७ वैशाख २०८१ शुक्रबार
समाज

यात्रुको हितमा राजमार्ग सुरक्षा योजना

धादिङ - चाडपर्व नजिकिँदै गर्दा काठमाडौं नागढुंगा भएर बाहिरिने सवारीसाधनको चाप बढेको छ। सवारी चापसँगै राजमार्गमा जाम पनि बढेको छ। घुमाउरो र साँघुरो सडकका कारण नौबिसे–नागढुंगा सडकखण्डमा सामान्य समयमा पनि जाम हुन्छ। चाडपर्व सुरु भएपछि यो खण्डमा सवारी चाप बढी हुन्छ। सवारीसाधन बिग्रिएमा त घण्टौँ जाममा बस्नुपर्ने हुन्छ।

त्यस्तै दसैं, तिहारलगायत चाडपर्वका बेला राजमार्गमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण र दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय धादिङले विशेष कार्ययोजना निर्माण गरेको छ।

धादिङमा त्रिभुवन राजमार्ग र पृथ्वी राजमार्ग पर्छ। यी राजमार्गमा सुरक्षाका लागि ६ वटा मोबाइल गस्ती, १५ वटा मोटरसाइकल गस्ती, २७ वटा पैदल गस्ती, दैनिक २४ सै घण्टा परिचालन गरिने प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए। सवारी जाम कम गर्ने र यात्रुलाई सुरक्षित गन्तव्यमा पु¥याउन धादिङ प्रहरीले राजमार्ग विशेष सुरक्षा योजना बनाएको हो।

सवारी जाम हटाउन प्रदेश प्रहरी कार्यालयको रनिङ मोटरसाइकल, रोकिएका सवारीसाधन तान्ने क्रेन धुनिबेसी नगरपालिकालाई व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको प्रहरी उपरीक्षक बैदवारले बताए। ‘उकालो र मोडमा मालबाहक सवारी ढिलो गुड्ने भएकाले अन्य गाडीले ओभरटेक गर्दा थप जाम हुने भएपछि उकालो र मोड भएका क्षेत्रलाई नो ओभरट्याक जोन घोषणा गरेका छौं’, प्रहरी उपरीक्षक बैदवारले भने, ‘नौबिसे–नागढुंगाको १२ किलोमिटर खण्डमापहिलोपटक नो ओभरटेक जोन भनेर लेन अनुशासनमा कडाइ गरेका हौं।’ यो खण्ड त्रिभुवन राजमार्गमा पर्छ। जाम हुन नदिन र यात्रुलाई सुरक्षित र समयमै गन्तव्यमा पु¥याउन नौबिसे–नागढुंगा खण्डको १२ किलोमिटरमा पर्ने विभिन्न २४ स्थानमा प्रहरी परिचालन गरिने निर्णय भएको छ।

त्यस्तै राजमार्गमा सवारीसाधनमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि सादा पोसाकका प्रहरी पनि परिचालन गरिने भएको छ। लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य दुईजना चालक राख्ने व्यवस्था मिलाउने, राजमार्गमा ठाउँठाउँमा ट्राफिक प्रहरीबाट नियमित अनुगमन व्यवस्था मिलाइने योजना बनाएको प्रहरी उपरीक्षक बैदवारले बताए।

‘चाडपर्वका बेला दैनिक गुड्ने १५ देखि १८ हजार सवारीसाधन व्यवस्थापन गर्न हम्मेहम्मे हुने गरेको छ,’ उनले भने, ‘प्रशासन, स्थानीय तहसँग पनि समन्वय गरेका छौं।’ पृथ्वी राजमार्गमा पर्ने जोगिमाराको मझिमटार, गजुरी बजार, गल्छी, महादेवबेंसी बजार, खानीखोलाको नौबिसे बजार र धादिङबेसीको पुछारबजारमा गरी ६ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। लामो दुरीका चालकका लागि मझिमटार, गजुरी र खानीखोला एरियामा रिफ्रेस सेन्टर स्थापना गरिएको बैदवारले बताए।

यात्रुलाई छिटो गन्तव्यमा पुग्ने अवस्था सिर्जना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए। ‘साँघुरो सडकलाई तत्काल चौडा बनाउन नसकिए पनि जाममुक्त बनाउन सकिन्छ,’ तामाङले भने, ‘त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा खण्डमा ग्यास बुलेट, लामा र भारी मालवाहक गाडी र टिपरलाई राति नौ बजेपछि मात्र खानीखोलाबाट काठमाडौं जान दिने योजना बनाइएको छ।’

प्रकाशित: ७ आश्विन २०७६ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App