coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कात्तिक नाचका लागि पैसा छैन

ललितपुर - पाटन मंगलबजारस्थित कात्तिक डबलीमा हरेक वर्ष देखाइने कात्तिक नाचमा समेटिएको सबै नाचहरू प्रदर्शन गर्न कम्तिमा १५ लाख लाग्छ। तर विगत १० वर्षयता जम्मा २ लाख रकमले नाच जसोतसो टारिँदै आएको छ। आर्थिक अभावले नाचको विधि र रीतिथिति अनुसार सञ्चालन गर्न नसकिएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जनाए।

उनका अनुसार समयसँगै बजारभाउ वृद्धिका कारण नाच धान्न मुस्किल परेको हो। निकै आर्थिक भार पर्ने भएकाले पनि यो नाच सञ्चालन गर्न कठिन भइरहेको उनको भनाइ छ। ‘नाच सञ्चालनका लागि संस्कृति मन्त्रालयले ८४ हजार, ललितपुर महानगरपालिकाले यो वर्ष ३ लाख ५० हजार दिने भएको छ,’ उनले भने, ‘तर यति रकमले हामीलाई नाच सञ्चालन गर्न पुग्दैन। कम्तिमा पनि १५ लाख चाहिन्छ।’ डबलीमा प्रत्यक्ष देखाइने नाचमा कलाकार, शृंगार, बाजागाजा र अन्य सजावटका साधनहरुमा बढी खर्च हुने गरेको उनको भनाइ छ।

यसबाहेक नाच सञ्चालन गर्ने कलाकारलाई प्रतिव्यक्ति ज्याला दिनुपर्छ। एक दिनको नाचका लागि ६०÷७० जना कलाकार आवश्यक पर्छ। कलाकारलाई न्यून पारिश्रमिक दिँदा कलाकार पलायन भइरहेको समितिले जनायो। २७ दिन हुने यो नाच आर्थिक अभावले छोट्टिँदै गएर पछिल्ला वर्ष १२ दिन मात्रै देखाउन थालिएको हो।

यो वर्षको नाच कात्तिक १५ देखि २६ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ। कात्तिक नाच संरक्षण समिति सदस्य प्रताप शर्माले १२ दिनसम्म देखाउन सकिने नाच आर्थिक अभावका कारण छोट्याउनु परेको बताए। ‘केही महत्वपूर्ण नाच आर्थिक अभावका कारण मञ्चन हुन पाइरहेका छैनन्। अमूर्त संस्कृतिको गतिलो उदाहरणका रुपमा लिइने कात्तिक नाच चरम आर्थिक अभावका परेको छ,’ उनले भने, ‘हामीले पहल गर्दागर्दै पनि सरकारी निकायबाट पुग्दा रकम दिइएको छैन।’ उनका अनुसार यो वर्ष बाठ प्याखं नाचलाई ३ दिन प्रदर्शन गर्ने तयारी गरेको छ।

गत वर्ष १२ वटा नाच देखाइएको थियो। नाच हेर्न विदेशी पयर्टक नाच हेर्न आउँछन्। यो नाच ३ सय ७६ पुरानो मानिन्छ। पछिल्लो समय युवा पुस्ताले नै नाच धानेका छन्। नाच संरक्षण गर्न युवा पुस्ता नै लागिपरेका छन्। यो नाच राजा सिद्धिनरसिंह मल्लले सुरु गरेका थिए। देशमा विध्न बाधा नआओस्, शान्ति सुव्यवस्था कायम होस् भन्ने हेतुले सिद्धिनरसिंहले नाच सुरु गरेका थिए।

नाचको ऐतिहासिकताबारे अध्यक्ष चित्रकार भने, ‘नाच सुरु हुनुअघि ललितपुरका बासिन्दा जोशजाँगरहीन भएपछि राजा सिद्धिनरसिंह मल्लले ज्योतिषीसँग सल्लाह लिँदा राज्यमा ‘मघाह’ दोष परेको थियो। त्यसपछि राज्य सञ्चालनसमेत कठिन भएको थियो। दोष निवारण गर्न ज्योतिषले नरबली दिन सुझाए। त्यसै बमोजिम राजाले नरबली दिएपछि ललितपुरवासी जोशिला भएको किंवदन्ती छ। पछि सिद्धिनरसिंहले नरबली अनुचित ठहर गर्दै मुकुट र हिरण्यपात्र बनाइ कात्तिक नाच सुरु गरे।’

कात्तिक नाचमा सुरदास, कौला खिचा, उषाहरण लीला, वाणासुरको कथा उषाहरण लीलाअन्तर्गतकै उषा र अनिरुद्धको शृंगार प्रसंग, उषाहरण लीलाअन्तर्गत देवी प्याखँ, युद्ध कला, वाणासुर र सहस्रभुज त्वाल्हाइगु, जलशयन, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीलालगायत धेरै ऐतिहासिक नाच समेटिएका छन्। ६÷६ वर्षमा नाचलाई नगर परिक्रमा गराउने परम्परा छ। गत वर्ष समितिले भदौ १५ गते मंगलबजार क्षेत्र परिक्रमा गराएको थियो। यो वर्ष १२ वटा नाचमा २ सय ५० जना कलाकारले अभिनय गर्दैछन्।

ललितपुर महानगरपालिकाका मेयर चिरिबावु महर्जनले यसपाली सिधै रकम थप्ने दरबन्दी नमिलेका कारण अन्य खर्च शीर्षकमा सहयोग गर्ने बताए। ‘अघिल्ला वर्ष महानगरले दुई लाख सहयोग गर्दै आएको थियो। यो वर्ष हामीले २ लाख थपिदिएका छौं,’ उनले भने, ‘जात्रा पर्वहरुमा हामीले बढी चासो दिएका छौं। अर्को वर्षदेखि थप व्यवस्थित पार्छौं।’

प्रकाशित: ९ आश्विन २०७६ ००:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App