coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मदिरा पिउनेहरु होसियार, ‘पिसाबथैली फुट्नसक्छ’

आफ्नो केसस्टडीको पेपर प्रस्तुतीबारे निमित्त उपकुलपतिलाई जानकारी गराउँदै सहायक अस्पताल निर्देशक डा.साह । तस्बिरः नागरिक

धरान– सामान्यतया मदिरा (रक्सी)को लत लागेकाहरुलाई कलेजोमा समस्या हुन्छ। लामो समय रक्सी पिउनेहरुको कलेजो ड्यामेज भएर मृत्युसमेत हुने गरेको छ। तर, लत लागेको होस वा कहिले कहीा मात्र मदिरा पिउने होस्, थाहा नपाई पिसाब थैली फुटेर पनि मृत्यु हुनसक्छ।

एक महिनाअघि एक २४ वर्षीय युवकको पिसाब थैली फुटेर मृत्यु भएको हो। ती युवामा सधै मदिरा पिउने लत थिएन। तर उनी दिउँसो निक्कै मदिरा पिएका थिए। मदिरा पिउनेहरुले पानी धेरै पिएका हुन्छन्। राती सुत्ने बेला हुलुका पेट दुखेपनि उनले वास्ता गरेका थिएनन्। बिहान ४ बजेतिर प्यास लागेपछि पानी पिएका थिए। त्यसपछि एक्कासी बेहोस भएका ती युवकको पछि पोष्टमार्टमबाट पिसाब थैली फुटेर मृत्यु भएको खुल्यो। ‘रक्सी पिउनेहरुको मृत्यु यसरी पनि हुनसक्छ, त्यसैले सबैले होस पुर्याउनुपर्छ,’ यो घटनाको केसस्टडी रिपोर्ट तयार गरेका प्रतिष्ठानका सहायक निर्देशक डा.विकास साहले भने,‘थैलो फुटेको केही घण्टा वा दिनसम्म पनि थाहा नहुनसक्छ, तर यसरी फुटेको मानिसको ४७ प्रतिशत मानिसको मृत्यु नै हुन्छ।’

डा.साहका अनुसार रक्सी पिउनेहरुले धेरै पानी पिएका हुन्छन्। त्यस अवस्थामा पिसाब धेरै लाग्नुपर्ने हो। तर, यो घटनामा ती व्यक्तिलाई पिसाब नलागेको र थैली फुटेको अनौठो घटना भएको हो। उनले यो केसस्टडीको पेपर प्रस्तुती बुधबारदेखि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु भएको २६ औं स्वास्थ्य विज्ञान सम्मेलनको पहिलो दिन प्रस्तुत गरेका छन्। फरेन्सिक विभागका एसोसिएट प्रोफेसर डा.साहले रक्सी पिउने व्यक्तिको पिसाबथैली फुटेर मृत्यु भएको घटना एकदमै कम हुने बताए। ‘१५, २० वर्षसम्म धेरै रक्सी पिउनेहरुको कलेजो बिग्रने, मृत्यु हुने सामान्य हो, तर २४ वर्षकै उमेरमा त्यस्तो हुदैन,’उनले भने, ‘कहिले कही पिउनेलाई वमिट भएर श्वासनलीमा खानेकुरा गएर अड्किने र सास रोकिएर मृत्यु हुने पनि हुन्छ। यसखालको घटना एकदमै कम हुन्छ। त्यसैले रक्सी सकेसम्म नपिउँ, पिउँदा पनि ख्याल गरौं।’

डा. साहले जस्तै बुधबार विभिन्न बिषयमा प्रतिष्ठानका चिकित्सक, नर्स र विद्यार्थीहरुले शोध तथा अनुसन्धानपत्र प्रस्तुत गरेका छन्। सम्मेलनका संयोजक तथा बालरोग विभाग प्रमुख डा.प्रकाश पौडेलका अनुसार पहिलो दिन कुल ८० वटा अनुसन्धानपत्र प्रस्तुत गरिएको छ। ‘४० वटा ओरल र ४० वटा पेपर प्रेजेन्टेशन भएको छ। यी अनुसन्धानले केही नयाँ कुरा पत्ता लगाएको हुन्छ, त्यसले उपचार र रोकथाममा सहयोगी हुन्छ,’संयोजक डा.पौडेलले भने, ‘हामीले अपनाइरहेको उपचारको विधि, पद्दतीमा सुधार गर्न मात्र होइन, सरकारको स्वास्थ्य नीतिमा सुधार गर्नुपर्ने छ भने पनि यी अनुसन्धान पत्रहरुले मार्गनिर्देश गर्छ।’

बुधबार सम्मेलनको उद्घाटन प्रतिष्ठानका निमित्त उपकुलपति डा.गुरु खनालले गरेका थिए। हरेक वर्ष वार्षिकोत्सवको अवसरमा हुने यो सम्मेलनमा प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र नर्सहरुले गरेको शोध तथा अनुसन्धान पत्र प्रस्तुत गर्ने गरिन्छ। यसपटक तीन दिनसम्म कुल २ सय १० वटा शोध तथा अनुसन्धान पत्रहरु प्रस्तुत हुने र छलफल गर्ने आयोजकले जनाएको छ। यसपाली प्रतिष्ठानको बालरोग विभागले सम्मेलन आयोजनाको जिम्मा पाएको छ।

विपी प्रतिष्ठान विरामीको उपचार गर्ने अस्पताल मात्र नभएर दक्ष जनशक्ति उत्पादन गर्ने पनि थलो हो। साथै, यहाँ निरन्तर स्वास्थ्य अनुसन्धान पनि भइरहेको हुन्छ। वीपी प्रतिष्ठान नेपालकै सबैभन्दा धेरै शोध तथा अनुसन्धानहरु हुने संस्था हो। ‘हाम्रो संस्थाको मिसननै उपचार, पठनपाठन र अनुसन्धान हो, उद्देश्य अनुसारकै काम भइरहेको छ,’ निमित्त उपकुलपति डा.खनालले भने, ‘यी अनुसन्धानहरुले उपचार पद्दतीमा नयाँ आविष्कार गर्छ। संसारमा नभएको कुरा पत्ता लाग्नसक्छ, र उपचार पद्दती नै परिवर्तन गर्छ।’

वर्षेनी हुने यस्ता अनुसन्धानहरु प्रतिष्ठानको इन्स्टिच्युशनल इथिकल कमिटीबाट प्रस्ताव स्वीकृत भएपछि मात्र गर्न पाइन्छ। तीन दिनसम्म प्रस्तुत हुने शोध तथा अनुसन्धान पत्रहरुमध्येबाट उत्कृष्टलाई छनौट गरेर पुरस्कृत गर्ने आयोजक बालरोग विभागका एसिस्टेण्ट प्रोफेसर डा.शंकर यादवले जानकारी दिए। उनका अनुसार शोध तथा अनुसन्धान पत्रहरु प्रतिष्ठानमा भएको र इटहरी, इलाम, जनकपुरलगायत ठाउँमा पनि गरिएका छन्।

प्रकाशित: ८ आश्विन २०७६ १४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App