४ वैशाख २०८१ मंगलबार
समाज

मार्तडी–कोल्टी सडकका २० वर्ष : समय फेरियो, फेरिएन अवस्था

बाजुरा - मार्तडी–कोल्टी सडक बन्द भएको तीन महिना भयो। कच्ची सडक भएकै कारण बर्खामा बर्सेनि सडक अवरुद्ध हुन्छ। यस पटक बर्खा सकिन लागे पनि स्थानीय तहले सडक सञ्चालनमा कुनै चासो देखाएको छैन।

२०५६ सालदेखि मार्तडी–कोल्टी सडक निर्माण थालिएको हो। ४३ किलोमिटरको यो सडकमा हालसम्म ३३ करोडभन्दा बढी रुपैयाँ खर्च भइसकेको छ। तर पनि थानीय सडक सुविधाबाट वञ्चित छन्।

हिउँदका केही महिनाबाहेक त्यस क्षेत्रका बासिन्दाले हिँडेरै यात्रा गर्नुपर्ने बाध्यता छ। कोल्टी क्षेत्रमा बाजुराका चारवटा स्थानीय तह छन्। प्रदेश निर्वाचन क्षेत्र ‘क’ पुग्न त्यो बाटो हिँड्नुपर्ने बाध्यता छ। तर बाटो मर्मतका लागि चासो र चिन्ता कसैको छैन्। सुदूरपश्चिम प्रदेश सरकारले अघिल्लो वर्ष यो सडकलाई गौरवको योजना भन्दै १३ करोड विनियोजन गरेको थियो। त्यो रकमले काम नै हुन सकेन्। यो वर्ष पनि ६ करोडजति बजेट विनियोजन गरिएको भनिए पनि सडक विस्तार र मर्मतको काम थालिएको छैन्।

बर्खा सुरुसँगै अवरुद्ध सडक नखुल्दा बाजुराको उत्तरी क्षेत्र, हुम्ला र मुगुको खत्याड भेगमा दैनिक उपभोग्य सामानको चरम अभाव भएको छ।

सडक सञ्चालनमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार उदासीन देखिएका छन्। बर्खा सुरुसँगै अवरुद्ध सडक नखुल्दा बाजुराको उत्तरी क्षेत्र, हुम्ला र मुगुको खत्याड भेगमा दैनिक उपभोग्य सामानको चरम अभाव भएको छ। उपलब्ध सामानलाई पनि महँगो मूल्य तिर्नुपर्ने बाध्यतामा छन् स्थानीय।
यो समस्या अझै लम्बिने संकेत देखिएको नागरिक अगुवा जनेश भण्डारी बताउँछन्। ‘सडक मर्मतका लागि पहल गरिएको छैन्, दसंै आउन मात्र दुई साता बाँकी छ, घर फर्किनेलाई मात्र सास्ती छैन, दैनिक उपभोग्य सामानको पनि अभाव भएको छ,’ उनले भने।

हाल स्थानीय बजारमा उपलब्ध सामान पनि निकै महँगो भएको उनले बताए। प्रत्येक सामानमा व्यापारीले १० देखि २० प्रतिशत मूल्य बढाएको स्थानीयको भनाइ छ। सडक चल्दा मार्तडीदेखि कोल्टिसम्म टयाक्टरमा प्रतिकेजी ५ रुपैयाँका दरले सामान ढुवानी हुने गरेको थियो तर सडक बन्द भएपछि भरिया र खच्चडमा प्रतिकेजी ३० रुपैयाँ सामान ढुवानी हुन्छ। सडक नखुल्दा महँगी बढेको भण्डारीले बताए।

‘सडक सञ्चालनमा नल्याउँदा बिरामीलाई अस्पताल पु¥याउनसमेत सास्ती नै छ। दुःखका कुरा सुनाएर साध्य नै छैन। कति सुनाउनु। यो पटक मात्र समस्या देखिएको होइन। बर्खा लागेपछि सधै यस्तै हुन्छ,’ बाँधुका स्थानीय रणवीर भण्डारीले भने। स्याउ ढुवानी गर्न पनि खच्चड प्रयोग गर्न बाध्य भएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख गोबिन्द्र सिजापतिले बताए।

२०५६ फागुन ७ गते तत्कालीन जिल्ला सभापति लालबहादुर थापाले शिलान्यास गरेको यो सडक २० वर्षसम्म पनि उस्तै अवस्थामा छ। स्थानीय तहले आफ्नो क्षेत्राधिकारमा नपर्ने भएकाले मर्मत तथा निर्माण शीर्षकमा खर्च गर्न नमिल्ने बडिमालिका नगरपालिकाको प्रमुख पदम बडुवालले बताए। आधाभन्दा बढी सडक पर्ने बुढीनन्दा नगरपालिका भने यसबारे मौन देखिन्छ। उसले सडक मर्मतमा चासो नदेखाएको भन्दै स्थानीय आक्रोशित छन्। प्रदेश निर्वाचन ‘क’ बाट निर्वाचित बलदेव रेग्मीले सडक मर्मतका लागि सम्बन्धित निकायलाई भनेको र काम तत्काल सुरु हुने बताए। ‘दसैंमा घर जाँदा हिँड्नु पर्दैन, सडक मर्मतमा हामी जिम्मेवार भएर लागेका छौं,’ रेग्मीले भने।

२० वर्षसम्म पनि मार्तडी–कोल्टी सडकको अवस्था सुधार नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको छ। सडकका लागि कामका लागि खाद्यान्न कार्यक्रमबाट २७ करोड ४० लाख, तत्कालीन जिविस बाजुराबाट ८ लाख, कर्णाली वरिपरिको कार्यक्रमबाट ३६ लाख र उत्तरी क्षेत्रका गाबिसबाट २१ लाख र सडक विभागबाट ५ करोड गरी ३३ करोड ५४ लाख ५ हजार खर्च भएको बताइएको छ।

प्रकाशित: ७ आश्विन २०७६ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App