७ वैशाख २०८१ शुक्रबार
अर्थ

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। संघको वर्तमान उपाध्यक्ष आचार्यले २०१९–२०२१ को कार्यकालका लागि उम्मेदवारी दिएका हुन्। भूतपूर्व गोर्खा सैनिकको बाक्लो बसोबास रहेको बेलायतको अल्डरसटस्थित एम्पायर हलमा मंगलबार साँझ घोषणासभा मार्फत आचार्यले आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनमा आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे। ‘एनआरएन अभियानलाई नयाँ गति र दिशा दिने अठोटका साथ मैले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ आचार्यले भने। विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकमा पुगेर राय–सुझाव लिएपछि आचार्यले १० बुँदे प्रतिबद्धतापत्र सहित संघको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हुन्।

उम्मेदवारी  घोषणासभामा आचार्यले एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिबद्धताका साथ अगाडि बढाउन भिजनरी नेतृत्व आवश्यक भएको बताउँदै संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउने संकल्प गरेका छन्। आचार्यले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा संसारभर फैलिएका गैरआवासीय नेपालीसँग रहेको स्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानीमार्फत भित्र्याउन ठोस कार्ययोजनासहित अघि बढ्ने बताएका छन्। उनले अब दुई वर्षभित्र सम्पूर्ण गैरआवासीय नेपालीको अपनत्व महसुस हुने किसिमको साझा चौतारीको रुपमा संघको विकास गरिने बताए।

त्यसैगरी, वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन आगामी दुई वर्षभित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तीमा दोब्बर गर्ने, वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीको समस्या बुझ्न र समाधानको पहल गर्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने, एनआरएन सीप विकास केन्द्रस्थापना गर्ने, विदेशमा काम गरेर फर्केका नेपालीको सञ्जाल बनाई उनीहरुसँग रहेको सीप, स्रोत र ज्ञान नेपालको विकासमा लगाउन पहल गर्ने समेत उनको प्रतिबद्धता छ।

अध्यक्षका उम्मेदवार आचार्यले एनआरएनएलाई  सबै सदस्यको सहकार्यका आधारमा एउटा सशक्त र गतिशील संस्था बनाउन आफूले उम्मेदवारी  दिएको बताउँदै संसदीय प्रक्रियामा रहेको विधेयकलाई संविधान र एनआरएनएको भावनाअनुरुप निकर्षमा पु¥याउन निर्णायक पहल गर्ने बताएका छन्। ‘नेपाली नागरिकको हैसियतको हाम्रो सम्पत्ति गैरआवासीय नेपाली नागरिकता पाएपछि पनि सुरक्षित हुनेछ भन्ने प्रस्ट खुलाउन पहल गर्नेछु,’ आचार्यले भने।

अध्यक्षका दाबेदार आचार्यले गैरआवासीय नेपाली लगानीकर्ताबाहेक एनआरएनएका सदस्यको सम्पर्क र सम्बन्धलाई प्रयोग गर्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने बताए। उनले बढीभन्दा बढी मुलुकसँग द्वीपक्षीय लगानी प्रवद्र्धन तथा परियोजना सहमति एवं दोहोरो करमुक्त सम्झौता गर्न नेपाल सरकारसँग संस्थागत पहल गर्ने समेत प्रतिबद्धता जनाए। त्यसैगरी, नेपालका सबै नियोगमा एनआरएन एएनसिसीलाई पनि समावेश गरी स्थायी प्रकृतिको आर्थिक कूटनीति समिति बनाउन समेत परराष्ट्र मन्त्रालयलाई आग्रह गर्ने बताए।

प्रकाशित: ९ आश्विन २०७६ ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App