८ वैशाख २०८१ शनिबार
विचार

पाहुना आउनु पहिले

नयाँ नेपालमा केही शब्द साह्रै चल्तीमा छन्। ती हुन्– बुटिक, स्मार्ट आदि। लहरै चलेको छ यतिबेला, ‘बुटिक विमानस्थल’ आदि संरचनाको। भाषणमा पनि यही सुनिन्छ। नेता र मन्त्रीहरू भनिरहेका छन्– ‘हामी बुटिक विमानस्थल बनाउँछौं।’ हाम्रा विमानस्थल बुटिक। हाम्रा सडकमा जतिसुकै ठूला खाल्डा भए पनि तिनका छेउमा ‘स्मार्ट’ फोहोर फाल्ने भाँडाहरू राख्ने भनिएको छ। भन्नेले भनिदिने र सर्वसर्वसाधारणले पत्याइदिने रहेछ। यो सनातन परम्परा चलिरहेकै छ। नेपाल भ्रमण वर्ष २०२० को व्यापक प्रचारप्रसार भइरहेको छ। दुबईको बुर्जखालिफादेखि लन्डनको रेल्वेसम्म यसको प्रचार भइरहेको छ। नेपालको चित्ताकर्षक सौन्दर्य र नेपालीको मन हर्ने मुस्कानले संसारका मानिस यहाँ आउन लालयित हुन्छन्। यहाँ घुम्न आउने विदेशी पर्यटकका दुःख त्यतिबेलै सकिन्छन्, जतिबेला नेपाली सर्वसाधारणको निश्छल हाँसो देख्छन्। वास्तवमा नेपाल एक पर्यटकले अर्को पर्यटकलाई यहाँका बारेमा बताउँदा बताउँदै संसारभरि यसको प्रचार भएको छ। उनीहरू आउँदा यहाँ धेरै सुविधा नपाउन सक्छन्। पर्यटनका नयाँ प्याकेज बनेका पनि छैनन्। तैपनि पुरानै गन्तव्यमा ती रमाएर फर्कन्छन्। यहाँका डाँडाकाँडा, हिमाल, झरना, समथर, मैदान आदि इत्यादि विविधताले तिनलाई पुलकित तुल्याउँछ। यसपटक ठूलो अभियानकै रूपमा भ्रमण वर्ष आयोजना गर्न लागिए पनि त्यसको पूर्वाधार तयारीमा भने ध्यान दिन ढिला भइसकेको छ। त्यसमा पनि संसारभरि आर्थिक मन्दीको असर देखिन लागेका बेला खर्च गर्न प्रेरित गर्ने गरी अभियानको तयारी हुन सक्नुपर्छ। तर, जति ठूलठूला कुरा गरिए पनि ससाना पक्षमा ध्यान दिइएन भने त्यसले नकारात्मक परिणाम मात्र ल्याउँछ।

केही यस्ता काम भइरहेका छन्, जसले पर्यटन वर्षका निम्ति थप तगाराको काम पनि गर्नेछ। पर्यटक धेरै भित्र्याउने भन्नुको अर्थ मुलुकले बढीभन्दा बढी डलर आम्दानी गरोस् भन्ने पनि हो। तर, विदेशी पर्यटकलाई डलरमा भाडा लिने व्यवस्था खारेजीका निम्तिसमेत लबिङ हुन थालेको छ।

