coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पारि बजार खचाखच वारि सुनसान

कैलालीको धनगढीस्थित गौरीफन्टा नाकामा भारतीय बजारबाट सामान किनेर ल्याउँदै महिला। तस्बिर : दिलबहादुर छत्याल/नागरिक

धनगढी – धनगढी उपमहानगरपालिका–८ का रमेशकुमार दाहाल दसैंका लागि सरसामान खरिद गर्न धनगढी बजारदेखि करिब ६ किलोमिटर दूरीमा रहेको सीमावर्ती बजार वनगाउँ पुगे। उनले खाद्यान, दैनिक उपभोग्य सामग्रीदेखि लुगाकपडासमेत खरिद गरेर ल्याएका छन्।

‘दसैं नजिक आइसक्यो, सीमापारिको बजार गएर दसैंका लागि चाहिने सामान किनेर ल्याएँ,’ दाहालले भने, ‘धेरै सामान किन्नुपर्ने भएकाले केही सस्तो होला भनेर भारतीय बजार पुगें।’ करिब २० हजार रुपैयाँको सामान किनेर ल्याएको उनले बताए।

यसैगरी, धनगढी उपमहानगरपालिका–५ की उमा चन्द पनि छिमेकीहरूका साथ दसैंका लागि सामान किन्न सीमावर्ती बजार वनगाउँ पुगिन्। ‘लुगाकपडा, चिनी, तेललगायत सबै सामान किनेकी छु,’ उनले भनिन्, ‘दसैंका बेला सामान किन्न सधैं सीमापारिका भारतीय बजार जाने गरेकी छु।’

उनी मात्र नभई भारतीय सीमाक्षेत्रका प्रायः सबैजसो नेपाली अहिले दसैंको सामान किन्न भारतीय बजार जाने गरेका छन्। चिनी, दाल, तेल, सुट, सारीलगायत सामान भारतीय बजारमा सस्तो पाइने हुनाले दसैंका लागि खरिद गर्न भारतीय बजार जाने गरेको स्थानीय बताउँछन्।

‘दसैंमा परिवार सबैका लागि लुगाकपडा किन्नुपर्छ, मीठोमसिनो खान पनि अन्य दैनिक उपभोग्य सामग्री पनि चाहिन्छ,’ धनगढी गाउँका तुला चौधरी भन्छन्, ‘सस्तो पाइन्छ भनेर हामी दसैंका लागि सामान खरिद गर्न सधै भारतीय बजार जाने गर्छौं।’ केही दिनपछि दसैंका लागि सामान खरिद गर्न भारतीय बजार जाने सोच बनाएको उनले बताए। गाउँभरिका सबै दसैंका लागि सामान खरिद गर्न भारतीय बजार नै जाने गरेको उनको भनाइ छ।

सुदूरपश्चिमका धनगढी, महेन्द्रनगर, डडेल्धुराको जोगबुढा, बैतडी, दार्चुलालगायतका बासिन्दा हिन्दूहरूको महत्वपूर्ण पर्व दसैंका लागि नुन, चिनी, तेल, दाललगायत दैनिक उपभोग्य सामग्रीदेखि लुगाकपडासम्म खरिद गर्न सीमावर्ती भारतीय बजारको भर पर्ने गर्छन्। दसैं आउन दुई साता बाँकी रहँदा सुदूरपश्चिमका बजार सुनसानजस्तै छन् भने सीमावर्ती भारतीय बजारमा भने दसैंको खरिद गर्न जानेको चहलपहलले गुल्जार बनेका छन्।

दसैं आउन दुई साता मात्र बाँकी रहँदा पनि सुदूरपश्चिमका बजार सुनसानजस्तै छन् भने सीमावर्ती भारतीय बजारमा भने दसैंका लागि मालसामान खरिद गर्न जाने नेपालीको चहलपहल बढेको छ।

‘दसैंका लागि खाद्यानलगायत सामान किन्न सीमापारिको भारतीय बजार धार्चुलामा नेपालीको भीड लागेको छ,’ दार्चुलाका चन्द्रसिंह कार्कीले भने, ‘झोलुंगे पुल पार गरेर आउने भारतीय बजार धार्चुलामा चहलपहल बढेको छ, हामीतिर सुनसान छ।’ नेपाली उपभोक्ता दसैंमा भारतीय बजारमा भर पर्नाले नेपालतर्फ सुनसान र भारतीय बजार गुल्जार बनेका छन्।

‘दसैं आइसक्यो, यहाँका बजार सुनसान छन्, यहाँका सबै बासिन्दा सामान खरिद गर्न जाँदा भारतीय बजार वनगाउँ, पलियामा भीडभाड भएको छ,’ धनगढीका युवा व्यापारी किशोर जोशी भन्छन्, ‘दसैंका बेला  यहाँका बासिन्दा भारतीय बजारमा गएर करोडौं रकमको खरिद गर्ने गर्छन्।’

दसैंका बेला कम्तीमा पनि एक परिवारले १५–२० हजारको सामान खरिद गर्ने उनी बताउँछन्। ‘दसैंको खरिद गर्न सीमाक्षेत्रका नेपाली प्रायः भारतीय बजारमै जान्छन्,’ उनले भने। दसैंका बेला पुरुषले लगाउने पाइन्ट, सट मात्र नेपाली बजारमा बिक्री हुने उनको भनाइ छ।

