७ वैशाख २०८१ शुक्रबार
समाज

नयाँ नोटको खुसी

जिपी भण्डारी

उपहार आफैमा धनी शब्द हो। ठाँउ र समयअनुसार उपहारको आकार प्रकार फरक हुन्छ। उद्देश्य भने खुसी बाँड्नु नै हो। एकआपसमा खुसी साट्न कसैले चिनोको रूपमा केही दिन्छ भने त्यो उपहार हो।उपहार धेरै किसिमका छन्। कसैले मोबाइल उपहार देला। कसैले पुस्तक त कसैले सुन्दर तस्बिर। तर, उपहारमा दक्षिणास्वरूप नयाँ नोट दिने सायद प्रचलन छैन। वर्षभर मनाइने  विभिन्न चाडपर्व, विवाह, व्रतबन्धलगायतका संस्कारमा दक्षिणा दिन नयाँ नोट नै चाहिन्छ भन्ने छैन। तर, दसैंमा भने सम्भव भएसम्म नयाँ नोट दिने प्रचलन छ।

यही प्रचलनका कारण हुनसक्छ, रोल्पा लिवाङ् स्थायी घर भई हाल राजधानी बस्दै आएका वीरेन्द्र मगर यसपटक नयाँ नोट लिएर दसैंमा घर जाँदै छन्। उनी आमाबाबुलाई यस वर्ष  उपहारस्वरूप नयाँ नोट दिने योजनामा छन्।  ‘मोबाइल, घडी, घरजग्गा, सवारी साधनलगायतका उपहार जहिले दिए पनि हुन्छ दसैं–तिहारका लागि दिने उपहार नयाँ नोट हो, यसको रौनक बेग्लै हुन्छ,’ उनी भन्छन्।

चाडबाडमा साथीभाइ, आफन्त भेटने, देउसी भैलो खेल्ने, मीठो परिकार खाने मात्र नभई पूजा तथा दक्षिणा दिन नयाँ नोट आवश्यक पर्ने भएकाले विगत पाँच वर्षदेखि दसैंमा घर जाँदा नयाँ नोट साटेर लैजाने गरेको उनले बताए।

दसैंमा घर जान बसको टिकट लिई तयार भएर बसेको बताउँदै उनले भने, ‘गाँउ पुगेपछि आफन्त तथा छिमेकीहरूले पनि नयाँ नोट माग्ने भएकाले हरेक वर्ष नयाँ नोट सटही गर्छु।’ गत वर्ष २७ हजार रुपैयाँ नयाँ नोट साटेर जाँदा पनि तिहारमा अपुग भएको उनले बताए।

नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट सटही सुरु गर्ने जनाएको छ। उपत्यकाभित्र नेपाल राष्ट्र बैंकका अतिरिक्त सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका शाखा कार्यालयबाट नयाँ नोट लिन सकिने नेपाल राष्ट्र बैकले जनाएको छ। त्यसैगरी, उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत नयाँ नोट लिन सकिने जनाएको छ।

विगत लामो सयमदेखि दसै–तिहारमा नयाँ नोट प्रयोग गर्ने चलन रहिआएकाले यसपालिको दसैं–तिहारका लागि असोज १० देखि १७ गतेसम्म खुला हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए।उनका अनुसार पाँच, १०, २०, ५० र एक सय रुपैयाँका नयाँ नोट सटही हुनेछन्। गत आवमा १३ अर्ब रुपैयाँ नयाँ नोट बजारमा गएको बताउँदै उनले भने, ‘नोट राष्ट्रका सम्पत्ति भएकाले चाडपर्वका बेला नोटमा रङ लगाउने, लेख्ने, केरमेट गर्ने, गराउने काम नगराैं।’ उनका अनुसार नेपाली मुद्रा नोट वा सिक्का जलाउने, करमेट गरे वा च्यातेमा प्रहरीले सिधै पक्राउ गरी कारबाही गर्छ।
राष्ट्र बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार, जनकपुर, विराटनगर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट नयाँ नोट उपलब्ध गराउने उनले बताए।