भ्रमण वर्ष नजिक आइरहँदा पनि चल्तीका केही पर्यटकीय गन्तव्यको दूरवस्था कहालीलाग्दो छ। सगरमाथा क्षेत्रजस्तै चर्चित गन्तव्य लुम्बिनी हो। बुद्ध जन्मस्थल लुम्बिनी जाने सडकको अवस्था ज्यादै दुःखदायी छ। देशमा सबैभन्दा धेरै पर्यटक भिœयाउने जस बोकेको रूपन्देहीको बेलहिया नाकाको अप्ठेरो परिस्थितिले नकारात्मक सन्देश प्रवाह गरिरहेको छ। सवारीसाधनबाट ओर्लेर प्रवेश औपचारिकता पूरा गर्नसमेत तिनले घिन मान्ने अवस्था छ। यसरी वर्षौंसम्म पर्यटकको प्रवेशद्वारलाई गम्भीर रूपमा राख्ने काम किन हुन्छ ? आखिर स्थानीय कर्मचारीदेखि यसको अनुगमन गर्ने माथिल्लो निकायसम्मलाई यसबारे अवश्यै जानकारी हुनुपर्ने हो। त्यसमा पनि भ्रमण वर्ष सञ्चालनको जिम्मेवारी लिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र यस मातहत निकायले पनि झक्झक्याउन सक्छन्। खासमा यस्तो विषयमा अन्तर मन्त्रालय समन्वय हुनु पनि उत्तिकै आवश्यक छ। तर, हामीकहाँ ‘राजाका काम कहिले जाला घाम’ कै नियति देखिन्छ। आफ्नै नाकमुनि समस्या रहे पनि त्यसमा बेवास्ता गरेर कसरी बस्न सकिन्छ ? तर पर्यटकीय नाकामै सास्तीको अवस्था रहँदा पनि तत्काल ध्यान नपुग्नु भनेको केही छिनका निम्ति आउने पर्यटकलाई मात्र समस्या पर्ने होइन। यसले समग्रमा मुलुकको छविमै नकारात्मक प्रभाव पर्छ। विशेषगरी लुम्बिनी क्षेत्रको भ्रमणमा आउने पर्यटकले नेपाल भ्रमण अवधि छोट्याएर फर्कने गरेको देखिन्छ। यसको अर्थ हो– पर्यटकलाई सुखद लाग्ने पक्ष विस्तारमा अझै ध्यान पुग्न सकेको छैन। मुलुक यत्रो ठूलो महाभियानमा सक्रिय  छ भने किन त्यसलाई सफल बनाउन सम्पूर्ण जिम्मेवार व्यक्ति मन, वचन र कर्मले लाग्दैनन् ? समस्या यसैमा छ। पर्यटक गन्तव्य बढाउने, अहिलेसम्म प्रचलनमा रहेका भन्दा नयाँ रचनात्मक गतिविधिमा केन्द्रित हुनेतर्फ ध्यान पुगेको छैन। केही मन्दिर र दरबार क्षेत्रको सौन्दर्य वृद्धि, बत्ती लगाउने आदि काम भइरहेका छन्। प्रथम दृष्टिमा पर्ने विभिन्न प्रवेशबिन्दुको अवस्थामा पनि सुधार हुनुपर्छ। त्यसमा लुम्बिनीको अवस्था अत्यन्तै महत्वका साथ लिइनुपर्छ।

केही यस्ता काम भइरहेका छन्, जसले पर्यटन वर्षका निम्ति थप तगाराको काम पनि गर्नेछ। पर्यटक धेरै भित्र्याउने भन्नुको अर्थ मुलुकले बढीभन्दा बढी डलर आम्दानी गरोस् भन्ने पनि हो। तर, विदेशी पर्यटकलाई डलरमा भाडा लिने व्यवस्था खारेजीका निम्तिसमेत लबिङ हुन थालेको छ। हुँदाहुँदा भर्खरै जिम्मेवारीमा आएका मन्त्री योगेश भट्टराईलाई समेत विदेशी पाहुनालाई नेपाली रुपैयाँमै भाडा लिनु उचित हुन्छ भन्ने लागिसकेको छ र प्रतिक्रियासमेत सार्वजनिक भइसकेका छन्। यस्तो व्यवस्था मुलुकका निम्ति प्रत्युत्पादक हुन सक्छ। देशभित्रै हवाई कम्पनीहरूले सरकारकै निकायलाई अमेरिकी डलरमा कतिपय सेवा शुल्क आदि बुझाउनुपर्छ। विदेशीलाई भने नेपालीसरह भाडामा छुट दिने कुरा हुँदै छ। त्यसो हुँदा नेपालीले अहिलेसम्म भाडामा पाउँदै आएको छुटको सट्टा महँगीको मारमा पर्नुपर्ने खतरा बढ्दै छ। संसारभरि साना विमानस्थलले समेत राम्रो व्यवस्थापकीय क्षमता प्रयोग गरेर धेरै जहाज उडान र अवतरण गराउन सकेका छन्। यहाँ भने व्यवस्थापन हुन नसकी आन्तरिक तर्फका पर्यटकीय उडान रामेछापको मन्थली विमानस्थलमा लगिएको छ। तर, मन्थली विमानस्थलसम्म पुग्दा पर्यटकको अवस्था कस्तो होला भन्नेतर्फ कसैको ध्यान पुगेको छ ? राजधानी काठमाडौंबाट राति नै उठेर गाडीमा त्यसतर्फ जानु कम्ता गाह्रो छैन। त्यसैगरी मन्थली विमानस्थलमा न्युनतम आधारभूत पक्षमा समेत ध्यान दिइएको छैन। पर्यटकलाई सेवा र सुविधा दिन सकेको देखिँदैन। यस्तो हैरानी र बेथितिले मात्र पर्यटन वर्ष सफल होला र ? त्यसैले यस्ता समस्यामा पनि ध्यान पु¥याएर काम गर्न सक्ने कुनै सक्रिय टिमकै आवश्यकता महसुस हुन्छ। उर्जावान् मन्त्री भट्टराईको ध्यान यसमा जानुपर्छ।

प्रकाशित: ९ आश्विन २०७६ ०४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App