coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कालोपत्रेले जामैजाम

कालोपत्रेले नौबिसे–नागढुङगामा परेको जाम। तस्बिरः सरिता/नागरिक

धादिङ- ‘झन्डै ५ घण्टा जाममा बसेपछि थाहा पो, थानकोट–नौबिसे खण्डमा सडक टालटुल हुँदै रहेछ। सवारीको अति लामो लस्कर छ। त्यसमा कति विरामी छन्, कसैका अति जरुरी काम होलान्। कोहि अर्को यात्रामा जानू होला। यो सडक टालटुलको काम यात्रुलाई सकसमा नपारी गर्न सकिन्न होला?’ नौबिसे–नागढुङगा सडकखण्डमा कालोपत्रेले सवारी जाम परेपछि सामाजिक सञ्जालमा धादिङका विजयकुमार केसीले गरेको दुःखेसो हो यो।

खाल्डाखुल्डी परेको नौबिसे–नागढुङगा सडकखण्डका ठाउँठाउँमा कालोपत्रे गर्ने काम भइरहेको छ। चाडपर्वको समयमा अत्याधिक सवारी चाप बढ्ने र मानिसहरुको आवतजावत पनि बढी हुने भएका कारण सवारी जाम बढेको छ। काम विशेष र चाडपर्वमा घर निस्केकाहरु यसरी लामो जाममा बस्नुपरेपछि सामाजिक सञ्जालमार्फत अधिकांशले दुःखेसो पोख्ने गरेका छन्। हतारमा देखासिखीका लागि गरेको कालोपत्रेले जनतालाई सास्ती दिएको यात्रुहरुले गुनासो गरेका छन्।

सवारी चाप बढी हुने नौबिसे–नागढुङगा सडकखण्डमा सडक स्तरोन्नती तथा कालोपत्रेले जाम बढाएको छ। सो सवारी साधनको मुख्य चाप हुने समयमा सडक कालोपत्रे (पिच) गरिँदा थानकोटदेखि नौबिसेसम्मका सडकमा लामो जाम भएको छ। मुख्य सवारी चाप हुने समयमा सडक बन्द गरेर कालोपत्रे गरिँदा यात्रुहरुको बिजोग भएको यात्रुहरुले गुनासो गरेका छन्। दशैंअघि नै सक्ने गरी काठमाडौंको मुख्य नाका नागढुङगामा सुधारको काम थालिएको छ। यसका कारण यात्रुलाई जाममा बस्नुपर्दा भने निकै सास्ती भएको छ।

गत शुक्रबारदेखि थालनी गरिएको सडक मर्मतले धादिङतर्फ ३० किलोमिटरसम्म सवारी जाम हुने गरेको छ। साँधुरो सडक र बढी मोड भएका कारण एकतर्फि रुपमा मात्रै सवारी आवागमन गर्नु पर्ने भएका कारण सवारी जाम नौबिसे क्रस गर्ने इलाका प्रहरी कार्यालय खानीखोला इन्पेक्टर रुकबहादुर खड्काले बताए। ‘सडक विभागले अत्याधिक जाम हुने समयमा कालोपत्रेको काम गरिदिदाँ सवारी व्यवस्थापनमा गाह्रो हुने गरेको छ’, उनले भने, ‘जसका कारण गन्तव्यमा हिडेका यात्रुहरु बीचबाटोमै अलपत्र पर्ने गर्छन्।’

सडक विभागले बिहान १० बजेदेखि कालोपत्रेको काम सुरु गर्ने गरेका छन्। टाढाबाट आएका रात्रीबसहरु यहि समयमा काठमाडौँ प्रवेश गर्ने गर्छन्। जसका कारण सवारीको लाम लाग्ने गर्छन्। मंगलबार धार्केबजारसम्म पुगेको सवारीजाम बुधबार बिहानसम्म पनि खुलेको थिएन। यात्रुहरुको गुनासो र प्रहरीलाई सवारी व्यवस्थापनमा हम्मे भएपछि बुधबार कालोपत्रे नगर्न प्रहरीले अनुरोध गरेको छ।

एकातिर सडक विभागलाई सवारी चाप नहुने समयमा कालोपत्रेको काम गर्न अनुरोध गरेपनि ठेकेदारले अटेर गरेका छन्। अर्कोतिर खाल्डाखुल्डी भएको उकालो र साँघुरो बाटो, घुमाउरा मोड, अत्यधिक भार बोकेका गाडी र लेन अनुशासन मिच्ने प्रवृत्तिले पनि सडक जाम हुने गरेको छ। केही कारणले १० मिनेट मात्रै सडक अवरुद्ध भए यस सडकखण्डमा सयैँ सवारीसाधन लाम लाग्ने गर्दछन्। यसरी घण्टौँ अवरुद्ध हुदाँ यात्रुहरुले सास्ती भोग्नुपरेको छ।

दसैं–तिहार नजिकिँदै आएपछि राजधानी छिर्ने मालवाहक सवारी साधन र अन्य गाडीहरुको चाप यसै पनि बढ्छ। दसैं–तिहारमा दैनिक १२ हजारदेखि १८ हजार सवारीसाधन र मालवाहक गाडी राजधानी भित्रिन्छन्। दैनिक १८ हजार बढी सानाठूला सवारीसाधन राजधानीबाट बाहिरिन्छन्। तीमध्ये ७ सयभन्दा बढी १८ देखि २२ चक्केसम्मका भारतीय मालवाहक गाडी हुन्छन्। यसरी चाडपर्वलाई ल्याइएका सामग्रीहरु समयमै गन्तव्यमा नपुग्दा व्यापारीहरुले पनि घाटा व्यहोर्नु परेको छ।

सडक खाल्डाखुल्डी भएपछि नौबिसे–नागढुंगा खण्डको १५ किलोमिटर मर्मतको जिम्मा पाएको चितवनस्थित जीएमआर कन्स्ट्रक्सनले कालोपत्रेको काम थालेपछि जाम सुरु हुन भएको हो। चितवनस्थित सडक डिभिजन कार्यालयका प्रमुख कृष्ण अधिकारीले यात्रुलाई असर नपर्ने गरी मर्मत थालिएको बताए। गत असारभित्र सक्नुपर्ने नौबिसे–नागढुंगा सडक मर्मत काम सकाउनुपर्ने भएपनि मर्मत नसकिएकाले हतार–हतारमा टालटुल गर्न थालिएको हो।

वर्षात नभए बिहिबारसम्म मर्मत सकिने निर्माण कम्पनीले बताएको छ। छिटो छिटो काम सके यात्रुहरुलाई सुरक्षित रुपमा गन्तव्यमा जान पनि सहज हुनेछ। काठमाडौंबाट बाहिरिने र त्यहाँ छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड मर्मत धेरै दिन टिक्दैन। सवारी चापले मर्मत गरेको महिना दिनमै सडक जीर्ण हुन थाल्छ। अत्यधिक भार बोकेका सवारीसाधनले काठमाडौँ प्रवेशको देब्रेलेन बिगारेर खाल्डाखुल्डी बनाउने गर्छ।

प्रकाशित: ८ आश्विन २०७६ ०७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App