८ वैशाख २०८१ शनिबार
खेल

टाइब्रेकरमा एपिएफको यात्रा

झापा- पहिलो खेल टाइब्रेकरमै जितेको एपिएफ क्लबले सहारा सुरुङ्गा गोल्डकप फुटबलको फाइनल यात्रा पनि टाइब्रेकरबाटै निश्चित गरेको छ। विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबविरुद्ध बुधबार सशस्त्र प्रहरीको एपिएफ क्लब टाइब्रेकरमा ५–४ ले विजयी भयो।

निर्धारित समयको खेल गोलरहित भएपछि निर्णयका लागि सोझै पेनाल्टी सुटआउटको सहारा लिइएको थियो।

एपिएफले पहिलो खेलमा घरेलु टोली रमपम झापा–११ लाई टाइब्रेकरमै  हराएको हो। झापाका देवेन्द्र तामाङको  पेनाल्टी प्रहार पोस्ट बाहिर जाँदा सेमिफाइनल पुगेको एपिएफका लागि बुधबार पुलिसका बुद्ध लामाको पेनाल्टी पोस्ट बाहिरिँदा भाग्य खुल्यो। 

एपिएफबाट पेनाल्टी हानेका सबैले गोलमा परिणत गरेका थिए। नवीन लामा, आदित्य चौधरी, मिलन राई, पाल्साङ लामा र रञ्जन विष्टले गोल गरे। पुलिसका विक्रम धिमाल, दिनेश गुरुङ, तेज तामाङ र दिनेश राजवंशी  मात्रै गोल गर्न सफल भए।

एपिएफले बिहीबार हुने दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

बिहीबार रुपन्देही–११ र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीबीच खेल हुनेछ। विजेताले ३ लाख ५१ हजार १ सय ११ र उपविजेताले २ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार जित्ने छन्। 

कुनै बेला नेपाली फुटबलको शक्तिशाली टोली मानिने नेपाल पुलिसले केही वर्षदेखि गुमाएको लय झापामा प्राप्त गर्ने सम्भावना पहिलो खेलमा देखाएको थियो। तर,  पुलिस यो सिजनमा समेत फाइनल पुग्न असफल भयो। खेल अवधिभर एपिएफले पुलिसमाथि निरन्तर दबाब सिर्जना गरेको थियो। पुलिसले सुरुदेखि अन्तिमसम्मै रक्षात्मक भएर खेल्यो।

खेलको पाँचौं मिनेटमै एपिएफका नवीन लामाले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले उत्कृष्ट बचाउ गरे।सुरुआतमै आक्रामक खेल खेलेको एपिएफले आठौं मिनेटभित्रै चार सशक्त प्रहार गरेको भए पनि गोलमा परिणत हुन सकेन। अन्जन विष्ट, रञ्जन विष्ट र राजेन्द्र रावलको प्रहारले गोल गर्न चुकेका थिए। २२ औं मिनेटमा अन्जनको प्रहार पोस्ट माथिबाट बाहिरिएको थियो।

दोस्रो हाफको ४९ औं मिनेटमा एपिएफका डिफेन्डर रमेश दंगालले गरेको हेड पनि पोस्ट नजिकैबाट बाहिरिएको थियो। लगातार आक्रमण गरेको एपिएफको तुलनामा नेपाल पुलिसले भने आक्रमणको अवसर थोरै नै पायो। खेलको ३१ औं मिनेटमा पुलिसका रवि पासवानले गरेको प्रहार गोलरक्षक अमृत चौधरीले रोकेका थिए।

खेलको म्यान अफ दी म्याच एपिएफका राजेन्द्र रावल भए। उनले बिर्तामोडको ग्रिसा एन्ड इन्टरप्राइजेजको तर्फबाट मोबाइल पाए।

पेनाल्टीमार्फत पहिलो गोल गर्ने पुलिसका विक्रम धिमाललाई व्यवसायी एसपी प्रसाईंले २ हजार प्रदान गरे। खेलमा रेफ्री नवीन्द्र महर्जनले ७ खेलाडीलाई पहेँलो कार्ड देखाए। उनले अघिल्लो खेलमा पनि ७ खेलाडीलाई नै पहेँलो कार्ड देखाएका थिए।

प्रकाशित: ९ मंसिर २०७३ ०३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App