७ वैशाख २०८१ शुक्रबार
प्रवास

समृद्ध नेपाल निर्माणबारे वर्षमान र कुलमानसँग जापानमा साक्षात्कार

जापान- जापान सरकारको निमन्त्रणामा टोकियो आएका ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग जापानवासी नेपालीहरुले प्रत्यक्ष अन्तरक्रिया गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को  जापानस्थित भातृ संगठन प्रवासी नेपाली एकता मञ्च जापानले मंगलबार टोकियोमा आयोजना गरेको 'समृद्ध नेपाल निर्माणमा उर्जाको महत्व र प्रवासी नेपालीको भूमिका' विषयक अन्तरक्रियात्मक कार्यक्रममा जापानीवासी नेपालीहरूले प्रत्यक्ष साक्षात्कार गरेका हुन्।

कार्यक्रममा बोल्दै मन्त्री पुनले सरकार समृद्धीको यात्रामा रहेको बताउँदै सरकारको यात्रामा सहकार्य गर्न जापानवासी नेपालीलाई आग्रह गरे। उनले समृद्धिको नारालाई यथार्थमा परिणत गर्न सरकारले सुशासन, गरिवी निवारण र उद्यमशिलतालाई प्राथामिकतामा राखेर काम गरेको पनि दावी गरे।

कार्यक्रमकै प्रमुख आकर्षण तथा उज्यालो नेपालका नायक बनेका नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले नेतृत्व आफ्नो भएपनि समग्र प्राधिकरण कर्मचारीहरुको टिमवर्कका कारण नेपालमा विद्युत् लोडसेडिङ युग अन्त्य भएको बताए।

प्राधिकरणले गरेका सुधारका कामलाई प्राधिकरणबाट हटाईएका पूर्वकार्यकारी प्रमुखसहितका कर्मचारी संगठनहरुलेनै सुरुवाती दिनमा अविश्वास र असहयोग गरको बताउँदै कसैले नसोचेको सुधारसहित प्राधिकरण नाफा उन्मुख भएको बताए।

कार्यक्रममा घिसिङले प्राधिकरण आगामी वर्षबाट कुल नाफामा गएर नेपाल विद्युत् निर्यात गर्ने मुलुकमा पर्ने दाबीसमेत गरे। निर्धारित समय भन्दा दुईघण्टा ढिलो सुरु भएको कार्यक्रम व्यवस्थापकीय त्रुटिका कारण भने निकै अव्यवस्थित बन्न पुग्यो। सहभागी अधिकाशंले आफ्ना जिज्ञासा राख्न पाएनन् भने राखेकाहरुसमेत बोल्दा बोल्दै समय अभावका कारण रोकिनु परेको थियो।

कार्यक्रमको अन्त्यमा मन्त्री पुनले बोल्दै गर्दा कार्यक्रमस्थलको निर्धारित समय सकिएकाले हलनै छाड्नुपर्ने स्थिति बनेपछि मन्त्रीले आफ्नो मन्तव्य टुन्ग्याउन पर्यो।  एनआरएनए अध्यक्ष भवन भट्ट सहभागी कम्पनीले विद्युत् आयोजनाको क्षमता घटाएर काम गर्न खोजेको भन्ने सहभागीको आरोपलाई भट्टले समय अभावका कारण जवाफ समेत दिन पाएनन्।

मन्त्री पुनले सरकार सम्वृद्धीको यात्रामा अघि बढेकोले ढुक्क भएर जलविद्युतमा लगानी गर्न जापानवासी नेपालीहरुलाई आग्रह गर्दैगर्दा जापानवासी नेपालीहरुले आफ्ना जिज्ञासा र गुनासासँगै भईरहेका राजनीतिक वेथितिका बारेमा आक्रोश पोखेका थिए।

कार्यक्रममा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीसहित एनआरएनए आवद्ध विभिन्न व्यक्ति र संघसंस्थाका प्रतिनिधिहरुसहित करिब २ सय नेपालीको उपस्थित रहेकाे थियाे। चार दिने भ्रमणका लागि आएका मन्त्री पुनले उच्चस्तरीय भेटघाट गरि ऊर्जाकै विषयमा छलफल गर्ने जनाइएको छ।

प्रकाशित: ८ आश्विन २०७६ ०७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App