coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँ शक्तिमा जिम्मेवारी बाँडियो

काठमाडौं- पार्टी घोषणा भएको १५ दिनपछि बसेको नयाँ शक्ति नेपालको सचिवालय बैठकले मुख्य व्यक्तिलाई जिम्मेवारी दिएको छ। मंगलबार सकिएको तीन दिने बैठकले संघीयतालाई आधार मान्दै ३० वटा विभाग, समिति, संयन्त्र र आयोग गठन गरी पदीय जिम्मेवारी दिएको हो।

बैठकले हरियो नेपाल अभियानसहितका कार्यक्रम गर्ने निर्णय गरेको छ। महँगी, कालोबजारी, भ्रष्टाचारविरुद्ध अभियान, देशभर एक लाख बिरुवा रोप्ने, भूकम्पप्रभावित क्षेत्रमा पुनर्निर्माण कार्यक्रम, महिला हिंसाविरुद्ध हेल्प डेस्क अभियान चलाउने प्रतिबद्धता जनाएको छ। बैठकले केन्द्रीय कार्यकारी समिति गठन गरेको छ। बाबुराम भट्टराईको संयोजकत्वमा रहेको राजनीतिक समितिमा रामचन्द्र झा र महेश कोर्मोचा रहेका छन्। परशुराम तामाङ संयोजकत्वमा राष्ट्रिय मामिला संयन्त्र, परशुराम खापुङ संयोजक रहेको अनुशासन आयोग, मुमाराम खनाल संयोजक रहेको राजनीतिक संवाद समिति, संसदीय मामिला विभाग संयोजकमा केशव दाहाल, रामेश्वर खनालको संयोजकत्वमा आर्थिक व्यवस्थापन तथा सुशासन समिति, हिसिला यमीको संयोकत्वमा अन्तर्राष्ट्रिय विभाग, सूचना, सञ्चार संयोजकमा खिमलाल देवकोटालगायत ३० वटा समिति, आयोगको जिम्मेवारी दिइएको छ।

प्रादेशिक संगठनअन्तर्गत १ मा संयोजक पासाङ शेर्पा, २ मा महेन्द्र पासवान, ३ मा गंगानारायण श्रेष्ठ, ४ मा बलावती शर्मा, ५ मा सुरेन्द्र चौधरी, ६ मा भक्तबहादुर शाह, ७ मा लीलादेवी भण्डारीलाई जिम्मा दिएको नयाँ शक्तिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उम्मेदवारी घोषणा

नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईले एक वर्षभित्र हुने महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

भक्तपुरमा बुधबार पत्रकार भेटघाटमार्फत भट्टराईले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले मंगलबार पारित पार्टीको अन्तरिम विधानको धारा ६ को उपधारा (ख) अनुसार अध्यक्षमा उम्मेदवारी घोषणा गरेको दाबी गरे।

प्रकाशित: १६ असार २०७३ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App