७ वैशाख २०८१ शुक्रबार
समाज

फास्ट ट्र्याकमा काटिएका रुखको सट्टा नयाँ बिरुवा रोप्दै सेना

बारा - काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणका क्रममा काटिएको रुखहरुको सट्टा नेपाली सेनाले नयाँ बिरुवा रोप्न कार्य सुरु गरेको छ । सेनाले संविधान दिवसको अवसर पारेर नयाँ बिरुवा रोप्न थालेको हो । नेपाली सेना, कोल्हवी नगरपालिका, डिभिजन वन कार्यालयको संयुक्त सहभागितामा कोल्हवी नगरपालिकामा नयाँ बिरुवा रोप्न थालिएको हो ।

फास्ट ट्र्याक निर्माणका क्रममा लगभग १८ हजार रुखहरु काटिएको र दुई हजारजति काटनुपर्ने अवस्था रहेको निर्माणमा खटेका सेनाका अधिकारीले बताएका छन् । काठमाडौं–तराई–मधेस द्रुतमार्ग सडक आयोजना, वृक्षरोपण कार्यदलका प्रमुख नेपाली सेनाका सेनानी सुशीलकुमार कार्कीले काटिएका र अब काटिने रुखको सट्टा पाँच लाख नयाँ बिरुवा रोप्ने कार्य सेनाले शनिबारदेखि सुरु गरेको बताए । नयाँ रुख रोप्न आवश्यक पर्ने तीन सय १५ हेक्टर क्षेत्रफलमध्ये सेनाले एक सय ८८ हेक्टर क्षेत्रफल पहिचान गरिसकेको कार्कीले बताए ।

पहिलो चरणअन्तर्गत कोल्हवी नगरपालिका–८ शान्तिटोलस्थित राष्ट्रिय वन क्षेत्रको खाली रहेको लगभग ६ हेक्टर जग्गामा टिक, सिमला, सिरिश तथा जामुन जातका करिब पाँच हजार नयाँ बिरुवा रोपिएको कार्कीले बताए । नयाँ रोपिएका बिरुवालाई तारबार गरी संरक्षण गरिनेछ ।

फास्ट ट्र्याकमा काटिएको रुखको परिपूर्तिका लागि सेनाले यस वर्ष आफ्नै नर्सरीमा विभिन्न जातका झण्डै डेढ लाख बिरुवा हुर्काएको जानकारी पनि कार्कीले दिए ।

प्रकाशित: ८ आश्विन २०७६ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App