७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकार पूर्ण असफल : कांग्रेस

काठमाडौं – नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकार मुलुक सञ्चालनमा पूर्ण असफल भएको आरोप लगाएको छ । भदौ २४ गते देखि सुरु दोस्रो चरणको राष्ट्रिय जागरणको मंगलबार समापन गर्दै कांग्रेसले ओली नेतृत्वको सरकारले मुलुकमा कुशासन, आर्थिक अनियमितासहित काण्डैकाण्ड मात्र मच्चाएको आरोप लगाएका हुन् ।

सरकारविरुद्ध ७७ वट्टै जिल्लामा विरोध प्रदेशन गर्दै कांग्रेसले निर्वाचनमा आर्थिक समृद्धिको सपना बाँडे पनि सत्तामा पुगेपछि कम्युनिस्ट पार्टीले आर्थिक विकास र समृद्धि छाडेर भ्रष्टाचार गर्न तल्लिन रहेको नेताहरूको आरोप छ । वाइड बडी, न्यारो बडीमा ओली नेतृत्व सरकारले ठूलो मात्रमा आर्थिक अनियमिता गरेको कांग्रेस नेताले बताए ।

काठमाडौं कांग्रेसले शान्तिबाटिकामा आयोजना गरेको विरोधसभामा बोल्दै पूर्वउपसभापति गोपालमान श्रेष्ठले कम्युनिष्ट नेतृत्व सरकारले मुलुकमा कुशासन, महँगी र अराजकता मच्चाएको आरोप लगाए । सरकार संविधानभन्दा बाहिरबाट सञ्चालन हुँदै आएको आरोप लगाउँदै श्रेष्ठले ओली नेतृत्व सरकार देशमा एकदलीय सर्वसत्तावाद लाद्न उद्द भएको धारण राखे ।

एकदलीय सर्वसत्ता वाद लाद्न ओली नेतृत्व सरकारले संविधानको मर्म र भावनाविपरीत संसदमा विधेयक पेस गरेको पनि तर्क गरे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रलाई सरकारले कुन्ठित गर्न लागिपरेको उनले बताए । कम्युनिस्ट नेतृत्वमा सरकार बनेको दुई वर्ष नपुग्दै नेपाली समाजमा असन्तुष्टि, निराशा र वितृष्णा उत्पन्न भएको जनाउँदै कांग्रेसले त्यसका विषयमा जनतालाई जानकारी गराउने निर्णय गरेको थियो ।

दुईतिहाइ सरकारले माखो मार्दैन : कोइराला
यस्तै, कांग्रेस महामन्त्री डा. शशांक कोईरालाले नेकपाको दुईतिहाइ सरकारले माखो नमार्ने बताएका छन् । मंगलबार खोटाङको दिक्तेलमा आयोजित जनजागरण कार्यक्रम समापन तथा विरोधसभामा बोल्दै उनले वर्तमान सरकारले आफै विकासको कुनै पनि योजना तर्जुमा गर्न नसकेको बताएका हुन् । ‘यो काण्डैकाण्डको सरकार भयो । निर्मला हत्या काण्ड, बूढीगण्डकी काण्ड, बालुवाटारको जग्गा काण्ड । यस्ता काण्डले भरिएको सरकारलाई जनताले चिन्न प¥यो,’ महामन्त्री कोईरालाले भने, ‘यो सरकारले कुनै माखो मार्दैन । आजका मितिसम्म विकासको कुनै योजना तर्जुमा गर्न सकेको छैन । जति योजना छन्, त्यी बिपिको समयमा, सुशीलको समयमा अथवा शेरबहादुरको पालामा सुरु भएको थियो ।’

नेपालका कम्युनिस्टको गतिविधि शंकास्पद : महत
यसैबीच, कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री रामशरण महतले चीनको कम्युनिस्ट पार्टीसँग प्रशिक्षण लिइरहेका नेपालका कम्युनिस्टको मनसाय शंकास्पद रहेको बताएका छन् । नेपाली कांग्रेस बाराले कलैयामा मंगलबार आयोजना गरेको हिमाल–पहाड–तराई–मधेस दोस्रो चरणको राष्ट्रिय जागरण अभियान समापन समारोहमा बोल्दै उनले चीनमा एकतन्त्रीय कम्युनिस्ट पार्टीले शासन रहेको र नेपालमा बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्था कायम रहेकाले एकतन्त्रीय देश चलाउने कम्युस्टिसँग नेपालका कम्युस्टिले प्रशिक्षण लिनु नेपालको लागि शुभ संकेत नभएको बताए ।

एकदलीय शासन भएका विश्वका विभिन्न कम्युनिस्ट देशबाट एकदलीय सत्ता समाप्त भएर गएको अवस्थामा नेपालमा पनि एकदलीय शासन लादन नेपालका कम्युनिस्टले चलखेल गरेको आरोप महतले लगाए । बहुलवाद र लोकतान्त्रिक संसदीय व्यवस्था भएका देश आज सम्पन्न र जनतालाई सुखी राखेको अवस्थामा नेपालमा एकदलीय शासन लादन खोज्नु कम्युनिस्टको सपना सकार नहुने नेता महतले बताए ।
नेपालका कम्युनिस्ट मान्छे मार्न मात्रै आन्दोलन गरेको कुरा झापा आन्दोलन र माओवादी आन्दोलनले देखाएको उनले बताए ।

