coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सरकारी गाडीमा खसीबोका बोक्नेलाई कारवाही

दसैंमा यातायात व्यवस्थापन र सुरक्षा सम्बन्धि छलफल कार्यक्रमका सहभागीहरु । तस्बिरः अनिल/नागरिक

सिन्धुली– दसैं विदामा बिनाअनुमती सरकारी सवारी प्रयोग गर्नेलाई जिल्ला प्रहरी कार्यालयले कारवाही गर्ने भएको छ। दसैंको समयमा यात्रुहरुको चाप बढ्ने भएकाले यातायात व्यवस्थापन र सुरक्षा चुनौतीलाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रहरीले दसंैको समयमा जथाभावी सरकारी सवारी प्रयोग गर्नेलाई कारवाही गर्ने जानकारी दिइएको हो।

जिल्ला प्रशासनको अनुमतीबिना विदाको समयमा सरकारी गाडी प्रयोग गर्न दिदैंनौ, बाहिरी जिल्लाबाट विपी राजमार्ग हुँदै सरकारी सवारीलाई प्रयोग गरेको देखिएपनि कारवाही गर्छौ, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भने, ‘सरकारी सवारीको पछाडी खसीबोका बोक्न पुर्ण बन्देज लगाएका छौं। पछिल्लो समय कर्मचारी तथा जनप्रतिनिधिले सरकारी सवारीको चरम दुरुपयोग गरेको गुनासो बढिरहेको समयमा दसैं विदामा जिल्ला प्रशासनको अनुमती लिई सरकारी कामबाहेक अन्य काममा सरकारी सवारी प्रयोग गर्न निषेध गरेको सुरक्षा समितिले जनाएको छ।

प्रहरीले सवारी जुन प्रयोजनका लागि हो, सोही अनुसार प्रयोग गर्न समेत आग्रह गरेको छ। दसैंको समयमा बसको छतभरी खसीबोका जस्ता चौपाया बोक्ने गरिएको पाइएको छ, यो दसैंमा त्यस्तो गरेको पाइएमा कारवाही हुन्छ, जिल्ला ट्राफिक प्रहरी प्रमुख विष्णु बस्नेतले भने, यात्रुवाहक बसले समेत आफ्नो सिट क्षमता यात्रुहरुले प्रष्ट देख्नेगरि टास गर्नुपर्नेछ। विपी राजमार्गमा ३२ सिट क्षमता भन्दाबढी लामो बस व्यवसायीले नल्याउन आग्रह गर्दै उनले दसैंको समयमा यात्रुहरु ठगिने गुनासो वर्षेनी आएकाले भाडा लिष्ट यात्रुहरुले प्रष्ट देखिने गरि टास गर्नुपर्ने जनाए। विपी राजमार्ग हुँदै पुर्वी तराईका विभिन्न जिल्लामा लामो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारीले अनिवार्य दुई जना चालक राखेर दुर्घटना न्युनिकरण गर्न सघाउन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रबहादुर सिंहले आग्रह गरे।

बसको छतमा खसीबोका राख्न नदिने प्रहरीको निर्णय राम्रो भएपनि घरायसी प्रयोजनका लागि र चाडपर्व मनाउनका लागि लगिने एक दुई वटा खसीबोका लैजान छुट्टै गाडी प्रयोग गर्न नसकिने कमलामाई नगरपालिका–४ का वडाध्यक्ष महेन्द्र ढकालले बताए। व्यापारिक प्रयोजनका लागि लगिने खसीबोका बसमा राख्न दिनुहुँदैन, तर व्यक्तिले दसैं मनाउनका लागि लैजाने खसी बोकालाई रोक्न असान्दर्भिक हुन्छ, उनले भने। दसैंमा यात्रुको चापलाई हेरेर कमाउने उदेश्यले यात्रु तानातान गरि बिनाटिकट यात्रुलाई दुःख दिए, दसैंभर त्यस्ता व्यक्तिलाई हिरासतमै राखिने प्रहरीको चेनावनी छ। चाडपर्वमा गाडीको कन्डिसन हेरेर मात्रै चलाउनसमेत प्रहरीको अनुरोध छ।

ग्रामिण क्षेत्रमा चल्ने सवारीले यात्रु क्षमता भन्दा बढी बोक्ने भएकाले दुर्घटनाको जोखिम रहेकाले त्यसलाई न्युनिकरण गर्न सबै पक्ष लाग्नुपर्ने प्रहरी प्रमुख चक्रबहादुर सिंहको भनाइ छ। यातायात व्यवसायी कान्छामान बलले नीजि प्रयोजनका लागि खरिद गरेका गाडीले यात्रु बोक्ने र दुर्घटना बढाउने भएकाले त्यस्ता सवारी नियन्त्रण गरि सार्वजनिक सवारीलाई यात्रु बोक्न सहजता बनाउनुपर्ने माग गरे।

प्रकाशित: ८ आश्विन २०७६ ११:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App