परिवारलाई पुग्छ,’ उनले भनिन्, ‘अरुको देखासिकी भन्दा पनि आफ्नो गच्छे अनुसार सरसमान खरिद गर्दै आएका छौं।’ श्रेष्ठले दसैंमा छोराछोरीलाई खुसी बनाउनकै लागि सपिङ गनर्ने गरेको बताइन्। ‘सटरमा व्यापार गर्नेले बढी नाफा कमाउन दसैंको मौका छाप्ने गर्छन्,’ उनले भनिन्, ‘फुटपाथमा मौसमी व्यापार हुने भएकाले केही सस्तो मूल्यमा समान बेच्ने गर्छन्।’

असनमा दसैंको किनमेलमा गर्दै भेटिएका स्याङ्जाका रमेश पोखरेलले गत वर्षको तुलनामा लत्ता कपडाको मूल्य ह्वात्तै बढेको गुनासो गरे। ‘दसैंजस्तो महान पर्वमा बालबच्चालाई एक जोर भए पनि नयाँ लुगा फेरिदिउँ भनेर किनमेल गर्न आएको,’ उनले भने, ‘बजारको भाउ ह्वातै बढेको रहेछ। हामी जस्तो न्यून आय भएको मान्छेले कसरी नयाँ कपडा किन्ने होला ?’ भृकृटीमण्डपमा फुटपाथ पसल सञ्चालन गर्दै आएका सुमन भट्टराई कम खर्चमा दसैं मनाउनेको रोजाइमा फुटपाथ पसल पर्ने गरेको बताउँछन्। ‘कम आम्दानी भएका ग्राहकको रोजाइ भनेकै फुटपाथ पसल हो,’ उनले भने, ‘अन्य पसलको तुलनामा सस्तोमा सामान उपलब्ध गराउने भएकाले पनि धेरैको रोजाइ फुटपाथ बनेको हो।’

तीन महिनामा १५ अर्बको तयारी पोशाक आयात
भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले गत वर्ष साउनदेखि असोजसम्मको तीन महिनामा तयारी पोसाक र जुता–चप्पल १४ अर्ब ७५ करोड रुपैयाँको आयात भएको बताए। ‘यो वर्ष पनि गत वर्षको भन्दा केही धेरै तयारी पोसाक र जुत्ता–चप्पल आयात हुने देखिन्छ,’ उनले भने, ‘यस वर्षको साउनमा चार अर्ब २० करोड रुपैयाँको आयात गरिएको छ।’

उनका अनुसार भदौ महिनाको तथ्यांक अझै तयार भइसकेको छैन। ‘गत आर्थिक  वर्षको तुलनामा एक–दुई अर्बमात्रै धेरै आयात होला कि !’ उनले भने, ‘तयारी पोसाक भारतभन्दा धेरै चीनबाट आयात हुन्छ।’
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको बजेटपछि वासिङ मेसिन, रेफ्रिजेरेटर लगायत सामानमा २० प्रतिशत भन्सार महसुल बढाएर ४० प्रतिशत गरिएको छ। सूचना अधिकारी घिमिरेले तयारी पोसाकमा भन्सार महसुल नबढेको बताए।

रञ्जना व्यापार संघका महासचिव रामकुमार तिमिल्सना दसैं पर्व आइसके पनि व्यापार खासै उत्साहप्रद नभएको बताउँछन्। ‘गत वर्ष जस्तै अझै व्यापार भएकै छैन,’ उनले भने, ‘सरकारले गत वर्षको तुलनामा भन्सार महसुल वुद्धि गरेकाले लत्ताकपडाको मूल्य वृद्धि भएको छ। सरकारले एकपछि अर्काै गर्दै कर थोपर्दै आएकाले पनि खासै व्यापार नभएको व्यवसायीको गुनासो छ। उनका अनुसार दसैं–तिहारमा विशेष गरेर बेला सर्ट, पाइन्ट, रेडिमेड कोट, जुत्ता, सारी, लेहैंगा, कुर्थासुरुवाल लगायत लत्ताकपडा अत्याधिक मात्रामा माग हुने गर्छ।

‘चाड पर्वमा भारतीयभन्दा पनि चिनियाँ लत्ताकपडाले ग्राहकको ध्यान तान्ने गर्छ,’ उनले भने, ‘चिनियाँ लत्ताकपडा सस्ता र आकर्षक हुने भएकाले पनि ग्राहकको रोजाइ बनेका हुन्।’ नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले भर्खरै दसैंको चहलपहल सुरु भएको बताए। ‘भर्खरै दसैंको महोल सुरु हुन थालेको छ,’ उनले भने, ‘अरु महिनाको तुलनामा केही हदसम्म व्यापार बढ्दै छ।’ 

‘पहिला दसैं भन्नेबित्तिकै नयाँ लुगा र माछामासु खाने भनिन्थ्यो। अहिले जमाना फेरिइसक्यो। अहिले मिठो–मसिनो र राम्रो लुगा लगाउन दसैं नै कुर्नुपर्ने जमाना गइसक्यो। आफ्नो हैसियत अनुसार जुनसुकै बेला पनि किनमेल गर्ने परिपाटी विकास भइसक्यो,’ उनले थपे।

कटुवालका अनुसार अहिले बजार विकेन्द्रीकृत भइसकेको छ। ‘अहिले ग्राहक धेरै चुजी भइसके। भीडभाडमा सरसामान किनमेल गर्न छाडिसके,’ उनले भने, ‘अहिले सपिङ गर्न दसैं कुर्ने चलन छैन,’ अध्यक्ष कटवालले भने। दसैंतिहारमा अधिकांश लत्ताकपडा लगायत सामना चिनियाँ बजारबाट ल्याइने उनले जानकारी दिए। ‘अहिले भारतबाट खासै धेरै लत्ताकपडा आयात हुँँदैन,’ उनले भने, ‘अधिकांश लत्ताकपडा र कस्मेटिक सामान चीनबाट आउने गर्छ।’ पछिल्लो समय नेपाली गार्मेन्टले नेपाली बजारको केही हिस्सा धान्दै आइरहेको छ।

प्रकाशित: ९ आश्विन २०७६ ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App