८ वैशाख २०८१ शनिबार
अर्थ

भैरहवा सेजमा बिजुली अभाव

बुटवल- भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना गर्न उत्साहित भएका उद्योगी तत्काल बिजुली विस्तार हुने छाँटकाँट नदेखेपछि निराश भएका छन्। अरु सबै पूर्वाधारले उत्साहित व्यवसायी बिजुली अभावमा उद्योग चलाउन नसक्ने निष्कर्ष निकाल्दै निराश भएका हुन्।

सेज क्षेत्रभित्र बिजुलीसम्बन्धी सबै काम सकिएको छ, त्यहाँभित्रको आन्तरिक समस्याले नभई प्राधिकरणको सब–स्टेसनबाट त्यहाँसम्म जाने लाइनको अभावले बिजुली आपूर्तिमा समस्या आएको हो। नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले भौतिक पूर्वाधार विकाससँगै बिजुली व्यवस्थापनको समस्याबारे बेलैमा सेज व्यवस्थापनले ध्यान दिन नसकेकाले अहिले समस्या आएको बताए।

‘अहिले वितरण भइरहेको क्षेत्रबाट त्यहाँ बिजुली दिन मिल्दैन, ओभरलोडको समस्या छ। हामीले फिल्डको यथार्थ वस्तुस्थितिबारे प्राधिकरण केन्द्र र सेज व्यवस्थापनलाई जानकारी गराएका छौं,' प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख ठाकुरले भने।

विशेष आर्थिक क्षेत्र सेजमा रहेका ६९ वटा विभिन्न साइजका प्लटमध्ये १४ औद्योगिक प्रतिष्ठानले उद्योग स्थापनाका लागि समझदारी गरेका छन्। ती उद्योगले सेजमा रहेका ३६ प्लट लिने छन्। दोस्रो चरणमा आवेदन दिएका आठ उद्योग छनोट भए २५ प्लट लिने छन्। यो हिसाबले अब बाँकी आठ प्लटमात्रै बाँकी रहेका छन्। अब कतिपय उद्योग तत्काल अरु काम थालेर एक वर्षभित्रै उत्पादन गर्ने चरणमा जान सक्छन्। तर यहाँ स्थापना हुने उद्योगका लागि बिजुली आपूर्तिको टुंगो नलाग्दा उद्योगीलाई थप काम विस्तार गर्न समस्या भएको हो ।

विशेष आर्थिक क्षेत्र विकास समिति व्यवस्थापनले भैरहवाको सेज सञ्चालनको लागि  ६० मेगावाट विद्युत आवश्यक पर्ने विद्युत प्राधिकरणलाई जानकारी दिएको छ। त्यसमध्ये २५ मेगावाट व्यवस्थापन भए प्रारम्भिक चरणमा माग पूरा हुन सक्छ। आवश्यक विद्युत दिनका लागि प्राधिकरणको यो क्षेत्रको अहिलेको क्षमताले थेग्न नसक्ने भएपछि केही  ठाउँमा क्षमता विस्तारको काम भइरहेको छ। ‘बेलैमा ध्यान दिएको भए क्षमता विस्तारको काम अहिले पूरा भएर विद्युत दिन सक्ने अवस्थामा पुगिन्थ्यो,' भैरहवा वितरण केन्द्रका प्रमुख ठाकुरले भने।

विशेष आर्थिक क्षेत्रमा विद्युत दिनका लागि प्राधिरणले तीनवटा विकल्प अघि सारेको छ। पहिलो मैनहियामा बन्न लागेको सब–स्टेसनबाट तार तानेर विद्युत दिने, दोस्रो धकधईमा बन्न लागेको सब–स्टेसनबाट तार तानेर दिने र तेस्रो बुटवल–भैरहवाको ३३ केभिए लाइनको क्षमता विस्तार गरी दिने विकल्प छन्।

बुटवल–भैरहवा–गोरुसिंगे १ सय ३२ केभिए प्रसारण लाइन आयोजना प्रमुख हरि पाण्डेले मैनहियाको सब–स्टेसन निर्माणको काम दुई वर्षभित्र सम्पन्न हुनेछ। ‘माघमा टेन्डर निकालेर २०७५ कात्तिकमा सम्पन्न गर्ने गरी काम हुनेछ, काम सम्पन्न भएपछि मात्रै यहाँबाट बिजुली दिन सकिनेछ,' पाण्डेले भने। सब–स्टेसन निर्माणको काम तोकिएको समयमा पूरा भए यहाँबाट बिजुली दिन दुई वर्ष लाग्ने छ।

