४ वैशाख २०८१ मंगलबार
अर्थ

२८ मुलुकबाट १ अर्ब ६० करोडको  चक्लेट

काठमाडौं- देशमा चक्लेट उत्पादन गर्ने क्षमता हुँदाहँुदै पनि विदेशबाट हरेक वर्ष अर्बौंको आयात हुने गरेको छ। उत्पादन क्षमता वृद्धि र विदेशी ब्रान्डका चक्लेटसँग प्रतिस्पर्धा गर्न नसक्दा उपभोक्ताको रोजाइमा विदेशी चक्लेट पर्न गएको हो।

सरकारी तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्र २८ मुलुकबाट १ अर्ब ६० करोड रुपैयाको चक्लेट आयात भएको छ। चार शीर्षकमा विभिन्न किसिमका चक्लेटहरु आयात भएका छन्।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आर्थिक वर्ष २०७२/०७३ को तथ्यांक अनुसार 'चक्लेट इन ब्लक, स्ल्याब अर बार' शीर्षकमा विश्वका २८ मुलुकबाट आयात भएको छ। यो शीर्षकमा १ अर्ब ५१ करोड ५२ लाख ७३ हजार रुपैयाँभन्दा धेरैको चक्लेट आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ।

विभागका वरिष्ठ अधिकृत कृष्णराजा बजगाईंले अन्य सामान जस्तै नेपालको चक्लेट आयात गर्ने प्रमुख देश भारत रहेको बताए। यसबाहेक चकलेट ल्याउने अर्को सार्क देश बंगलादेश हो। त्यहाँबाट करोडौंको चक्लेट आयात भइरहेको छ।

'चक्लेट इन ब्लक, स्ल्याब अर बार' शीर्षकमा सबैभन्दा धेरै भारतबाट आयात भएको छ। भारतबाट मात्रै १ अर्ब २ करोड २२ लाख रुपैयाँको चक्लेट आएको छ। युएईबाट १७ करोड, नेदरल्यान्डबाट १६ करोड, टर्कीबाट ४ करोड ६५ लाख, बेलायतबाट १ करोड २१ लाख, मलेसियाबाट ७६ लाख, जर्मनीबाट ६४ लाख, अमेरिकाबाट ५२ लाख, बुल्गेरियाबाट ३५ लाख र चीनबाट ३३ लाख रुपैयाँका चक्लेट आयात भएको छ।

त्यस्तै, चक्लेट आयात गर्ने अन्य देशहरूमा बंगलादेश, हङकङ, इजरायल, जापान, कोरिया, माल्दिभ्स, थाइल्यान्ड, इजिप्ट, मेक्सिको, पानामा, बेल्जियम, फ्रान्स, जर्मनी, इटाली, स्पेन, हंगेरी, पोल्यान्ड स्विट्जरल्यान्ड र अस्ट्रेलिया रहेका छन्।

त्यसैगरी, चक्लेट इन ब्लक अर बार २ केजीभन्दा धेरै भनेर विश्वका ९ देशबाट ४ करोड २० लाख रुपैयाँका चक्लेट आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ। यो चक्लेट पनि सबैभन्दा धेरै भारत र बंगलादेशबाट ल्याइएको छ।

'चक्लेट, फिल्ड इन ब्लक' शीर्षकमा १ करोढ ५१ लाख रुपैयाँको ८ देशबाट आयात गरिएको छ। यो चक्लेट सबैभन्दा धेरै बंगलादेशबाट १ करोड २७ लाखको आयात भएको छ।

त्यस्तै, अर्को शीर्षकमा ११ वटा देशबाट १ करोड ६१ लाख रुपैयाँका ल्याइएको छ। 'ब्लक, स्ल्याब अर बार अफ चक्लेट' नाममा बंगलादेशबाट ५८ लाख, भारतबाट ५० लाख र स्विजरल्यान्डबाट ३१ लाख रुपैयाँको आयात भएको छ।  

नेपाली बजारमा विदेशी चक्लेटले ठूलो हिस्सा ओगटेका छन्। बजारमा विभिन्न प्रकारका चक्लेट भएको र नेपालमा नभएका चक्लेट विदेशबाट आइरहेको सुजल फुड्सका उपमहाप्रबन्धक महेन्द्र श्रेष्ठले बताए। 'हाम्रो देशको उत्पादन सामान्यतया सन्तोषजनक नै छ,' ४० वर्षदेखि चक्लेट उत्पादन गरिरहेका श्रेष्ठले भने, 'हामीले सबै प्रकारका चक्लेट उत्पादन गर्न नसक्दा विदेशीले बजार लिएका छन्।'

नेपालमा उत्पादन गर्ने उद्योगहरू साना, मझौला र ठूला छन्। राष्ट्रिय स्तरका ६ वटाभन्दा धेरै उद्योग नभएको श्रेष्ठको भनाइ छ। सुजल फुड, क्वालिटी कन्फेक्सनरी, एसियन विस्कुट एन्ड कन्फेसनरी, सगुन कन्फेसनरी, पशुपति फुड्स, साल्ट एन्ड स्विट उद्योग राष्ट्रिय स्तरका हुन्।

देशमा अहिले क्यान्डी टफी, ललिपप, बबलगम, वाफर उत्पादन भइरहेका छन्। नेपालमा उत्पादन क्षमता भए पनि चिनी महँगो, आयातित कच्चा पदार्थ महँगो र ऊर्जाको समस्याले गर्दा प्रतिस्पर्धी बन्न गाह्रो भएको श्रेष्ठले बताए।

अहिले खासगरी डेरी मिल्क, स्निकर्स, किटक्याट, चोकोपाई, मार्स जस्ता मल्टी ब्रान्डका विदेशी  चक्लेट नेपालमा धेरै बिक्री हुनेमा पर्छन्। क्याटबरी ब्रान्डको चक्लेट नेपाली उपभोक्ताको रोजाइमा पर्ने चक्लेट हो।

नेपालमा चक्लेटको वार्षिक वृद्धि वार्षिक १० देखि १५ प्रतिशत रहेको श्रेष्ठले बताए। आर्थिक वर्ष २०७१/०७२ को तथ्यांक अनुसार १ अर्ब १६ करोड १९ लाख रुपैयाँको चक्लेट आयात भएको थियो। यस अनुसार गत आर्थिक वर्षमा झन्डै ४४ करोड रुपैयाँभन्दा धेरैको चक्लेट आयात भएको देखिन्छ। अघिल्लो आर्थिक वर्षमा न्युजिल्यान्ड, कतार, श्रीलंका र अस्ट्रिया सहित ३२ देशबाट चक्लेट आयात भएको थियो।

प्रकाशित: ९ मंसिर २०७३ ०४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App