७ वैशाख २०८१ शुक्रबार
अर्थ

मार्तडी–कोल्टी सडक दसैंसम्म सञ्चालन नहुने संकेत

मार्तडी कोल्टी सडकको हिलोमा फसेका ट्याक्टर। तस्बिर : कृष्ण/नागरिक

बाजुरा – मार्तडी–कोल्टी सडक बन्द भएको तीन महिना बित्यो। कच्ची भएकै कारण बर्खामा पानीले सडक अवरुद्ध बनेको छ। यो समस्या हरेक वर्ष दोहोरिन्छ। अहिले बर्खा लगभग सकिइसकेको छ। पानी पर्न कम भइसकेको छ। तैपनि स्थानीय तहले सडक सञ्चालनको सुरसार गरेको छैन।

२०५६ सालमा यो सडक निर्माण थालिएको हो। ४३ किलोमिटर सडकमा हालसम्म ३३ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। तर स्थानीयले सडक प्रयोग गर्न पाएका छैनन्।

हिउँदका केही महिनाबाहेक सो क्षेत्रका स्थानीयले हिँडेरै यात्रा गर्नुपर्ने बाध्यता छ। सडककै कारण महँगीको मार खेप्नुपरेको गुनासो स्थानीयको छ। कोल्टी क्षेत्रमा बाजुराका चारवटा स्थानीय तह छन्। प्रदेश निर्वाचन क्षेत्र ‘क’ पुग्न यही बाटो हिँड्नुपर्ने बाध्यता छ।

तर, बाटो मर्मतमा कसैको चासो छैन। सुदूरपश्चिम प्रदेश सरकारले अघिल्लो वर्ष गौरवको योजना भन्दै १३ करोड विनियोजन गरेको थियो। त्यो रकमबाट कुनै काम भएन। यो वर्ष पनि ६ करोडभन्दा बढी बजेट विनियोजन गरिएको भनिए पनि कामको प्रक्रिया सुरु भएको छैन।

सडक अवस्थाबारे स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकार बेखबर छन्। सडक अवरुद्ध हुँदा बाजुराको उत्तरी क्षेत्र, हुम्ला र मुगुको खत्याड भेगमा दैनिक उपभोग्य सामानको चरम अभाव छ। उपलब्ध समानमा पनि महँगो मूल्य तिर्नुपर्ने बाध्यता स्थानीयलाई छ।

यो समस्या अझै लम्बिने आशंका गर्छन्, नागरिक अगुवा जनेश भण्डारी। मर्मतका लागि पहल नै गरिएको छैन। दसैं आउन दुई हप्ता बाँकी छ। सडक नबन्दा घर फर्किनेले सास्ती बेहोर्नुपर्ने मात्र होइन, दैनिक उपभोग्य सामानको लागि पनि चर्को मूल्य तिर्नुपर्ने अवस्था रहेको भण्डारीको भनाइ छ।

प्रत्येक सामानमा व्यापारीले पनि १० देखि २० प्रतिशत मूल्य बढाएको स्थानीयको भनाइ छ। मार्तडीदेखि कोल्टीसम्म ट्याक्टरमा सामान ढुवानी गरेको प्रतिकेजी पाँच रुपैयाँका दरले भाडा तिर्नुपथ्र्यो। अहिले भरिया र खच्चरलाई बोकाएर लैजाँदा प्रतिकेजी ३० रुपैयाँमा ढुवानी हुने गरेको व्यवसायी बताउँछन्।

बिरामी बोक्नसमेत सास्ती छ। ‘दुःखका कुरा सुनाएर साध्ये छैन, कति सुनाउनु ? योपटक मात्र समस्या देखिएको भए पो !’ बाँधुका स्थानीय रणवीर भण्डारीले भने। सरकारले दिएको अनुदानबाट स्याउ ढुवानी गर्न पनि खच्चडको प्रयोग गर्न बाध्य भएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख गोबिन्द्र सिजापतिले बताए।

२०५६ फागुन ७ गते तत्कालीन जिल्ला सभापति लालबहादुर थापाले शिलान्यास गरेको सडक २० वर्षसम्म पनि उस्तै अवस्थामा छ। स्थानीय तहले आफ्नो क्षेत्रभन्दा माथि भएकै कारण मर्मत तथा निर्माण शीर्षकमा खर्च गर्न नमिल्ने बडिमालिका नगरपालिकाको प्रमुख पदम बडुवालले बताए।

सडकको आधाभन्दा बढी भूगोल पर्ने बुढीनन्दा नगरपालिका भने यसबारे मौन छ। उसले कुनै वर्ष पनि समयमै चासो नराख्ने गरेको आक्रोश स्थानीयको छ। यता प्रदेश निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित बलदेव रेग्मीले भने मर्मतका लागि सम्बन्धीत निकायलाई भनेर तत्काल काम सुरु हुने बताएका छन्। ‘दसैैंमा हिँडेर जानु पर्दैन, यसमा हामी जिम्मेवार भएर लागेका छौं,’ सांसद रेग्मीले भने।

उसो त सडक २०६० सालसम्म कोल्टी पु-याउने लक्ष्य राखिएको थियो। तर २० वर्षसम्म पनि अवस्था फेरिएको छैन। कर्णाली करिडोरले आफ्नो निर्माण गति तीव्र पारिए पनि मार्तडी कोल्टी सडकको अवस्था सुधार नहुँदा स्थानीयले सास्ती भोग्नुपर्ने अवस्था टाढिन अझै समय लाग्ने देखिन्छ।

कामका लागि खाद्यान्न कार्यक्रमबाट २७ करोड ४० लाख, तत्कालीन जिविस बाजुराबाट आठ लाख, कर्णाली वरिपरिको कार्यक्रमबाट ३६ लाख र उत्तरी क्षेत्रका गाविसबाट २१ लाख र सडक विभागबाट पाँच करोड गरी ३३ करोड ५४ लाख पाँच हजार खर्च भएको भनिए पनि यकिन तथ्यांक जिल्लाका कुनै निकायसँग छैन।

प्रकाशित: ९ आश्विन २०७६ ०३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App