५ वैशाख २०८१ बुधबार
राजनीति

राष्ट्रसंघ महासभाः मन्त्री ज्ञवालीद्वारा उच्चस्तरीय बैठक सुरु, नेपाली सेनाको प्रशंसा

अमेरिका– संयुक्त राष्ट्रसंघको ७४ औं महासभाको लागि परराष्ट्रमन्त्री  प्रदीपकुमार ज्ञवालीले सोमबारदेखि उच्चस्तरीय भेटघाट शुरु गरेका छन्। मन्त्री ज्ञवालीले शिष्टाचार भेटमा उक्त विश्व संस्थाको शान्तिकार्य विभागका उपमहासचिव जा पियरे लाक्वाँ र शान्तिकार्य समन्वय विभागका उपमहासचिव अतुल खरेले नेपाली शान्ति सेनाको बहादुरी, व्यावसायिकता र इमान्दारीको प्रशंसा गरेका हुन्।

गरिबी उन्मुलन गुणस्तरीय शिक्षा, जलवायु कार्य र समावेशीकरणका लागि बहुपक्षीय प्रयास नारा दिएर भोलि सेप्टेम्बर २४ बाट शुरु हुने उच्चस्तरीय बैठकको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवालीले गर्नेछन्।

राष्ट्रसंघको ७४ औं महासभाको लागि परराष्ट्रमन्त्री ज्ञवालीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्युयोर्कमा आइपुगेको छ। राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जारी गरेको विज्ञप्तिमा महासभामा नेपाली टोलीको कार्यक्रमबारे जानकारी दिइएको छ। 

त्यसअघि सेप्टेम्बर २३ मा हुने स्वास्थ्य सम्बन्धी विश्वव्यापी स्वास्थ्य कभरेजको उच्चस्तरीय बैठकमा नेपालको नेतृत्व उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गर्ने जनाइएको छ। त्यसैगरी वन तथा पर्यावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तन शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ।

मन्त्री ज्ञवालीको स्वागतको लागि अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की, संयुक्त राष्ट्रघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राई तथा न्युयोर्कका नेपाली महाबाणिज्य दूत पुष्पराज भट्टराई लगायत विमानस्थल पुगेका थिए। यसअघि महासभामा भाग लिन उपप्रधानमन्त्री उपेन्द्र यादव अमेरिका पुगिसकेका छन्।

महासभामा परराष्ट्र मन्त्रीस्तरीय टोलीमा १२ जना छन्। उपप्रधानमन्त्री यादव र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतको टोलीसँगै सांसदहरूको समूह जोड्दा ३० भन्दा बढी हुनेछ। त्यो नियमित हुने वार्षिक कुम्भ मेलाजस्तै हो। तीन महिनासम्म चल्ने महासभा कार्यक्रममा अन्य सदस्य पनि थपिने छन्। राष्ट्रसंघीय चार्टरको धारा ९(२) मा ‘महासभामा प्रत्येक सदस्य राष्ट्रबाट भाग लिने प्रतिनिधि पाँच जनाभन्दा बढी हुन नहुने’ उल्लेख छ। तर त्यहाँ ६ गुना सहभागी हुने देखिन्छ।

प्रकाशित: ७ आश्विन २०७६ ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App