८ वैशाख २०८१ शनिबार
खेल

जितबाट भालभेर्डेलाई राहत

मड्रिड– स्पेनिस ला लिगाअन्तर्गत भिल्लारियलविरुद्धको खेलमा बार्सिलोनाका स्ट्राइकर लियोनल मेसी घाइते हुँदै मैदानबाट बाहिरिए पनि टोलीले हात पारेको २–१ को जितले प्रशिक्षक अर्नेस्टो भालभेर्डेलाई राहत दिलाएको छ। पहिलो हाफमा भएको २–१ स्कोर नै निर्णायक बनेको थियो।

बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा भएको खेलको छैटौं मिनेटमा अग्रता लिन सफल भएको थियो। बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले पहिलो गोल गरेका थिए।

भ्रमणकारी टोलीविरुद्ध मेसीसहित मैदान उत्रिएको बार्सिलोनाले एकतर्फी खेल प्रस्तुत गरेको थियो। १५औं मिनेटमा आर्थरले गोल थप्दै घरेलु टोलीको अग्रता २–० मा पुर्याएका थिए।

पछि परे पनि सम्हालिएको खेल देखाएको भिल्लारियलले पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा गोल गर्दै घरेलु टोलीको अग्रता छोट्याएको थियो।

भिल्लारियलका लागि सान्टी कार्जोलाले गोल गर्दै अग्रता २–१ मा पुर्याएकाका थिए। पहिलो हाफको खेल चलिरहँदा बायाँ पिँडौलाको चोट भोगेका स्ट्राइकर मेसी दोस्रो हाफमा भने मैदान उत्रिएनन्।

उनको स्थानमा औसामाने डेम्बेलेले खेलेका थिए। मेसीले पहिलो हाफ खेलेपछि दोस्रो हाफमा मैदान उत्रिन नसक्नु बार्सिलोनाका लागि चिन्ताको विषय भएको छ।

गत अगस्टमा पिँडौलाको चोटका कारण केही खेलमा टोलीबाट बाहिर रहेका मेसी मंगलबार भिल्लारियालविरुद्ध मैदान उत्रिएका हुन्।  

‘मेसीलाई केही भयो भने सबै खेलाडीको मनोबल घट्छ। मैदानमा मात्र होइन अन्य अवस्थामा पनि उनको अनुपस्थितिले अर्थ राख्छ,’ प्रशिक्षक भालभेर्डेले भने, ‘मेसीको पिँडौलामा सामान्य चोट लागेको छ। सावधानी अपनाउँदै उनलाई दोस्रो हाफमा जोखिम मोल्न चाहेनौं।’

साबिकको च्याम्पियन बार्सिलोनाले गत आइतबार ग्रानाडासँग प्रतिस्पर्धा गरेको थियो। मेसीबिना मैदान उत्रिएको बार्सिलोना घरेलु टोलीसँग २–० ले स्तब्ध भएको थियो। अब बार्सिलोनाले शनिबार ला लिगामा गेटाफेसँग प्रतिस्पर्धा गर्दै छ भने आगामी बिहीबार च्याम्पियन्स लिगमा इन्टर मिलानसँग दोस्रो खेल खेल्दै छ। 

बार्सिलोना आगामी खेलका लागि मेसीको उपस्थिति चाहन्छ। हालै मात्र बढुवा भएको टोली ग्रानाडासँग स्तब्ध भएको बार्सिलोनाको तालिकामा ५ खेलबाट १० अंक छ । यो सिजन बार्सिलोनाको खराब सुरुआत हो। जुन १९९५ देखिकै सबैभन्दा खराब हो। 

‘हामी आफ्नो स्वाभाविक खेलभन्दा धेरै टाढा छौं।  राम्रो खेल्न सकिरहेका छैनौं। आउँदा खेलमा राम्रो खेल्नुको विकल्प छैन,’ बार्सिलोनाका फरवार्ड एन्टोनी ग्रिजम्यानले भने, ‘बार्सिलोनामा मेसीको खेलले निकै प्रभावित पार्ने गर्छ। उनले क्लबका लागि फरक शैलीमा खेल्छन्।’

भिल्लारियल समान ६ खेलबाट ८ अंकका साथ तालिकाको आठौं स्थानमा छ। लिगअन्तर्गत बार्सिलोनालाई अघिल्लो खेलमा स्तब्ध बनाएको बढुवा भएको ग्रानाडाले मंगलबार रियाल भालाडोलिडसँग १–१ को बराबरी खेल्दै अंक बटुल्न सफल भएको थियो।

सँगै ग्रानाडाले ६ खेलबाट ११ अंक बनाउँदै शीर्षता कायम गरिरहेको छ ।  यस्तै अर्को खेलमा रियाल बेटिसले लेभान्टेलाई ३–१ ले पराजित गर्दै चार स्थान  सुधार गरेको छ। ६ खेलबाट ८ अंक बनाएको रियाल बेटिस नवौ स्थानमा छ।

समान ८ अंक भएको भिल्लारियलभन्दा गोलअन्तरका आधारमा १ स्थान तल अटाएको हो। यस्तै पराजित लेभान्टेको ६ खेलबाट ७ अंक छ। लेभान्टे तालिकाको ११औं स्थानमा छ। ‘मेसीको पिँडौलामा सामान्य चोट लागेको छ। सावधानी अपनाउँदै उनलाई दोस्रो हाफमा जोखिम मोल्न चाहेनौं।’

प्रकाशित: ९ आश्विन २०७६ ०६:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App