७ वैशाख २०८१ शुक्रबार
कला

डेढ सय वर्ष पुराना स्केच

काठमाडौं- कुनैबेला राजमानसिंह चित्रकार नामको कलाकार छन् कि छैनन् भन्ने कुराको ठूलै बहस कलाक्षेत्रमा चल्यो। ‘मैले उतिबेला उनका बारेमा बोल्दा त मलाई बौलाहा नै भने,' कलाकार मदन चित्रकारले सम्झे, ‘तर अन्तर्राष्ट्रिय जगतमा चर्चा कमाएका पहिलो नेपाली चित्रकार राजमान नै हुन्।' 
उतिबेला अब्बल कला कोरे पनि राजमान आफ्नैको भने कुनै फोटो भेटिएनन्। उनी नेपालका कलाकार हुन् भनेपछि पुस्तैनी खोजी गर्दै जाँदा उनका छोरानाति खलकका अनुहार हेरेर दुरुस्तै राजमान सिंहको चित्र मदन चित्रकारले उतारे। 
‘म त छक्कै परेँ, ठ्याक्कै मेरै बुबाको जस्तैजस्तै थियो त्यो फोटोचित्र,' राजमानका जनाति पुष्पसिंह चित्रकारले भने, ‘मैले नदेखे पनि हाम्रा पुर्खाको अनुहार त्यस्तै थियो होला।' जुगल सिंहका राजमान सिंह र शिव सिंह दुई छोरा थिए। राजमानको आफ्नै परिवारको भने अझै पत्ता लाग्न बाँकी छ। उनका भाइ शिव सिंहतर्फका मान सिंह र हनुमन्ते सिंह, हनुमन्तेका न्हुच्छेबहादुर, जीतनर सिंह र हर्षबहादुर अनि जीतनर सिंहका हिराबहादुर, रत्नबहादुर र धर्मबहादुर छोराहरु थिए। हिराबहादुरतर्फका पाँच भाइमध्ये कान्छा हुन् पुष्पसिंह चित्रकार। 

मदन चित्रकारले वंशजका फोटो हेरेर कल्पना गरेर बनाएको त्यही फोटो सन् २०१२ को हुलाक टिकटमा राखेर सरकारले सम्मान दियो। नेपाल सरकारले राजमानसिंह नेपालका एक विभूति भएको स्विकार गरेपछि थप चासो बढ्यो। त्यसपछि भने उनका बारेमा थप खोजबिन चलिरहे। उनै राजमान सिंह चित्रकारले उतिबेला बनाएका स्केच चित्रका प्रिन्टहरुको प्रदर्शनी अहिले तारागाउँ म्युजियममा मंगलबार सुरु भएको छ। 
उनी न कुनै दक्ष आर्किटेक्ट नै थिए। न त आधुनिक शिक्षा र कला सिकेका दिग्गज। तर राजमानले बनाएका रेखाचित्रहरु निकै वैज्ञानिक ढंगले कोरिएको बेलायती नागरिक निल गुच्चाले बताए। ‘एक सय पचास वर्षअघि बनाएका भए पनि अहिलेका कलाकारले बनाउनेभन्दा अब्बल छन् चित्रहरु,' उनले भने, ‘सन १९९१ मा नै राजमानका बारेमा पाँचवटा लेख छापिएका थिए।' उनकै पहलमा ब्रिटिस लाइब्रेरीबाट ल्याइएको राजमानको एउटा पुरानो चित्र तारागाउँ म्युजियमका लागि निल गुच्चाले उपहार स्वरुप प्रदान गरे। 
बेलायती नागरिक ब्रायन हड्सन नेपालको आवासीय प्रतिनिधिका रुपमा सन् १८२० मा नेपाल आएपछि नै उनको भेट राजमानसँग भयो। नेपालमा २३ वर्ष आफ्नो राज्यको तर्फबाट सेवा गरेपछि रिटायर्ड भएका उनले यहाँका कला संस्कृतिमा चाख दिए, जसलाई अन्तर्राष्ट्रिय जगतमा पुर्यााउन उनले राजमान सिंहलगायत नेपाली कलाकारलाई चित्र उतार्न लगाए।
हड्सन कालखण्डमा सिंहसहितका नेपाली कलाकारले बनाएका एक हजारवटा चित्र पेरिसको म्युजियम ग्युमेट संग्रहालयमा संग्रहित छन्। राजमान सिंहका ४२ वटा चराका चित्र नेपालको राष्ट्रिय संग्रहालय छाउनीमा समेत छन्। उनका चित्रहरु त्यतिबेलाको वातावरण र प्रकृति झल्काउन सफल छन्। नेपाली संस्कार र जनजीवन झल्काउने चित्रहरुले उतिबेलाको काठमाडौं खाल्डोको जीवनपद्धति समेत छर्लंग बनाउँछ। 
भक्तपुरको न्यातपोल, दत्तात्रय मन्दिर, पाटनको इच्छानारायण मन्दिर, बौद्ध गुम्बा र चैत्यहरु तथा काठमाडौंको स्थानीय जनजीवन झल्किने पुराना चित्रका स्केच प्रदर्शनीमा राखिएका छन्। तारागाउँ म्युजियम, मदन पुरस्कार पुस्तकालय र सर्राफ फाउन्डेसनको संयुक्त आयोजनामा प्रदर्शनी आयोजना गरिएको हो। 
प्रदर्शनीमा चित्रकारले सन् १८४४ मा बनाएका ४३ वटा स्केच रहेको मदन पुरस्कार पुस्तकालयका समिप मिश्रले जानकारी दिए। प्रदर्शनी पुस १ गतेसम्म चल्नेछ ।

प्रकाशित: ९ मंसिर २०७३ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App