७ वैशाख २०८१ शुक्रबार
अर्थ

यातायातमा डेढ अर्ब

गोंगबुस्थित नयाँ बसपार्कको काउन्टरमा कार्यरत सुमन लामालाई यतिबेला चिया पिउने पनि फुर्सद छैन। सुदूरपश्चिम क्षेत्रका टिकट काट्न आउने यात्रुको भीडभाडकै कारण उनलाई न त चिया पिउने फुर्सद छ, न त साथीभाइका फोन उठाउने फुर्सद नै।

पश्चिमतर्फ जाने सवारी साधनको सिट अभावकै कारण यात्रुको खप्की तथा गुनासोसमेत उनले उत्तिकै सुन्नुपरेको छ। ‘पश्चिमतर्फ जाने सवारी साधन निकै कम भए,’ उनले भने, ‘सिट नपाएको भन्दै यात्रुले दिक्क बनाइसके।’

उनका अनुसार अहिले पर्याप्त सवारी साधन नभएकाले यात्रुले माग गरेअनुसारको टिकट उपलब्ध गराउन सकिएको छैन। लामाले विभिन्न समितिसँग समन्वय गरेर नयाँ बस थप्ने तयारी गरिरहेको बताए। ‘अहिले क्याबिन र अन्य सिटको टिकट बुकिङ गर्दै आइरहेका छौं,’ उनले भने, ‘नयाँ गाडी थपेसँगै नयाँ बुकिङ खुला गर्नेछौं।’ 

महाकालीको टिकट काउन्टरमा कार्यरत लामा मात्र होइन, अहिले नयाँ बसपार्कमा कार्यरत अन्य टिकट काउन्टरका कर्मचारीलाई पनि भ्याइनभाई छ। बसपार्कको सबै टिकट काउन्टरमा कार्यरत कर्मचारी अहिले व्यस्त छन्।

नयाँ बसपार्क व्यवस्थापनको जिम्मेवारी पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अनुसार अहिले पश्चिम नेपाल र सुदूरपश्चिमतर्फ जाने यात्रुको अत्यधिक भीडभाड छ। तर, अन्यत्र जाने सवारी साधनको बुकिङ भने असोज १० गतेदेखि सुरु हुनेछ। 

त्होत्से बहुउद्देश्यीय प्रालिका प्रबन्ध निर्देशक सुनिल कुवँर दसैंको बेला अरू बेलाभन्दा चार गुणा धेरै कारोबार हुने बताउँछन्। तर, यो एकतर्फी मात्र हो। ‘दसैंको बेला एकतर्फी मात्र खचाखच यात्रु पाइन्छन्,’ उनले भने, ‘अर्कोतर्फबाट आउँदा भने रित्तै आउनुपर्ने बाध्यता देखिन्छ।’

उनका अनुसार यातायात कम्पनीले एकतर्फी रित्तो हुने सार्वजनिक सवारी साधनलाई पाँच हजार रुपैयाँ दिएर सञ्चालन गर्दै आइरहेका छन्। 

‘अरू बेलाको तुलनामा दसैंको बेला पक्कै पनि आम्दानी राम्रै हुन्छ,’ उनले भने, ‘दसैंदेखि तिहार अघिसम्म एकतर्फी मात्र गुडाउनुपर्ने हुन्छ। तिहार सकिएसँगै दुईतर्फी सञ्चालन गर्न सकिन्छ।’ कुवँरका अनुसार बुधबारसम्म ३५ हजार यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्।

‘अहिले पनि टिकट उपलब्ध भइरहेका छन्,’ उनले भने, ‘अगाडिका सिट नपाइए पनि अरू सिट पर्याप्त मात्रामा छन्।’ नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारी भने दसैंका बेला एकतर्फी मात्र गुड्ने भएकाले खासै धेरै आम्दानी नहुने तर्क गर्छन्।

‘दसैंको बेला यति नै कारोबार हुन्छ भनेर कुनै रेकर्ड राख्ने चलन छैन,’ महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले भने, ‘पहिला समितिले एकतर्फी हुँदाको घाटा व्यहोरिदिने काम गर्थ्यो। तर,अहिले प्रालि आफैंले व्यहोर्दै आइरहेका छन्।’

ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रबन्ध निर्देशक कुवँर दसैं–तिहारको अवसरमा यातायात क्षेत्र चलायमान हुने बताउँछन्।

