४ वैशाख २०८१ मंगलबार
समाज

वीरगञ्जमा उच्च सुरक्षा सतर्कता

वीरगन्ज—वीरगन्जमा भोलि बिहीबारदेखि सञ्चालन हुने योग शिविरको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपरान्ह आएने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

वीरगन्ज नगर प्रवेश गर्ने नाका, टोल र चोकमा प्रहरीले चेकजाँच र सतर्कता बढाएको पर्साका प्रहरी प्रमुख उपरीक्षक राजुबाबु श्रेष्ठले बताए।

राष्ट्रपति भण्डारी र योगगुरु बाबा रामदेवको वीरगन्ज आगमनलाई लक्षित गरी जिल्लामा रहेका तीनवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी संयुक्त सुरक्षा योजना बनाएर सुरक्षाकर्मीलाई परिचालन गरिएको हो।

पाँचदिनसम्म चल्ने योग शिविर अवधिभर सुरक्षालाई दृष्टिगत गरी वीरगन्जमा रहेका होटलमा पनि निगरानी बढाइएको छ। वीरगन्जसँग जोडिएका भारतीय नाकामा समेत चेकजाँच बढाइएको छ । योग शिविर उद्घाटन गर्न आजै राष्ट्रपति भण्डारी यसतर्फ आई बारा जिल्लाको प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिरमा पूजाअर्चना गर्नुहुने कार्यक्रम रहेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद घिमिरेले बताए।

योगगुरु स्वामी रामदेव र आयुर्वेद शिरोमणि बालकृष्ण आचार्यको उपस्थितिमा बीरगन्जको आदर्शनगर रंगशालामा भोलि हुने योग शिविर र बाराको प्रसौनी–२ मा रहेको पतञ्जलि आयुर्वेद प्रालिको राष्ट्रपति भण्डारीले उद्‌घाटन गर्ने कार्यक्रम छ। उद्घाटन कार्यक्रम सम्पन्न भएपछि राष्ट्रपति भण्डारी बिहीबार नै काठमाडौँ फर्किने कार्यक्रम रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ।

राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने योग शिविरको सम्पूर्ण तयारी पूरा भएको शिविर तयारी समितिका संयोजक विजय सराबगीले बताए। विभिन्न स्थानमा ३५ वटा स्वागतद्वार बनाइएको छ भने तीनसय ५० वटा फ्लेक्स बोर्ड राखिएको बताइएको छ। रासस

प्रकाशित: ८ मंसिर २०७३ ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App