७ वैशाख २०८१ शुक्रबार
अर्थ

दसैंमा छैन तिहारसम्म आउला

काठमाडौं – यस वर्षको दसैं आउन १५ दिनमात्र बाँकी छ। वाणिज्य मन्त्रालयले सोमबार मात्र  खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई १० हजार टनका दरले खरिदको लागि सूचना गरेको छ। यसबाट सहुलियत मूल्यमा सरकारी चिनी उपलब्ध गराउँदै आएका सहुलियत मूल्य पसलमा चिनी अभाव हुने देखिएको छ।

दसैंअघि चिनी आपूर्ति हुनेमा साल्ट ट्रेडिङका अधिकारी नै शंका गर्छन्।  ‘मन्त्रालयबाट आज सूचना पाएका छौं कसरी अगाडि बढ्ने सञ्चालक समितिको बैठकले निर्णय गर्छ,’ साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले सोमबार नागरिकसँग भने ‘शीघ्र खरिद गर्नू भनिएको छ, हामीले विकल्प के हुन सक्छ छलफल गर्दैछौं।’

चिनी खरिदका लागि अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी झनै अन्योलमा छ। ‘भर्खरै मात्र संस्थानबाट कम्पनीमा रुपान्तरण भएका छौंं, आफ्नै कार्यविधि केही छैन,’ सूचना अधिकारी शर्मिला न्यौपानेले भनिन्, ‘यो अवस्थामा हामीले टेक्ने भनेको सार्वजनिक खरिद ऐन नै हो, जसले खरिद प्रक्रिया ढिलो हुन सक्छ।’ खाद्यले यसपटकको सहुलियत मूल्य पसलमा चिनी बिक्रीको लागि राखेको छैन। साल्ट ट्रेडिङले भने आफ्ना स्टलमा प्रमुख बिक्री खाद्यान्नमा चिनीलाई प्राथमिकता दिँदै आएको छ।

उपत्यकका ११ र बाहिरका २४ गरी ३५ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको साल्ट ट्रेडिङसँग अहिले एक हजार पाँच सय टन चिनी मौज्दात छ। यो मौज्दातले दसैंसम्मलाई पुग्ने सूचना अधिकारी राजभण्डारीको अनुमान छ। ‘प्रतिव्यक्ति ६ केजीका दरले चिनी उपलब्ध गराइने हुनाले दसैंअगाडि कमी नहोला,’ छठसम्म सञ्चालन हुने सुपथ मूल्य पसलको योजनाबारे राजभण्डारीले भने, ‘यही अवस्थामा तिहारसम्ममा अभाव कै स्थिति आउन सक्छ।’

उनले सबैतिर चिनी पु-याउन नसके पनि मूल्य नियन्त्रणमा सफल भएको दाबी गरे। उनले भने, ‘बजारमा चिनीको मूल्य ७५ र ८० को बीचमा स्थिर छ। केही व्यवसायीले हामीले उपलब्ध गराएको दरमा चिनी बेच्न सुरु गरेका छन्।’

विगत वर्षको तथ्यांकलाई हेर्दा दसैं, तिहार र छठमा ३० हजार टनका दरले ९० हजार टन लाग्ने राजभण्डारीको भनाइ छ। उनले भने, ‘ तिहार र छठका बीचमा नेपाली उद्योगको चिनी पनि सिद्धिन सक्छ।’ साबिकको समयमा मुलुकभर १५ देखि २० हजार टन चिनी खपत भइरहेको उनको भनाइ छ।

नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल सरकार नेपाली उद्योगलाई बेवास्ता गरेर अभाव हुने हल्लाका पछि लागेको बताउँछन्। ‘हामीसँग अहिले ६० हजार टन चिनी मौज्दात छ, अबको दुई–अढाई महिनामा नयाँ उत्पादन बजारमा आउँछ,’ अध्यक्ष अग्रवालले भने, ‘यस्ता आयातका कुरामा धेरै पक्षको स्वार्थ लुकेको हुन्छ। तर, हामी मुलुकलाई पुग्ने गरी चिनी दिन प्रतिबद्ध छौं।’

अग्रवाल उद्योगीले सरकारलाई यसबारे अवगत गराएको तर सरकारले विश्वास नगरेको आरोप लगाउँछन्। ‘हामीसँग चिनी कति छ भन्ने कुरा हामीले भ्याटमा कारोबार गर्ने हुँदा भएका सात–आठ ओटा चिनी उद्योगको स्टक सहजै हेर्न सकिन्छ,’ अग्रवालले भने, ‘आयात गर्ने भए बफर स्टकको रुपमा राख्न १० देखि १५ हजार टन ल्याउन हामीले सुझाव दिएका थियौं।’

चिनी उद्योगले अहिले भ्याटबाहेक ६३ रुपैयाँमा चिनी उपलब्ध गराउँदै आएको उनको भनाइ छ। अग्रवालले छठअघि चिनी सोही मूल्यमा उपलब्ध गराउने बताए। ‘विगत १० वर्षदेखि चिनीको मूल्य यही नै छ, अब नबढे उद्योगहरु चल्ने अवस्थामा छैनन्,’ उनले भने, ‘उखुको मूल्य बढेको छ। सरकारले तस्करी नियन्त्रण गर्न नसक्दा तस्करीको चिनीसँग प्रतिस्पर्धा गर्नुपरेको छ। यो अवस्थामा चिनी उद्योग कसरी चल्ने ?’

प्रकाशित: ८ आश्विन २०७६ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App