‘अरू बेला क्यू सिस्टममा सञ्चालन हुने सार्वजनिक सवारी साधन पनि दसैं–तिहारजस्ता चाडपर्वका बेला भने पूर्ण सञ्चालनमा ल्याइन्छ,’ उनले भने, ‘चाडपर्वका बेला सबैभन्दा चलायमान हुने व्यवसायी क्षेत्र नै यातायात हो। अरू बेला सञ्चालन खर्चमा चल्दै आएका यातायात व्यवसायी दसैंको बेला मनग्य नाफा आर्जन गर्छन्।’

यातायात व्यवसायीले असोज ५ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छन् । उपत्यकामा १४ भन्दा धेरै टिकट काउन्टर सञ्चालनमा राखिएको छ। तर, सबैभन्दा धेरै टिकट काट्नेको चाप भने नयाँ बसपार्क गोंगबुमा नै छ।

दसैंमा काठमाडौं उपत्यकाबाट मात्र बाहिरिने यात्रुको भीड हुँदैन, पोखरा, विराटनगर, वीरगञ्ज, भैरहवा, भरतपुरलगायतका सहरी क्षेत्रबाट पनि गाउँघर फर्किेनेको ताँती लाग्नेगर्छ। सबै आफ्नो परिवार लिएर आफ्ना बुबाआमा, आफन्त मान्यजनसँग टीका थाप्न र आर्शिवाद लिन दसैंमा गाउँघर फर्किने गर्छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दसैंका बेला उपत्यकाबाट करिब २० देखि २५ लाख यात्रु दसैं मनाउन गाउँघर फर्किन्छन्। ‘दसैं मनाउन २० देखि २५ लाख यात्रु गाउँघर फर्किने गरेको विगतको तथ्यांक छ,’ महाशाखा प्रवक्ता रविकुमार पौडेलले भने, ‘यो वर्ष २५ लाखभन्दा बढी बाहिरिने अनुमान गरेका छौं।’

प्रवक्ता पौडेलले घटस्थापनादेखि स्कुल/कलेज बिदा भएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्ने बताए। ‘अहिले छिटपुट रूपमा दसैंका लागि जाने क्रम सुरु भइसकेको छ,’ उनले भने, ‘घटस्थापनादेखि अष्टमीसम्म दसैं मनाउन घर जानेको लर्काे लाग्नेछ।’ 

महाशाखाका अनुसार फूलपाती (सप्तमी) र अष्टमीको दिन अत्यधिक  यात्रु उपत्यकाबाट बाहिरिनेछन्। यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सार्वजनिक सवारीसाधन असोज १२ देखि १९ गतेसम्म रुट पर्मिटबिनै यातायात सञ्चालन गर्ने व्यवस्था गरेको बताए।

विभागले दसैंलाई लक्षित गरेर उक्त व्यवस्था गरेको हो। ‘दसैंमा हुने सवारी साधन र यात्रुको चापलाई हेरेर एक साता रुट पर्मिटबिनै सञ्चालन गर्ने व्यवस्था मिलाएका हौं,’ उनले भने।  

महाशाखाको तथ्यांकलाई आधार मान्ने हो भने दसैंमा सर्वसाधारणले यातायातका लागि डेढ अर्ब रुपैयाँ हाराहारीमा खर्च गरेको देखिन्छ। काठमाडौंबाट मुलुकभरका छोटो र लामो दुवै दूरीमा सर्वसाधारण जाने गर्छन् ।

प्रतियात्रु सात सय रुपैयाँ भाडादर राख्दा पनि डेढ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने देखिएको हो । मुलुकका अन्य सहरबाट गाउँघर जान लाग्ने भाडादरको हिसाब भने यसमा राखिएको छैन। 

विभागका महानिर्देशक हमाल चाडपर्व लक्षित गरेर सवारी अनुगमन तीव्र पारेको बताउँछन्। ‘चाडपर्वलाई लक्षित गरेर नै राजमार्ग तथा विभिन्न नाकामा प्रहरी खटाइरहेका छौं,’ उनले भने, ‘सिट क्षमताभन्दा धेरै यात्रु नबोक्न यातायात व्यवसायीलाई निर्देशन दिएका छौं।’ 

विभागले टिकटमा पनि कालोबजारी भए तत्कालै ‘कन्ट्रोल रुम’मा खबर गर्न अनुरोध गरेको छ। बसको छतमा यात्रु र व्यापारिक सामान राख्ने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

सवारी तथा यातायात व्यवस्था नियमावलीमा सवारी साधनमा छत राख्न नपाउने नियम छ। छत राखेर सवारी साधन चलाए पाँच हजार जरिवाना र ६ महिना सवारी सञ्चालन इजाजत रद्द गर्न सकिन्छ। महानिर्देशक हमालले दसैं मनाउन घर फर्किने यात्रुलाई सिटसहितको बस उपलब्ध गराउने दाबी गरे।

