coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारविरुद्ध जागरणसभामा पनि मिल्न सकेन सिन्धु कांग्रेस, दुई समूहको छुट्टाछुट्टै कार्यक्रम

सिन्धुपाल्चोक– सरकारविरुद्ध जागरण अभियान चलाएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय नीति विपरित जिल्लामा दुई ठाउँमा समापनसभा गरेको छ। जागरण अभियानको समापन एकै स्थानमा गर्ने, त्यो ठाउँ जिल्ला सदरमुकाम नै हुने र सरकारविरुद्ध शक्ति प्रदर्शन गर्ने नीति लिएको कांग्रेसले त्यसैअनुसार निर्देशनसमेत दिएको थियो।

लामो समयदेखि व्यक्तिगत टकरावमा रुमल्लिएको सिन्धु कांग्रेसले सदरमुकाम चौतारा र खाडिचौरमा समापनसभा ग-यो। पार्टी संस्थापन समूहले सदरमुकाम चौतारामा सभा ग-यो भने केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफ्नै निर्वाचन क्षेत्रको खाडिचौरमा सभा गरे। संस्थापन समूहले जिल्ला समितिको ब्यानरमा कार्यक्रम गर्दा नेता बस्नेतले क्षेत्रीय समितिलाई आयोजक बनाएका थिए।

‘केन्द्रीय नीति र निर्देशन बमोजिम एकै ठाउँ सदरमुकाममा कार्यक्रम गर्ने प्रयास गरेका हौं। तर केन्द्रीय सदस्य बस्नेतले नमानेपछि सफल हुन सकेनौं,’ पार्टी जिल्ला सचिव बिलबहादुर तामाङले भने। सदरमुकामको सभालाई केन्द्रीय सदस्य नबिन्द्रराज जोसीले सम्बोधन गरे भने झण्डै दुई हजार कार्यकर्ता उतार्दै खाडिचौर सभाको प्रमुख अतिथि बस्नेत नै बने।

‘सरकारविरुद्ध नभएर जिल्लामा चाहिँ नेता–नेता आपसमा कसले शक्ति प्रदर्शन गर्ने भन्ने खेलमा लागे,’ जिल्ला तहका एक नेताले भने। नीति विपरित दुई ठाउँमा कार्यक्रम गर्ने परिस्थिति बनेकाले चित्त नबुझेर आफू भने कतै नगएको उनले बताए। जिल्ला तहका नेता, कार्यकर्ता मात्र होइन केन्द्रको नीति विपरित केन्द्रीय प्रतिनिधि नै दुई पक्षमा विभाजित भए। क्षेत्र नं. १ को दुई प्रदेशका लागि खटाइएका केन्द्रीय सदस्यद्धय मिनकृष्ण महर्जन र लामाकर्पु तामाङ खाडिचौरको सभामा उपस्थित भए भने क्षेत्र नं. २  मा खटिएका प्रतिनिधि प्रभात लामा र उत्तम आचार्यले सदरमुकामको कार्यक्रममा भाग लिए।

पार्टी नीति र निर्देशनअनुसार सबै केन्द्रीय प्रतिनिधि सदरमुकामकै सभामा उपस्थित हुनु पथ्र्यो। अधिकांश जिल्ला नेता भने सदरमुकामको कार्यक्रममा आएका थिए । खेमाअनुसार केही नेता खाडिचौरको सभामा देखिएका थिए। जिल्ला सभापति विकास लामा र पूर्वसभापतिसमेत रहेका केन्द्रीय सदस्य बस्नेतबीच व्यक्तिगत टकराब छ। उनीहरुबीच आपसमा एकले अर्कालाई नमान्ने, नटेर्ने समस्या समस्या रहेको कांग्रेस कार्यकर्ता बताउँछन्।

व्यक्तिगत सम्बन्धकै कारण जिल्ला स्तरीय मात्रै होइन केन्द्रले सर्कुलर गर्ने कार्यक्रमसमेत लामाले प्रतिनिधित्व गर्ने संस्थापन र बस्नेत समूहले छुट्टाछुट्टै गर्दै आएका छन्। एक नेताका अनुसार जिल्ला समितिले आयोजना गर्ने कार्यक्रममा बस्नेत प्रायः जाँदैनन्। बरु त्यसको ‘काउन्टर’ मा आफ्नै निर्वाचन क्षेत्रमा छुट्टै कार्यक्रम आयोजना गर्छन्। यसअघि गएको माघमा जिल्ला समितिले सदरमुकाममा आयोजना गरेको सरकार विरोधी प्रदर्शनमा पनि त्यता नगइ बस्नेतले आफ्नै क्षेत्रमा कार्यक्रम गरेका थिए।

प्रकाशित: ७ आश्विन २०७६ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App