८ वैशाख २०८१ शनिबार
अर्थ

भैरहवाबाट दसैंलाई पाँच अर्बको कार, मोटरसाइकल र एक अर्बको कपडा

भैरहवा भन्सार परिषरमा भारतबाट सामान बोकेर नेपाल आएका लोडेड गाडी। तस्बिर : रेखा/नागरिक

बुटवल – बजारमा अहिले किनमेलको मुख्य सिजन हो। असत्यमाथि सत्यको विजयको प्रतिक मानिने दसैंमा राम्रै लगाउने र मीठै खाने पर्वको रुपमा मनाइन्छ। त्यसैले दसैं, तिहार र छठजस्ता पर्वमा बजार गुल्जार हुन्छ। लत्ताकपडा, खाद्यान्न, माछामासु र सवारी साधनको बिक्री यो बेला बढ्छ। बुटवल भैरहवाको बजारमा पनि दसैं किनमेलको चहलपहल सुरु भइसकेको छ। विशेषगरी बजारमा लत्ताकपडा किन्नेको भीडभाड बढ्दो छ।

व्यवसायीले दसैलाई लक्षित गरेर भारत तथा तेस्रो मुलुकबाट मालसामान आयात बढाएका छन्। अन्य सिजनमा औद्योगिक कच्चा पदार्थ धेरै भित्रने भैरहवा भन्सारमा अहिले खाद्यान्न, फलफुल, लत्ताकपडा, मरमसला तथा सवारी साधनका लोडेड गाडीका लाम छन्। यो नाकाबाट दसैं, तिहारका लागि एक अर्बभन्दा बढीको लत्ताकपडा आयात हुन्छ। भैरहवा भन्सारका सूचना अधिकृत कलिराम पौडेलले चाडपर्वका लागि साउन, भदौ र असोजमा लत्ताकपडाको आयात बढ्ने बताए।

भैरहवाबाट साउनमा ३० करोड ७४ लाखको सुर्ती तथा तयारी कपडा आयात भएको थियो। भदौ र असोजमा ३५–४० करोडका लत्ताकपडा आयात हुने सूचना अधिकृत पौडेलले बताए। विशेषगरी रेडिमेड, सटिङसटिङ तथा सारी, कुर्ता सुरुवाल र सुती कपडा यहाँबाट भित्रिन्छ। भारतको बैंगलोर, लखनउ, मेरठ, गुजरात, मद्रास, युपि, बनारस, गोरखपुरजस्ता स्थानबाट नेपालमा जेन्स तथा लेडिज कपडा आयात हुने बताउँछन् उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष प्रविण पाठक।

पछिल्लो समय सस्तो र डिजाइनदार हुने भएकाले चियिाँ कपडाको खपत र आयात दुवै बढेको पनि अध्यक्ष पाठकले बताए। यसबाहेक तेस्रो मुलुक हङकङ, कोरिया, थाइल्यान्ड, युएसबाट समेत दसैलाई लक्षित गरेर रेडिमेड कपडा नेपाल भित्रने पाठकले बताए। विदेशी ब्रान्डका कपडा बुटवल, भैरहवा, तानसेनजस्ता सहरमा खपत भए पनि भारतीय तथा चिनियाँ कपडा आधाभन्दा धेरै पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, स्याङ्जा र दाङसम्म पुग्ने गरेको उनले बताए।

दसैंकै लागि भैरहवा नाकाबाट फलफूल भित्रने क्रम पनि बढ्दो छ। स्याउ, काँचो केरा, भुइकटहर, अनार यो नाकाबाट धेरै भित्रिन्छ। दैनिक ५०–७५ गाडी फलफूल भित्रिने यो नाकाबाट असोज लागेसगै दैनिक एक सयभन्दा बढी फलफूलका गाडी नेपाल भित्रिरहेको भन्सारले जनाएको छ। यो नाकाबाट भित्रिने फलफूल बुटवलको थोक बजार केन्द्र हुँदै पहाडी जिल्लासहित चितवन र काठमाडौंसम्म पुग्छ। अन्य समयमा फलफूल खपत तराइका जिल्लामा बढी हुन्छ। तर, चाडपर्वका बेला भने  भारतीय स्याउ र केराले नै पहाडी जिल्लाको बजार धान्ने बताउँछन् फलफूलका थोक व्यापारी बृजेश यादव। चाडपर्वकै लागि अहिले खाद्यान्नको आयात पनि तुलनात्मक रुपमा बढेको छ। भैरहवाबाट भित्रिएको भारतीय चामल, दाल, मैदा, मरमसला, तेल, प्याजजस्ता मालसामानले नै पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, स्याङ्जा, रोल्पाबासीले दसैं मनाउछन्। 

विशेषगरी यो समयमा  मसरसला, तेल, पिठो, मैदा, मसिनो तथा बास्नादार चामलको आयात बढ्छ। दसैंमा लत्ता कपडासँगै प्याज, मसिनो तथा बास्नादार चामल, दाल, तेल, मैदा, घर सजावटका सामानको माग पहाडी जिल्लामा बढी हुने बताउँछन् नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य टंक पोख्रेल। पछिल्लो समय मानिसको क्रयशक्ति खासै नबढेकाले बजारमा दसैंको किनमेल त्यति उत्साहपूर्ण भने नरहेको पोख्रेलको भनाइ छ। ‘ऋणधन गरेरै भए पनि नयाँ लाउने र मिठो खाने प्रचलन छ। ‘तर चाडवाड भनेर मन फुकाएर किनमेल गर्न सक्ने गरी उपभोक्ताको क्रयशक्ति बढेको छैन,’ पोख्रेलले भने। रुपन्देही व्यापार संघका पूर्वअध्यक्षसमेत रहेका पोखरेलका अनुसार दसैमा तराइमा लत्ताकपडा,मासु, चिनी, फलफूल, इलेक्ट्रोनिक र सवारी साधन धेरै बिक्छ।

चाडपर्व लक्षित गरेर व्यापरीहरुले गत साउनदेखि नै सवारी  साधनको आयात पनि बढाएका छन्। भैरहवा नाकाबाट वार्षिक साढे २३ अर्बबराबरको सवारी साधन आयात हुन्छ। आयातको झन्डै ४० प्रतिशत कारोबार दसैंतिहारको समयमा हुने अटो व्यवसायी बताउँछन्। दसै, तिहार लक्षित बजारका लागि भैरहवा नाकाबाट पाँच अर्बभन्दा बढीका जिप, कार, भ्यान र मोटरसाइकल आयात  हुन्छन्। दसैंमा बुटवल, भैरहवाजस्ता ठूला सहरमा चारपाँग्रे गाडीको बिक्री ह्वात्तै बढ्छ। पहाडी जिल्लामा गाडीको बिक्री कम छ। मोटरसाइकलको बजार पनि निकै राम्रो रहेको अटो व्यवसायी देवेन्द्र पौडेलले बताए। दसैंमा देवी देउताका मुर्ती, इलेक्ट्रोनिक सामान टिभी, क्यामेरा, झालर लाइट, मोबाइलजस्ता सामानको बिक्री उल्लेखनीय बढ्ने व्यापारी बताउँछन्। अघिल्ला वर्ष दसैंमा धेरै भित्रिने चिनी र खसीबोकाको आयात भने भैरहवा नाकाबाट ठप्प छ।

प्रकाशित: ९ आश्विन २०७६ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App