७ वैशाख २०८१ शुक्रबार
खेल

थापालाई दोहोरो उपाधि

पोखरा– नेपालका भेट्रान टेनिस खेलाडी कमल थापाले पोखराको टेनिस कोर्टमा बुधबार दोहोरो उपाधि जितेका छन्। उनले ५५ वर्षमाथि एकल र युगलको उपाधि उचाल्दै पोखरा बसाइ अविस्मरणीय बनाएका हुन्। 

पहिलो सेटमा एउटा सर्भिस प्वाइन्ट र दोस्रो सेटमा दुई सर्भिस प्वाइन्ट ब्रेक गर्दै भेट्रान थापाले भारतीय खेलाडीलाई सोझो सेटमै रोक्दै उपाधि जितेका हुन्।

५५ वर्षमाथि उपाधि जित्ने क्रममा करियरकै उत्कृष्ट लयमा रहेका थापाले भारतीय खेलाडी सञ्जय कुमारलाई ६–४, ६–२ को सेटमा पराजित गरेका थिए। 

पहिलो सेट निकै प्रतिस्पर्धात्मक बन्यो। दुवैले आफ्नो सर्भिस ब्रेक गर्दै प्वाइन्ट आफ्नो खातामा राखेका थिए। ४–४ को अवस्थामा रहँदा थापाले सञ्जयको पाँचौं अंकको सर्भिस प्वाइन्ट ब्रेक गरेपछि पहिलो सेट जित उन्मुख बने।

दोस्रो सेटमा भने थापाले पहिलो सेटको जस्तो कडा मिहिनेत  गर्नु परेन। २–२ को अवस्थाबाट अगाडि बढेको खेलमा थापाले आफ्नो सर्भिसमा प्वाइन्ट होल्ड गर्दा कुमारको सर्भिस ब्रेक गर्दै जित सुनिश्चित गरे। 

५५ वर्षमाथिकै उमेरसमूहको युगलतर्फ पनि कमल थापाको जोडीले उपाधि उचाल्यो। थापा र छाम्बा ढुण्डुपको जोडीले राजेन्द्रसिंह भण्डारी र करिमुल्लाह मुस्लिमको जोडीलाई पराजित गर्न सुपर टाई कुर्नुपर्यो।

थापाको जोडीले पहिलो सेट ६–२ ले आफ्नो बनाउँदा दोस्रो सेट भने उस्तै नतिजामा सुम्पिएपछि खेल सुपर टाईमा पुगेको थियो। सुपर टाईमा समेत निकै प्रतिस्पर्धा रह्यो। थापाको जोडीले ११–९ ले सेट आफ्नो बनाउँदै उपाधि पक्का बनायो। 

एनआइसी एसिया बैंक नेपाल आइटिफ विश्व वरीयता सिनियर्स ग्रेड ४ टेनिस च्याम्पियनसिपको ३५ वर्षमाथि भने गोपी भट्टराई र शरण गुरुङको जोडीलाई धरमबहादुर लामिछाने र विमलकुमार गुरुङको जोडीले पराजित गर्दै उपाधि रक्षा गर्यो।

लामिछानेको जोडीले पहिलो सेट ६–४, दोस्रो सेट ५–७ र अन्तिम सुपरटाई १०–६ ले आफ्नो बनाउँदै उपाधि जितेको हो। एनआइसी एसिया बैंकका मुख्य प्रायोजन तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित एनआइसी एसिया बैंक नेपाल आइटिफ विश्व वरीयता सिनियर्स ग्रेड ४ टेनिस च्याम्पियनसिपमा ३५ वर्षमाथि १० जनाले प्रतिस्पर्धा गरेका थिए।

४५ वर्षमाथिको उमेरसमूहमा २२ जनाको भिडन्त थियो। ५५ वर्षमाथिको प्रतिस्पर्धामा भने २० जनाले वरीयता प्राप्त गर्ने अंकको लागि प्रतिस्पर्धा गरेका थिए। ३५ वर्षमाथिको प्रतिस्पर्धामा ५ भारतीय खेलाडी रहेको जानकारी दिए।

४५ वर्षमा २ र ५५ वर्षमाथिको उमेर समूहमा ५  गरी १० भारतीय खेलाडीले उमेरसमूहमा प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक प्रीति बरालले जानकारी दिइन्। विजेता खेलाडीलाई एनआइसी एसिया बैंकका क्षेत्रीय निर्देशक दीपेन्द्र शर्मा, नेपाल टेनिस संघका पूर्वअध्यक्ष मनोज राणालगायतले ट्रफी पुरस्कारस्वरूप प्रदान गरेका थिए।

प्रकाशित: ९ आश्विन २०७६ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App