८ वैशाख २०८१ शनिबार
समाज

सिञ्जामा विश्व भाषा सम्मेलन तयारी

नगेन्द्र उपाध्याय
सुर्खेत - नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिञ्जामा कर्णाली प्रदेश सरकारले विश्व भाषा सम्मेलन आयोजना गर्ने भएको छ। नेपाल पर्यटन वर्ष–२०२० लाई लक्षित गरेर प्रदेश सरकारले विश्वभरि छरिएर रहेका नेपाली भाषीलाई कर्णालीको सिञ्जामा भेला गर्न लागेको हो। ‘भाषा संरक्षण, संवद्र्धनका साथै खस भाषालाई विश्वभर फैलाउने उद्देश्यले सिञ्जामा भाषा सम्मेलन आयोजना गर्न लागेका हौं,’ प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले भने, ‘अहिले विश्वभर रहेका नेपाली भाषीहरूको तथ्यांक संकलन गरिरहेका छौं।’

प्रदेश सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानको समन्वयमा विश्व भाषा सम्मेलन गर्ने तयारी गरेको हो। ‘दसैंलगत्तै तयारी थालेर चैतभित्र सिञ्जामा भाषा सम्मेलन सम्पन्न गर्छौं,’ उनले भने, ‘यसको मुख्य उद्देश्य कर्णाली र खस भाषालाई विश्वसामु चिनाउनु हो।’ प्रदेश सरकारले विश्वभर रहेका नेपाली दूतावासमार्फत नेपाली भाषीलाई आमन्त्रण गर्ने तयारी गरेको छ। विश्व भाषा सम्मेलनका लागि प्रदेश सरकारले ५० लाख रूपैयाँ छुट्याएको छ।

प्रदेश सरकारले विदेशमा रहेका नेपाली साहित्यकार, कलाकारका तथा स्वदेशका विभिन्न साहित्यसँग सरोकार राख्ने व्यक्ति, संस्थालाई आमन्त्रण गर्नेछ । देशभित्रको खर्च व्यवस्थापन प्रदेश सरकारले गर्नेछ। प्रदेश सरकारले भाषा सम्मेलनमा सिञ्जा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई रारा तालसम्म पु¥याउने तयारी गरेको छ। नेपाली भाषाको उद्गमस्थल सिञ्जादेखि रारासम्मको दूरी ५६ किलोमिटर छ।

वीरेन्द्रनगरमा सांस्कृतिक घर
प्रदेश सरकारले राजधानी सुर्खेतमा सांस्कृतिक घर निर्माण गर्ने भएको छ। वीरेन्द्रनगर नगरपालिकाले सांस्कृतिक घरका लागि आवश्यक जमिनको व्यवस्था गर्नेबित्तिकै टेण्डर प्रक्रिया सुरु गरिनेछ। प्रदेश सरकारले यसका लागि ५० लाख रूपैयाँ छुट्याएको छ। ‘कर्णाली प्रदेशको कला, संस्कृति र पहिचानलाई जिवित राख्न, प्रवद्र्धन गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिन प्रदेश राजधानीमा सांस्कृतिक घर निर्माण सुरु गर्ने योजना बनाइएको हो,’ सामाजिक विकासमन्त्री रावलले भने।

प्रदेश सरकारले सांस्कृतिक घरका साथै विभिन्न भाषा–भाषी र जातजातिका छुट्टाछुट्टै संग्रहालय पनि निर्माण गरिरहेको छ। हुम्लामा लामा समुदायको सांस्कृतिक घर निर्माण भइरहेको छ भने सुर्खेतमा थारु र मगर समुदायको सांस्कृतिक घर बन्दैछ। लामा सांस्कृतिक घरका लागि ७५ लाख, मगर सांस्कृतिक घरका लागि ७५ लाख र थारु सांस्कृतिक घरका लागि २० लाख रूपैयाँ प्रदेश सरकारले उपलब्ध गराएको छ। ‘यहाँका जातजाति, भाषा–भाषीको कला, संस्कृति र परम्परालाई संरक्षण गर्न, नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्पराबारे सिकाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नु सांस्कृतिक घर बनाउन लागिएको हो,’ उनले भने, ‘क्रमशः अन्य जातजाति र भाषा–भाषीका सांस्कृतिक घर पनि निर्माण गर्नेछौं।’

प्रदेश सरकार मातहत प्रदेश संग्राहलय छ। यो संग्रहालयमा जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायसँगै अन्य लोपोन्मुख जातजातिका परम्परागत पोसाक र अन्य सामग्री संग्रहित छन्।

प्रकाशित: ९ आश्विन २०७६ ०३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App