‘दसैं मनाउन घर जाने यात्रु कोही पनि छतमा झुन्डिर र कोचिएर यात्रा गर्नुपर्ने छैन,’ उनले भने, ‘पर्याप्त सिटसहितको बस उपलब्ध गराएर यात्रुलाई आरामदायी ढंगले घर–घरमा पुर्याउनेछौ।’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता पौडेलले काठमाडौंमा १४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको बताए।

‘उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेका छौं,’ उनले भने, ‘लामो तथा छोटो रुटका सवारी साधनको टिकट काट्ने स्थानमा यात्रुको गुनासो सुन्न सहायता कक्षको स्थापना गरेका हौं।’ महानगरीय ट्राफिक प्रहरी महाशाखाले दसैंमा उपत्यका बाहिरिने प्रत्येक सार्वजनिक सवारी साधनका चालकको मापसे चेकिङ गर्ने भएको छ।

‘चाडपर्वमा मापेसेका कारण धेरै सवारी दुर्घटना भएको पायौं,’ उनले भने, ‘सवारी दुर्घटना न्यूनीकरण गर्न नाका–नाकामा चालकको मापसे चेकिङ गर्दै आइरहेका छौं।’ महाशाखाले लामो दूरीका सवारी साधनमा दुई जना चालक पनि अनिवार्य व्यवस्था गरेको जनाएको छ।

‘लामो दूरीको सवारी साधन एउटै चालकले चलाउँदा गम्भीर प्रकृतिको दुर्घटना भएको देखिन्छ। त्यसैले अहिले लामो रुटका सवारी साधनमा दुई चालक अनिवार्य व्यवस्था गरेका छौं,’ उनले भने, ‘सिट क्षमताभन्दा धेरे यात्रु कोचाकोच गर्ने सवारी साधनलाई समेत कारबाही गरिनेछ।’

महाशाखाले सरकारले तोकेकोभन्दा धेरै भाडा असुल्ने सवारी धनीलाई ठाउँको ठाउँ कारबाही गर्ने जनाएको छ। महाशाखाले दसैं मनाउन काठमाडौं उपत्यकाबाट २० देखि २५ लाख यात्रु बाहिरिने महाशाखाको पनि अनुमान छ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख तथा प्रहरी नायब निरीक्षक विदुरमणि भट्टराईका अनुसार दसैंलाई लक्षित गर्दै सवारी साधनको उपत्यका भित्रिने र बाहिरिने क्रम केही सुरु भएको छ। ‘मालबाहक सवारी साधनले दसैंका लागि उपत्यकामा खाद्यान्न लत्ताकपडा ल्याउने क्रम बढेको छ,’ उनले भने, ‘स्कुल तथा कलेज बिदा भएपछि दसैंको चहलपहल ह्वात्तै बढ्नेछ।’ 

प्रमुख भट्टराईले अहिले उपत्यका भित्रिने र उपत्यका बाहिरिने सवारी साधनको संख्या बराबरीजस्तै भएको बताए। ‘अहिले उपत्यका भित्रिने र बाहिरिने चार पांग्रे सवारी साधनको संख्या उस्तै छ,’ उनले भने, ‘अबको केही दिनभित्रै उपत्यका भित्रिनेभन्दा बाहिरिने यात्रुको संख्या बढ्नेछ।’

महानिर्देशक हमालले चाडपर्वलक्षित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। ‘चाडपर्वका बेला ठूला सवारी साधन दुर्घटना हुने सम्भावना बढी भएकाले सचेतनात्मक कार्यक्रम गर्दै आएका छौं,’ उनले भने, ‘दसैं–तिहारका बेला धेरै एक ठाउँबाट अर्को ठाउँमा ओहोरदोहोर गर्छन्। त्यसैले सुरक्षा सतर्कता अपनाउन चालक र यात्रु दुवैलाई सतर्क गराउँदै आएका छौ।’ 

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष स्वाँरले नयाँ बसपार्क गोंगबु, गौशाला, कोटेश्वर, सुन्धारा, पुरानो बसपार्क रत्नपार्क, कलंकी, कुलेश्वरबाट अग्रिम टिकट बुकिङ भइरहेको बताए। यातायात व्यवसायीले दसैंका लागि नै भनेर नयाँ सवारी साधन नथपेको उनले बताए। 

 

प्रकाशित: ९ आश्विन २०७६ ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App