८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

थोमस कुक टाट पल्टियो, कारोबार बन्द

लन्डन – बेलायतको निकै पुरानो ट्राभल एन्ड टुर कम्पनी थोमस कुकले अतिरिक्त रकम जुटाउन नसकेपछि टाट पल्टिएको घोषणा गरिएको छ।

कम्पनीले विश्वभर गरेका छ लाख यात्रा बुकिङ पनि रद्द गरेको जनाएको छ। बेलायत सरकारले हाल विदेशमा यात्रारत एक लाख ५० हजार बेलायती नागरिकलाई कम्पनीको निर्णयले असर पर्ने बताएको छ।

बेलायती नागरिक उड्डयन प्राधिकरणले थोमस कुकले आफ्नो व्यवसाय रोकेको जनाएको छ। यस कम्पनीका चार वटा विमान ग्राउन्डेड गरिएका छन्। विश्वका १६ वटा मुलुकमा रहेका २१ हजार कर्मचारीको जागिर पनि समाप्त भएको छ जसमा नौ हजार बेलायती नागरिक छन्।

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) को अन्यौलतासँगै कम्पनीले केही महिनाअघि नै बुकिङमा कमी आएको बताउँदै आएको थियो। कम्पनीमाथि ऋणको बोझ निरन्तर थपिँदै गएपछि कम्पनी नै धरासायी भएको हो।

बेलायतको १७८ वर्ष पुरानो कम्पनीले आफ्नो साख जोगाउन २५ करोड अमेरिकी डलर ऋण खोजिरहेको थियो। कम्पनीले आफ्ना सेयर होल्डर र लगानीकर्तासँग पनि यसबारेमा परामर्श गरेको थियो। थोमस कुकका विश्वभर ६ सयको हाराहारीमा ट्राभल स्टोर रहेका छन्।

कम्पनीका प्रमुख कार्यकारी पिटर फ्यान्काउजरले कम्पनीको इतिहासमा यो निकै उदास र दुःखद् क्षण भएको बताउँदै कम्पनीले बेलायतीसमेतका लाखौं व्यक्तिको यात्रालाई सहज गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे।

उनले जारी गरेको विज्ञप्तिमा कम्पनीलाई विश्वास गर्ने लाखौं उपभोक्ता र हजारौं कर्मचारीसँग आफूले व्यक्तिगत रूपमा क्षमा माग्न चाहेको उल्लेख गरिएको छ। कम्पनीको सेवा लिएका तर विदेशमा अलपत्र परेका व्यक्तिको उद्धारका लागि बेलायती नागरिक उड्डयन प्राधिकरणले विशेष व्यवस्था गर्न लागेको जनाएको छ।

बेलायती यातायातमन्त्री ग्रान्ट स्याम्प्सले आफ्ना नागरिकको सहज उद्धारका लागि दर्जनौ चार्टर विमानको व्यवस्था गरिएको जानकारी दिएका छन्। ती चार्टर विमानले मलेसियासम्म पुगेर अलपत्र बेलायतीलाई निःशुल्क बेलायत ल्याउने उनले बताए।

थोमस कुकका कर्मचारीसँग सम्बन्धित युनियनले बेलायत सरकारसमक्ष थोमस कुकका कारण बेरोजगार भएका व्यक्तिका बारेमा सोच्न र उपयुक्त निकास निकाल्न अनुरोध गरेको छ। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कम्पनी जोगाउने नाममा सरकारले लगानी गर्न नसक्ने बताउँदै यस प्रवृत्तिले टाट पल्टिन लागेका कम्पनीहरु सरकारमाथि बढी आश्रित हुने खतरा हुन्छ भनेका थिए।

 

प्रकाशित: ७ आश्विन २०७६ ०७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App