coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सामाजिक सञ्जालको सदुपयोगबाट बालिकाको उपचार सम्भव

दमौली- धेरै सामाजिक सञ्जाल फेसबुकलाई मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्दै आएका छन्। कतिपयले त फेसबुकको दुरुपयोग पनि गरेका छन्। सामाजिक सञ्जालकै सदुपयोग गर्दै स्वास्थ्यकर्मी गीता रखाली मगरले एक विपन्न बालिकाको उपचारका लागि सहयोग जुटाएकी छन्।    
     
तनहुँको ब्यास नगरपालिका–११ का चार वर्षीया निर्मला चेपाङ गत भदौ २६ गते घरमै खेलिरहेको अवस्थामा तातो पानीले जलेर घाइते भएकी थिइन्। कम्मरमुनिको भाग जलेर घाइते भएकी चेपाङलाई उपचारका लागि परिवारले सोही दिन दमौली अस्पताल ल्याएको थियो।

दमौली अस्पतालमा उपचार पश्चात् थप उपचारका लागि पोखरा लैजान चिकित्सकले सुझाव दिए पनि चेपाङ परिवारले आर्थिक अभावमा उनलाई पोखरा लैजान सकेन र दमौली अस्पतालमै केही दिन बालिकाको उपचार गरियो।     

चेपाङ परिवारको अवस्था थाहा पाएपछि अस्पतालमै कार्यरत अहेब मगरले बालिकाको तस्बीरसहित फेसबुकमा पोष्ट गर्दै सहयोगका लागि आह्वान गरेकी थिइन्। फेसबुककै माध्यमबाट पीडित बालिकाको उपचारका लागि तत्कालै ५० हजार रुपैयाँ सङ्कलन गर्न सफल भएको मगरले जानकारी दिइन्।     
     
'फेसबुकमा हालेपछि विभिन्न व्यक्ति र सङ्घ संस्था मार्फत् सहयोग जुट्यो,' उनले भने, 'उक्त रकमबाट थप उपचारका लागि पीडित बालिकालाई पोखरा पठाइयो।' पीडित बालिकाको पोखरामा उपचार भइरहँदा पनि जिल्लामा उनको उपचारका लागि अन्य व्यक्तिले पनि सहयोग प्रदान गरिरहेका थिए। मगरका अनुसार पीडित बालिकाको उपचारका लागि एक लाख ३३ हजार ५ सय रुपैयाँ सङ्कलन भएको छ।     
     
उनको उपचारका लागि ५८ हजार पाँच सय रुपैयाँ खर्च भएको र बाँकी ७५ हजार रुपैयाँ दमौली स्थित सनराइज बैंकमा खाता खोलेर जम्मा गरिएको छ। 'बालिकाको उपचारपश्चात् स्वास्थ्यमा सुधार आएको र घाउ निको हुने क्रममा छ,' उनले भने, 'ड्रेसिङको काम दमौली अस्पतालमै भइरहेको छ।' निर्मला चेपाङ सहयोग अभियान मार्फत् सङ्कलन भएको रकम बैंकमा जम्मा गरेर उक्त बैंकको चेक आज पीडित बालिकालाई हस्तान्तरण गरिएको छ।     
     
पीडित बालिकाकी आमा धनमाया चेपाङले आर्थिक अभावमा छोरीको उपचारमा समस्या भएको अवस्थामा रकम जुटाएर सहयोग गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गरेकी छन्। पीडित बालिकाका बुबा गणेशमान चेपाङ व्यास नगरपालिका–११ स्थित एक इँट्टामा दैनिक मजदूरी गर्दै आइरहेका छन्। दैनिक मजदूरी गरेर कमाएको रकमले ६ जनाको परिवार पाल्नुपर्ने अवस्था छ।     
     
'दैनिक गुजारा गर्न नै गाह्रो भएको अवस्थामा छोरीको उपचार गर्ने समस्या भएको थियो,' उनले भने,'रकम सङ्कलन भएपछि छोरीको स्वास्थ्य सुधार हुँदै गएको छ।' रासस   

प्रकाशित: ७ आश्विन २०७६ ०९:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App