उपत्यकाभित्रको हकमा राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा कार्यालयबाट नयाँ नोट लिन सकिनेछ। नेपाल बैंकका भक्तपुर, लाजिम्पाट, पाटन औद्योगिक क्षेत्र, जोरपाटी, महाराजगञ्ज, कीर्तिपुर र नयाँ सडकस्थित शाखा कार्यालयबाट नयाँ नोट सटही गर्न सकिने प्रवक्ता निरौलाले बताए।

त्यसैगरी, कृषि विकास बैंकका गौशाखा, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखा कार्यालयबाट नयाँ नोट दिने व्यवस्था रहेको उनले बताए। सीमित मात्रामा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि नयाँ नोट सटही उपलब्ध हुने उनले बताए। आर्थिक वर्ष २०७४/७५ मा करिब १२ अर्ब रुपैयाँ नयाँ नोट सटही भएको थियो। गत आवमा उक्त रकममा एक अर्ब रुपैयाँ थप गरी १३ अर्ब रुपैयाँ नयाँ नोट सटही भएको प्रवक्ता निरौलाले बताए।

यस वर्ष पनि १२ अर्ब रुपैयाँ नयाँ नोट सटही हुने उनले बताए। गत वर्ष प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म सटही गर्न पाउने व्यवस्था रहेकोमा यस वर्ष भने घटाएर एक जनालाई बढीमा १८ हजार पाँच सय रुपैयाँ साटन सक्ने व्यवस्था गरिएको छ। दसैं–तिहारका लागि २७ हजार रुपैयाँ बढी भएकाले यसपालि घटाएको राष्ट्र बैंकले जनाएको छ।

आर्थिक वर्ष        नयाँ नोट रकम        सटही गर्न मिल्ने रकम
२०७४/७५         १२ अर्ब                   २० हजार
२०७५/७६         १३ अर्ब                   २७ हजार
२०७६/७७        १२ अर्ब                    १८ हजार पाँच सय

नयाँ नोटलाई कसरी लामो समयसम्म टिकाउने ?
युरोप र अमेरिकाको तुलनामा नेपाली मुद्रा (नेपाली नोट) को गुणस्तर कम छ। हामी नोटलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा अनविज्ञ छाैं। सामान्यतया कागजी नोटको आयु तीन/चार वर्षको हुने भए पनि नोटको उचित प्रयोग नहुँदा कतिपय नोट एक÷दुई वर्षभित्र नै काम नलाग्ने भइसकेका हुन्छन्।

नोटलाई सुरक्षित, विश्वसनीय र टिकाउ बनाउन छपाइ महँगो पर्नेगर्छ। केही महिनाअघि राष्ट्र बैकले ४० करोड रुपैयाँ छाप्न करिब ८० लाख रुपैयाँ खर्च गरेको राष्ट्र बैंक स्रोतको भनाइ छ। नोट सुरक्षित नराखे मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने भएकाले पैसा राख्ने ब्याग (वालेट)को प्रयोग गर्न उचित हुन्छ।

सामान्यतया कारोबार गरिसकेपछि फिर्ता भएको रकम सुरक्षित राख्न पैसा अटाउने वालेटको प्रयोग गर्दा नोट सुरक्षित हुन्छ। छिमेकी मुलुक भारतमा च्यातिएका नोट चल्दैनन्। फिलिपिन्स, इन्डोनेसिया, थाइल्यान्डलगायतका एसिएन मुलुकमा सबैले वालेट प्रयोग गर्छन्।

त्यसैगरी नोटमा नकोर्ने, अबिर, अक्षता, माटो, कमिरा, मुसा, आगो तथा पानीबाट बचाउने, नोटलाई कच्याककुच्चुक तथा पोको नपार्ने, जमिनमा नगाड्ने, पूजा गर्दा मैलो हातले नछुने, सकेसम्म नगद नोटको प्रयोग गर्नेलगायतका उपाय अनिवार्य अपनाउन नेपाल राष्ट्र बैंकले सर्वसाधारणमा  अनुरोध गरेको छ।

प्रकाशित: ९ आश्विन २०७६ ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App