डडेल्धुरा जोगबुढा क्षेत्रका बासिन्दा पनि दसैंका लागि सामान खरिद गर्न भारतीय बजार टनकपुर जाने गरेको स्थानीय प्रकाश पार्की बताउँछन्। ‘भारतीय बजारनजिक हुनेहरू सामान खरिद गर्न पारि नै जान्छन्, नजिक नहुने मात्र नेपाली बजारमा खरिद गर्छन्,’ उनले भने।

यसैगरी, कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरलगायतका बासिन्दा दसैंका लागि खाद्यानलगायत सामान खरिद गर्न सीमावर्ती बजार बनवासा पुग्ने गर्छन्। ‘सस्तो हुने हुनाले साइकलमा सामान किन्न बनवासा जाने गरेका छौं,’ महेन्द्रनगरका रोशनी पन्तले भनिन्।

धनगढीको सीमामा अहिले भारतीय बजारबाट समान खरिद गरेर आउनेको संख्या बढेको छ। ‘अरू बेला दिनमा एक–दुई सयजना सामान खरिद गरेर लैजाने हुन्थे। अहिले दिनमा एक हजारभन्दा बढी हुने गरेका छन्,’ नाकामा रहेका भारतीय कस्टमका  एक कर्मचारीले भने, ‘श्राद्ध र दसैंका लागि घरमा प्रयोग गर्ने सामान भारतीय बजारबाट खरिद गरेर लैजाने गरेका छन्।’ घरको प्रयोगका लागि सामान लैजानेलाई नाकामा कुनै अवरोध नगरी जान दिएको उनले बताए।

गुणस्तरहीन सामान
सीमावर्ती बजारमा नेपाली उपभोक्तालाई लक्षित गरी गुणस्तरहीन सामान राखिएको हुनाले दसैंमा खरिद गरी आउने सामान राम्रो नहुने जानकार बताउँछन्। कतिपय सीमावर्ती बजार नै नेपाली उपभोक्तालाई लक्षित गरेर खोलिएका छन्। धनगढी पारि रहेका गौरीफन्टा र वनगाउँ बजार नेपाली उपभोक्तालाई मात्र लक्षित गरेर खोलिएको नागरिक समाजका अगुवा प्रमोद पाठकले बताए।

‘यी बजारमा सामान किन्ने नेपालीको मात्र भीड हुने गर्छ,’ उनले भने, ‘सधैं भरिभराउ हुने यी बजारमा अहिले भीड छ।’ सस्तोको नाममा भारतीय बजारमा पुग्ने नेपाली उपभोक्ताले कमसल सामान ल्याउने उनी बताउँछन्।

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटी केही सस्तो पाइने आशमा भारतीय सीमावर्ती बजारमा सामान खरिद गर्न जाने नेपाली उपभोक्तालाई गुणस्तरहीन सामान भिडाएर ठगिने गरेको बताउँछन्। ‘नेपाली उपभोक्तालाई लक्षित गरेर खोलिएका सीमावर्ती बजारमा गुणस्तरीय सामान हुँदैन,’ उनले भने, ‘दुई पैसा सस्तो पाइन्छ भनेर नेपाली उपभोक्ता त्यता जान्छन्, त्यहाँबाट गुणस्तरहीन सामान किनेर ल्याउँछन्।’

भारतीय बजारमा आवतजावत गर्दा लाग्ने खर्च र समय हेर्दा सस्तो पनि नपर्ने उनको भनाइ छ। ‘यहाँ ५० रुपैया पर्ने दाल त्यहाँ ४५ मा पाइने हुँदा सस्तो लाग्छ,’ उनी भन्छन्, ‘तर सबै खर्च जोड्दा उस्तै पर्न आउँछ। थाहा पाएर पनि नेपाली उपभोक्ता त्यहाँ जान भने छोड्दैनन्।’ उपभोक्तालाई भारतीय बजारमा सस्तोको नाममा गुणस्तरहीन सामान पाइन्छ भनेर जनचेतना जगाउन नसक्नु आफूलगायत नेपालका सरोकारवाला निकायको कमजोरी भएको उनी स्वीकार्छन्। ‘नेपाली उपभोक्तालाई गुणस्तरहीन सामान किनेर ठगिँदै छौं भनेर जानकारी गराउन नसक्नु हाम्रो पनि कमजोरी हो,’ उनले भने।

सुदूरपश्चिममा दार्चुलाका बासिन्दा धार्चुला, बैतडीका झुलाघाट, महेन्द्रनगरका बनवासा, जोगबुढाका टनकपुर, टीकापुरका खग्रौला नाकापारिका बजार, धनगढीको गौरीफन्टा, वनगाउँ, पलियालगायत दसैंका लागि सामान खरिद गर्न जाने उनी बताउँछन्।

दसैंमा मात्र नेपाली उपभोक्ताको ठूलो रकम भारतीय बजारमा पुग्ने उनले बताए। ‘सुदूरपश्चिममा दसैंका बेला उपभोक्ताले सामान खरिद गर्न जाँदा दसौं करोड रकम भारतीय बजारमा जानेगर्छ,’ उनले भने। पहिलेदेखि नै दसैंका बेला भारतीय बजारबाट सामान ल्याउने चलन भएकाले अहिले पनि सबै त्यहाँ जाने स्थानीय दलबहादुर बोहरा बताउँछन्। ‘दसैंका बेला सस्तो पाइन्छ भनेर भारतीय बजारमा सामान किन्ने पहिलेदेखिको चलन हो,’ उनी भन्छन्, ‘आवतजावत सबै जोड्दा र सामानको गुणस्तरअनुसार धेरै सस्तो हुँदैन भनेर थाहा पाउने पनि जाने गरेका छन्।’

प्रकाशित: ९ आश्विन २०७६ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App