तत्कालीन माओवादीले सुरु गरेको आन्दोलनमा पनि समाजमा धनी र गरीबबीच मारकाट गरिएको र झापा आन्दोलनमा पनि त्यसैगरी मान्छे मारिएकोले देशमा विधिको शासन व्यवस्थाका लागि आन्दोलन गर्नुभन्दा कम्युनिस्टले मारकाटका लागि मात्र आन्दोलन गरेको नेता महतले बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य राधेचन्द यादवले नेपाली कांग्रेसले मुलुकको समृद्धिका लागि आन्दोलन गरी लोकतान्त्रिक गणतन्त्र स्थापित गराउंदै संविधान निर्माण गरेको बताए । कांग्रेस बाराका सभापति जयचन्द्र चौरसियाले वर्तमान सरकारबाट देशमा देखिएको खतराबाट लडनको लागि कांग्रेसका कार्यकर्ता तयारी अवस्थामा राख्नु पर्ने बताए ।

राष्ट्रपतिलाई बोल्न सिक्न आग्रह
त्यसैगरी, नेपाली कांग्रेसका प्रवक्ता एवं युवा नेता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जथाभावी नबोल्न आग्रह गरेका छन् ।

कांग्रेस सुनसरीले मंगलबमा आयोजना गरेको दोस्रो जागरणसभाको सुनसरी जिल्लाव्यापी समापन तथा विरोधसभामा बोल्दै शर्माले यस्तो आग्रह गरेका हुन् । राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवाको बोलीबारे दिएको अभिव्यक्तिबारे टिप्पणी गर्दै उनले भने, ‘शितल निवासमा बोल्नेले शितल बोल्नुपर्छ । शितल कसरी बोल्नुपर्छ भन्ने नजान्ने भए पूर्वराष्ट्रपति रामवरण यादवसँग ट्युसन पढ्न जाँदा हुन्छ ।’
शर्माले राष्ट्रपति राजनीतिक कार्यकर्ता जस्तो बोल्न नहुने उल्लेख गर्दै संयमता अपनाएर बोल्न आग्रह गरे । नेकपाका नेताहरूले जस्तो आफ्नो भाषणको पुस्तक कांग्रेस नेताले नछाप्ने तर देशलाई कांग्रेसको विचारमा डो¥याउने शर्माको भनाइ थियो ।

नेकपाको प्रशिक्षण गम्भीरतापूर्वक नियालिरहेका छौं :सिटौला
कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलाले चिनिया नेता ल्याएर नेकपाले आयोजना गरेको प्रशिक्षणलाई गम्भीरतापूर्वक नियालिरहेको बताएका छन् । मंगलबार धरानको भानुचोकमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता सिटौलाले विदेशी ल्याएर कुनै पार्टीले आफ्ना कार्यकर्तालाई तालिम दिएको पनि यो पहिलो घटना भएको प्रतिक्रिया दिए । ‘विदेशी ल्याएर तालिम दिँदैछ, यो घटनालाई गम्भीरतापूर्वक लिएर हेर्दैछौं,’ सिटौलाले भने, ‘नेपालमा यस्तो पहिलो घटना हुदैछ । विदेशीलाई ल्याएर पार्टीमा प्रशिक्षण दिइँदैछ ।’

सिटौलाले अहिले एमाले र माओवादी पार्टी नरहेको र उनीहरूको सिद्धान्त पनि प्रष्ट नभएको बताए । वर्तमान सरकारले न्यायपालिका, संवैधानिक निकाय, प्रेस सबैलाई आफु अनुकूल हिँडाउने प्रयत्न गरिरहेको उल्लेख गर्दै उनले नेकपाले राज्य कब्जा गर्न खोजिरहेको आरोप लगाए । ‘हरेक निकायमा हस्तक्षेप गर्दैछ, स्वतन्त्ररुपमा चल्न नदिएर आफु अनुकूल पार्टीको कमिटी बनाउन खोजिदैछ,’ उनले भने, ‘संविधानको भावना र मर्म बचाउने जिम्मा अब नेपाली कांगे्रसको छ ।’

यसैबीच, कांग्रेसले रौतहटमा गरेको सरकारविरोधी प्रदर्शनमा हजारौंको सहभागिता देखिएको छ । जिल्लाको मध्यभाग गरुडामा कांग्रेस रौतहटका सभापति कृष्णप्रसाद यादवको अगुवाइमा भएको प्रदर्शनमा जिल्लाका नेता, निर्वाचित जनप्रतिनिधि, पेसागत संगठनका प्रमुख तथा विभिन्न तहका नेता र कार्यकर्ताको ठूलो संख्यामा सहभागिता रहेको थियो ।

प्रकाशित: ८ आश्विन २०७६ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App