७ वैशाख २०८१ शुक्रबार
अन्य

अखण्ड नेपाल, समृद्ध देश : रामदेव

वीरगन्ज- योगगुरु स्वामी रामदेवले अखण्ड नेपाललाई समृद्ध बनाउने प्रशस्त सम्भावना भएको बताएका छन्। आचार्य बालकृष्णसँग बुधबार साँझ वीरगन्ज आइपुगेका स्वामी रामदेवले नेपालमा २० वर्ष अगाडि पाइला टेकेदेखि यस पवित्र भूमिसँग आफूलाई प्रेम भएको बताए। उनले नेपाल मूलतः आध्यात्मिक मुलुक भएकाले यसको यही पहिचानलाई संविधानको पहिलो परिच्छेदमै स्थापित गर्न आग्रह गरे।

बिहीबारदेखि १३ गतेसम्म वीरगन्जको आदर्शनगर रंगशालामा आयोजित हुने 'योगविज्ञान शिविर' का लागि स्वामी रामदेव र आचार्य बालकृष्ण यहाँ आएका हुन्। स्वामी रामदेवले भने, 'यहाँको आर्थिक समृद्धि सबभन्दा बढी महŒवपूर्ण विषय भएको मैले ठानेको छु, त्यसपछि नेपालले आफ्नो आध्यात्मिक विरासतलाई निरन्तरता दिनुपर्ने हुन्छ।'

नेपालमा एक खर्ब रुपैयाँसम्म लगानी गर्ने योजना बनाएको उनले बताए। 'सुरुमा एक खर्ब र १० खर्बसम्मका योजना मैले सोचेको छुँ,' उनले भने, 'यहाँबाट आउने नाफा नेपालमै सदुपयोग गर्ने र त्यो पैसा आधारभूतदेखि उच्च शिक्षाका क्षेत्रमा खर्च गर्ने हाम्रो प्रतिबद्धता छ।' उनले नेपालमा विश्वविद्यालय र प्राज्ञिक अनुसन्धान संस्था स्थापनाको सपना देखेको बताए। नेपालीलाई ऊर्जावान्, प्रतिभावान् र इमानदार भनेर उनले प्रशंसा गरे।

आचार्य बालकृष्णले नेपालको सेवा गर्ने आफूहरूको अभिलाषा रहेको बताए। पतञ्जली नेपालका संयोजक उपेन्द्र महतोले 'योग गरौं निरोगी बनौं, स्वस्थ नेपाल समृद्ध नेपाल' नारासाथ वीरगन्जमा शिविर गर्न लागिएको बताए। शिविरको तयारी सकिएको आयोजक समितिका संयोजक विजय सरावगीले बताए।

यसअघि काठमाडौंमा योगगुरु रामदेवले मोर्डन इन्डियन स्कुलका विद्यार्थीसँगको अन्तर्क्रियामा सफल व्यक्ति बन्न इमानदारीसाथ मेहनत गर्नुपर्ने बताए। उक्त स्कुलको नयाँ भवन उद्घाटनपछि उनले बालबालिकासँग भने, 'तिमीहरूलाई जीवनमा सफल व्यक्ति बन्नु छ भने आजैबाट इमानदारीसाथ मेहनत गर्न सुरु गर, सफलता तिम्रो अगाडि हुन्छ।' उनले योगबारे सिकाउँदै भने, 'स्वस्थ्य शरीर योगले हुन्छ र शरीर स्वस्थ भए मात्र मेहनत हुन्छ अनि सफलता त आफैं आउँछ।'

आफू गरिब परिवारमा जन्मेर सरकारी स्कुल पढेको विगत सुनाउँदै उनले सरकारी शिक्षाले बाल्य अवस्थादेखि नै संघर्ष गर्न सिकाउने बताए। यही संघर्षले पछि जीवनमा 'रोलमोडल' बन्न प्रेरणा दिने उनको भनाइ थियो।

उनले विद्यार्थीलाई केही बेर कपालभाती र अनुलोम विलोम गारएका थिए। सो स्कुलमा कक्षा १२ अध्ययनरत अवस्मा श्रेष्ठले बाबा रामदेवको वचनले मेेहनत गर्न हौसला दिएको बताइन्। उनले भनिन्, 'अब हामी नयाँ ऊर्जासाथ अध्ययन गर्नुका साथै क्षमताअनुसारको सिर्जनात्मक कार्यमा समेत लाग्नेछौं।'

स्कुलका प्रिन्सिपल राजु पिटरले विद्यालयले स्थापना कालदेखि नै शिक्षा क्षेत्रमा उत्कृष्ट भूमिका निर्वाह गर्दै आएको बताए। विद्यालयले नेपाली र भारतीय दुवै समाजसँग सहकार्य गर्दै शिक्षा क्षेत्रको उन्नतिका लागि नियमित काम गर्दै आएको उनको भनाइ थियो।

भारतीय राजदूत रन्जित रेले स्वामी रामदेवको प्रेरणादायी वचनले बालबालिकाको मस्तिष्कमा सकारात्मक प्रभाव परेको भन्दै खुसी व्यक्त गरे। बाबाको नेपालमा उपस्थितिले नेपाल र भारत दुवै देशको सोहार्द्र सम्बन्धलाई प्रतिबिम्बित गरेको बताए। 'बाबाको नेपालमा पतञ्जली योगपीठ स्थापनाले नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई दर्साउँछ', राजदूत रेले भने, 'हाम्रो संस्कृति हाम्रो पहिचान भएकाले जुनसुकै अवस्थामा पनि यसलाई आत्मसात गरी अघि बढ्नुपर्छ।' कार्यक्रममा गैरआवासीय नेपाली उपेन्द्र महतो र विद्यालयको विकासमा भूमिका निर्वाह गर्ने राधेश्याम सर्राफ, मसकुर एहमद लारी, सरदार प्रितम सिंहलगायत सहभागी थिए।

प्रकाशित: ९ मंसिर २०७३ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App