८ वैशाख २०८१ शनिबार
समाज

प्रहरीलाई अपहरण गर्न खोज्ने तस्करमाथि गोली प्रहार

प्रहरीलाई अपहरण गरी गाँजा तस्करी गर्न खोजेको आरोपमा गोली लागि घाईते भएका ट्रक चालक अफ्रिका चौधरी, गाँजा र ट्रकलाई सार्वजनिक गर्दै मकवानपुर प्रहरी । तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर– प्रहरीलाई अपहरण गर्न खोज्ने अवैध लागूऔषध गाँजा तस्करीमा संलग्नलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ। गोली लागि घाइते हुनेमा ना ६ ख १३१ नम्बरका ट्रक चालक पर्साको वीरगञ्ज महानगरपालिका–२९ का ३५ वर्षीय अफ्रिका चौधरी रहेका छन् भने अर्का घाइते प्रहरीको नाम गोप्य राखिएको छ।

पूर्व–पश्चिम राजमार्गस्थित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ मा सवारी जाँचका क्रममा प्रहरीलाई अपहरणको प्रयास गरेपछि गोली प्रहार गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। ‘हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ट्रक रोकी जाँच गर्ने क्रममा ट्रक चालक चौधरी र अर्का व्यक्तिले प्रहरी जवान संजिवकुमार दासलाई नियन्त्रणमा लिएका थिए,’ उनले भने, ‘लछारपछार गरी जंगलतर्फ लैजान थालेपछि नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको हो।’

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार पत्रकार सम्मेलन गरी बरामद गाँजा ७८ किलो आठ सय ग्राम र ट्रकसहित उनलाई सार्वजनिक गरेको थियो। प्रहरी जवान दासले मंगलबार राती साँढे एक बजे ट्रकको क्याविनको भागमा जाँच गरिरहेका बेला चालकले एक्कासी अपहरण शैलीमा ट्रकलाई भगाई लगेको प्रहरी उपरीक्षक सिंहले बताए।

‘प्रहरी टोलीले पछ्याउँदै जाँदा करिब साढे तीन किलोमिटर दक्षिणतर्फ नयाँ बस्ति जाने सडकमा जवान दासलाई लछारपछार गरी जंगलतर्फ लैजादै थिए,’ उनले भने, ‘प्रहरी टोलीले घेरा हाली नियन्त्रणमा लिनका लागि पेस्तोलबाट दुई राउण्ड गोली फायर गर्दा चालक चौधरीको खुट्टामा लागि घाइते भए।’

प्रहरीका अनुसार घाइते चौधरीको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ भने ट्रकमा सवार अर्का व्यक्ति फरार छन्। ट्रकको क्याविन र हुटको भागमा लुकाई १४ पोकामा ल्याएको गाँजा र ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रकमा सवार भई फरार रहेको व्यक्तिको खोजी भईरहेको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले गाँजा र चालकलाई नियन्त्रणमा लिएका हुन्। लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम गाँजा ओसारपसारमा संलग्नलाई दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखी एक लाख रुपैंयासम्म जरिवाना तथा सवारी साधन-ट्रक) जफत हुने कानूनी प्रावधान रहेको छ।

प्रकाशित: ७ आश्विन २०७६ १२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App