दोस्रो विकल्पको रुपमा अघि सारिएको धकधई सब–स्टेसनबाट हो, जहाँ आठ एमबिएको सब–स्टेसन बन्दैछ। धकधईदेखि भैरहवासम्मको प्रसारण लाइन डबल सर्किट बनाउने काम अघि बढेको छ। यो काम छिटो गर्दा ६ महिना लाग्ने प्राधिकरणका अधिकारीहरुको भनाइ छ।

धकधईको सब–स्टेसनबाट बिजुली दिन बुटवल–भरौलिया–धकधई प्रसारण लाइन विस्तार गर्नुपर्छ। यसका लागि बुटवल–भरौलिया १२ किमी प्रसारण लाइन डबल गर्नुपर्छ। भरौलिया–धकधई ६ किलोमिटर क्षेत्रमा ११ केभिए क्षमताको प्रसारण लाइन भएकाले क्षमता विस्तार गर्नुपर्छ। बुटवल–भरौलिया ३३ केभिए प्रसारण लाइनको क्षमता २० मेगावाट हो, यो क्षमता पूरा भइसकेको छ। धकधईमा  सब–स्टेसनको काम भइरहेको र धकधई–भैरहवा प्रसारण लाइनको क्षमता विस्तारको काम पनि हुन लागे पनि बुटवल–कधईको क्षमता विस्तारको कुनै साइँसुइँ छैन। त्यसैले यहाँबाट पनि सेजलाई छिटो बिजुली दिन सक्ने स्थिति छैन।

तेस्रो विकल्प भनेको बुटवल–भैरहवाको ३३ केभी प्रसारण लाइनबाट हो, यहाँबाट बिजुली दिन अहिलेको प्रसारण लाइनलाई डबल बनाउनुपर्ने छ। बुटवल–भैरहवा प्रसारण लाइनको १९ किमी दुरी सर्वसाधारणको खेत हुँदै गएकाले उनीहरुको चित्त बुझाएर काम गर्नुपर्ने छ। सर्वसाधारणको चित्त बुझाउन सके तीन महिनाभित्र डबल सर्किटको काम पूरा गर्न सकिन्छ। ‘यहाँ गर्ने काम भनेको अहिले लामो दुरीमा रहेका पोल छोटो दुरीमा गाड्ने र पोलको दुवैतिर तार तान्ने वा मोटो तार राख्ने हो,' प्राधिकरण भैरहवा  वितरण केन्द्रका  प्रमुख ठाकुरले भने।

यी तीन विकल्पमध्ये जुन छिटो हुन्छ, त्यहाबाट बिजुलीको पूर्वाधार बनाउने गरी काम अघि बढाउन आफूले आग्रह गरेको उनको भनाइ छ। ‘उद्योगी बिजुली चाहियो भन्दै आउँछन्, वस्तुस्थिति बताउँदा बताउँदै हैरान छु, बिजुली दिन सक्ने अवस्था छैन,’ ठाकुरले भने।

सेजमा उद्योग स्थापनाको लागि समझदारी गरेका उद्योगी राजेश अग्रवालले बिजुलीको व्यवस्थापन गरे उद्योग स्थापना गर्न आतुर रहेको बताए ।

सेजमा उद्योग स्थापना गर्न आतुर व्यवसायीलाई आवश्यक वातावरण बनाउने काम सरकारको भएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले बताए। ‘बिजुलीको समस्या समाधान गरेर  उद्योग स्थापना छिटो गरी उत्पादनको चरणमा लैजान सके मुलुककै लागि सन्देश दिन सकिन्छ,' उनले भने।

सिद्धार्थनगरस“गै जोडिएको बगाहा गाविसमा ५२ बिघामा फैलिएको सेजमा ७५ करोड रुपैयाँ लगानी गरी पूर्वाधारका सबै काम सकिएका छन्। यहा“ रहेका ६९ प्लटका लागि उद्योगीको आवदेन आह्वान गरी छनोट गर्ने काम भइरहेको छ। निर्यातजन्य उद्योगका लागि भैरहवा सेज आकर्षक मानिन्छ।

प्रकाशित: ९ मंसिर २०७३ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App