८ वैशाख २०८१ शनिबार
समाज

सवारी चाप हुने समयमा कालोपत्रे

धादिङ - ‘झन्डै पाँच घण्टा जाममा बसेपछि थाहा भो, थानकोट–नौबिसे खण्डमा सडक टालटुल हुँदै रहेछ। सवारीको अति लामो लस्कर छ। त्यसमा कति बिरामी छन्, कसैका अति जरुरी काम होलान् । कोही अर्को यात्रामा जानुपर्ने होला। यो सडक टालटुलको काम यात्रुलाई सकसमा नपारी गर्न सकिन्न होला ?’ नौबिसे–नागढुंगा सडकखण्डमा कालोपत्रेले सवारी जाम परेपछि सामाजिक सञ्जालमा धादिङका विजयकुमार केसीले गरेको दुखेसो हो यो।

खाल्टाखुल्टी परेको नौबिसे–नागढुंगा सडकखण्डका ठाउँठाउँमा कालोपत्रे गर्ने काम भइरहेको छ । चाडपर्वको समयमा अत्यधिक सवारी चाप बढ्ने र मानिसहरूको आवतजावत पनि बढी हुने भएकाले सवारी जाम बढेको छ। काम विशेष र चाडपर्वमा घर निस्केकाहरू यसरी लामो जाममा बस्नुपरेपछि सामाजिक सञ्जालमार्फत अधिकांशले दुखेसो पोख्ने गरेका छन्। हतारमा देखासिकीका लागि गरेको कालोपत्रेले जनतालाई सास्ती दिएको भन्दै यात्रुहरूले असन्तुष्टि जनाएका छन्।

सवारी चाप बढी हुने नौबिसे–नागढुंगा सडकखण्डमा सडक स्तरोन्नति तथा कालोपत्रेले जाम बढाएको छ। सो सवारीसाधनको मुख्य चाप हुने समयमा सडक कालोपत्रे (पिच) गरिँदा थानकोटदेखि नौबिसेसम्म सडकमा लामो जाम भएको छ। मुख्य सवारी चाप हुने समयमा सडक बन्द गरेर कालोपत्रे गरिँदा आफूहरूको बिजोग भएको भन्दै यात्रुहरूले गुनासो गरेका हुन् । दशैंअघि नै सक्नेगरी काठमाडौंको मुख्य नाका नागढुंगामा सुधारको काम थालिएको छ। यसका कारण यात्रुलाई जाममा बस्नुपर्दा निकै सास्ती भएको छ।

गत शुक्रबार थालिएको सडक मर्मतले धादिङतर्फ ३० किलोमिटरसम्म सवारी जाम हुने गरेको छ। साँघुरो सडक र बढी मोड भएका कारण एकतर्फी रूपमा मात्रै सवारी आवागमन गर्नुपर्ने भएका कारण सवारी जामले नौबिसे क्रस गर्ने इलाका प्रहरी कार्यालय खानीखोलाका इन्सपेक्टर रुकबहादुर खड्काले बताए। ‘सडक विभागले अत्यधिक जाम हुने समयमा कालोपत्रेको काम गरिदिँदा सवारी व्यवस्थापनमा गाह्रो हुने गरेको छ,’ उनले भने, ‘जसका कारण गन्तव्यमा हिँडेका यात्रुहरू बीच बाटामै अलपत्र पर्ने गर्छन्।’

सडक विभागले बिहान १० बजेदेखि कालोपत्रेको काम सुरु गर्ने गरेको छ। टाढाबाट आएका रात्रिबसहरू यही समयमा काठमाडौं प्रवेश गर्ने गर्छन्। त्यसकारण सवारीको लाम लाग्ने गरेको हो। मंगलबार धार्केबजारसम्म पुगेको सवारी जाम बुधबार बिहानसम्म पनि खुलेको थिएन। यात्रुहरूको गुनासो र प्रहरीलाई सवारी व्यवस्थापनमा हम्मे भएपछि बुधबार कालोपत्रे नगर्न प्रहरीले अनुरोध गरेको छ।

एकातिर सडक विभागलाई सवारी चाप नहुने समयमा कालोपत्रेको काम गर्न अनुरोध गरे पनि ठेकेदारले अटेर गरेका छन् भने अर्कोतिर खाल्टाखुल्टी भएको उकालो र साँघुरो बाटो, घुमाउरा मोड, अत्यधिक भार बोकेका गाडी र लेन अनुशासन मिच्ने प्रवृत्तिले पनि सडक जाम हुने गरेको छ। केही कारणले १० मिनेट मात्रै सडक अवरुद्ध भए यस सडकखण्डमा सयौं सवारीसाधन लाम लाग्ने गर्दछन् । यसरी घण्टौं सवारी अवरुद्ध हुँदा यात्रुहरूले सास्ती भोग्नुपरेको छ।

दसैं–तिहार नजिकिँदै आएपछि राजधानी छिर्ने मालवाहक सवारीसाधन र अन्य गाडीहरूको चाप यसै पनि बढ्छ । दसैं–तिहारमा दैनिक १२ हजारदेखि १८ हजार सवारीसाधन र मालवाहक गाडी राजधानी भित्रिन्छन्। दैनिक १८ हजार बढी सानाठूला सवारीसाधन राजधानीबाट बाहिरिन्छन्। तीमध्ये ७ सयभन्दा बढी १८ देखि २२ चक्केसम्मका भारतीय मालवाहक गाडी हुन्छन् । यसरी चाडपर्वलाई ल्याइएका सामग्रीहरू समयमै गन्तव्यमा नपुग्दा व्यापारीहरूले पनि घाटा बेहोर्नुपरेको छ।

सडक खाल्टाखुल्टी भएपछि नौबिसे–नागढुंगा खण्डको १५ किलोमिटर मर्मतको जिम्मा पाएको चितवनस्थित जिएमआर कन्स्ट्रक्सनले कालोपत्रेको काम थालेपछि जाम सुरु भएको हो । चितवनस्थित सडक डिभिजन कार्यालयका प्रमुख कृष्ण अधिकारीले यात्रुलाई असर नपर्ने गरी मर्मत थालिएको बताए। गत असारभित्रै सक्नुपर्ने नौबिसे–नागढुंगा सडक मर्मतको काम सकाउनुपर्ने भए पनि मर्मत नसकिएकाले हतारहतारमा टालटुल गर्न थालिएको हो। वर्षात् नभए बिहीबारसम्म मर्मत सकिने निर्माण कम्पनीले बताएको छ।

छिटोछिटो काम सके यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यमा जान पनि सहज हुनेछ । काठमाडौंबाट बाहिरिने र त्यहाँ छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड मर्मत धेरै दिन टिक्दैन। सवारी चापले मर्मत गरेको महिना नबित्दै सडक जीर्ण हुन थाल्छ। अत्यधिक भार बोकेका सवारीसाधनले काठमाडौं प्रवेशको देब्रे लेन बिगारेर खाल्डाखुल्डी बनाउने गर्छ।

प्रकाशित: ९ आश्विन २०७६ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App