टेक्सास – अमेरिकाको टेक्सासमा आयोजित एउटा दुर्लभ सभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेका छन्। ‘दुर्लभ संयुक्त कार्यक्रम’ मा ५० हजारभन्दा बढी भारतीय मुलका अमेरिकी नागरिकको सहभागिता रहेको थियो। कुनै पनि विदेशी नेताले अमेरिकाका भव्य स्वागत पाएको यो पहिलो क्षण भएको दाबीसमेत गरिएको छ। संयुक्त सभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मित्रताका बारेमा न्यायो शब्द बोलेका थिए।
टेक्सासको ह्युस्टनमा आइतबार आयोजित संयुक्त सभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दै ‘पूर्णतया ऐतिहासिक कार्यक्रम’ भनेर टिप्पणी गरेका छन्। कार्यक्रमको नाम ‘हाउडी मोदी’ राखिएको थियो। बोलीचालीको भाषामा स्वागतपूर्ण शैलीमा हालचाल सोध्न यस्तो शब्द प्रयोग गर्ने गरिन्छ। आयोजकले अमेरिकामा क्याथोलिक धर्मगुरू पोपबाहेक अन्य विदेशी नेतालाई गरिएको यो नै अहिलेसम्मको सबैभन्दा भव्य स्वागत कार्यक्रम भएको बताएका छन्। कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सम्बोधन गरेका थिए।
एकअर्काको प्रशंसा
संयुक्त कार्यक्रममा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पको र अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गरेका थिए। मोदीले सम्बोधनको आरम्भ ट्रम्पको प्रशंसाबाट गरेका थिए। ‘हामीसमक्ष विशेष व्यक्ति उपस्थित हुनुहुन्छ। उहाँलाई कुनै परिचयको खाँचो छैन। विश्वका हरेक व्यक्तिले उहाँको बारेमा जान्दछन्।
यो महान देशको सबैभन्दा उच्च पदमा बस्नुअघि पनि हरेक मानिस उहाँबारे परिचित थिए। उहाँको स्वागत गर्न पाउनु मेरा लागि सम्मानको विषय हो,’ मोदीले भने। ट्रम्पसँग आफूले कैयौं पटक भेट गरेको र उनमा आत्मीयता पाएको मोदीको भनाइ थियो। मोदीले सन् २०२० मा अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनबाट फेरि पनि ट्रम्पको सरकार बन्ने बताए।
आफ्नो सम्बोधनपछि प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सम्बोधनको निम्ति आमन्त्रण गरेका थिए। ट्रम्पले कार्यक्रममा उपस्थित भारतीय मूलका अमेरिकी समुदायलाई धन्यवाद दिएका थिए।
उनले हालैको लोकसभा निर्वाचनमा विजयी भएर फेरि सत्तामा आएकोमा मोदीलाई बधाई पनि दिन भ्याएका थिए। ‘भारत र अमेरिकाका साझा सपनालाई लिएर म र नरेन्द्र मोदी बेलाबखत कुराकानी गरिरहन्छौं। भारतीय अमेरिकीले हाम्रो देशको संस्कृति र मूल्यलाई बलियो बनाएका छन्।
तपाईंहरुलाई अमेरिकी नागरिकको रूपमा पाएर हामी गौरवान्वित छौं। हामी दुवै देश आफ्ना नागरिकप्रति समर्पित छौं,’ ट्रम्पले भने। उनले मोदीलाई अमेरिकाको एक अति निष्ठावान, इमान्दार र महान् मित्रको संज्ञा दिँदै उनीसँगै कार्यक्रममा सहभागी हुँदा रोमाञ्चित भएको बताए।
ट्रम्पले मोदीको योजनाका कारण भारतमा ३० करोड मानिस गरिबीको रेखाबाट माथि उठेको बताए। उनले भने, ‘भारतमा आउँदो दशक १४ करोड मानिस मध्यमवर्गमा उक्लिने छन्। हामीले अमेरिका र भारतका जनता सम्पन्न भइरहेको देखिरहेका छौं।’
ट्रम्पले भारतसँगको सुरक्षा सहयोगको प्रसंग उल्लेख गर्दै छिट्टै रक्षा सम्झौता गरिने बताए। उनले नोभेम्बर महिनामा दुवै देशका जल, स्थल र वायु सेनाले मिलेर युद्ध अभ्यास गर्ने जानकारी पनि दिए। ‘हामी ती सबै भारतीय र अमेरिकी सैनिकलाई सम्मान गर्छौं जो जनताको रक्षाको निम्ति खटिरहेका हुन्छन्।
हामी कट्टरपन्थी इस्लामिक आतंकवादबाट सबैलाई बचाउन प्रतिबद्ध छौं,’ ट्रम्पलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। ट्रम्पले यस्तो भन्दै गर्दा भारतीय प्रधानमन्त्री मोदी र कार्यक्रममा सहभागीहरु उभिएर ताली बजाएका थिए। ट्रम्प बोलिसकेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः मञ्चमा गएर सम्बोधन गरेका थिए। सम्बोध अन्त्य गर्ने बेला उनले हालसालै कश्मीरको विषयमा लिइएको निर्णयबारे पनि बोलेका थिए।
प्रकाशित: ७ आश्विन २०७६ ०७:३५ मंगलबार