४ वैशाख २०८१ मंगलबार
राजनीति

समाजवादको चिनियाँ मोडल हामीलाई प्रेरणा : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ मोडलको समाजवाद नेपालका लागि प्रेरणा रहेको बताएका छन्। नेपाली क्रान्तिको आफ्नै मोडल रहेको तथा नेपाल कम्युनिस्ट पार्टीको आफ्नै मौलिक सिद्धान्त रहेको चर्चा गर्दै उनले चिनियाँ समाजवाद नेपालका लागि प्रेरणा हुने बताएका हुन्। नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको संयुक्त विचारगोष्ठीमा सोमबार प्रधानमन्त्री ओलीले नेपाल चीनको विकासे मोडेलको साझेदार बन्न चाहेको बताए।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिन फिङको नेतृत्व र त्यहाँको कम्युनिस्ट पार्टीको पछिल्लो समाजवादी मोडलको उनले प्रशंसा गरे। विश्वको सर्वशक्तिमान मुलुकका रुपमा उदाएको चीन बलियाले सानालाई हेप्ने कतिपय राष्ट्रको नीतिमा सहभागी नभएको समेत उनले बताए।
नेकपाको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध स्वार्थको लेनदेनभन्दा निकै माथि रहेको बताउँदै चीनमा सी विचारधारामा आधारित विकास मोडलले आश्चर्यजनक प्रगति गरेको र त्यसले विश्वभर बहस सिर्जना गरेको टिप्पणी गरे। ‘चिनियाँ महासचिव सीको नेतृत्वमा गठित सरकार र त्यहाँको पार्टीले अंगीकार गरेका नीतिले विश्वमा नयाँ बहस सिर्जना गरेको छ। हाल विश्वमा दोस्रो आर्थिक र औद्योगिक राष्ट्रको रुपमा उदाएको चीनको विकास र प्रगति नेपालको विकासमा उदाहरणीय साझेदारी हुन सक्छ’, प्रधानमन्त्री ओलीले भने।

ओलीले मैत्रीपूर्ण आपसी सम्बन्धमा नेपाल र चीन, दुवै देशका सरकार सचेत रहेको बताए। उनले भने, ‘नेपाल सधैं एक चीन नीतिमा प्रतिबद्ध छ। हाम्रो भूमि र आकाश छिमेकी मुलुकको विरुद्ध प्रयोग हुँदैन। कुनै पनि देशको शान्तिसुरक्षा खलबल्याउने गरी बाह्य हस्तक्षेप नेपालका लागि सह्य हुँदैन।’ नेपाल सरकार यही असोज अन्तिम साता चीनका राष्ट्रपति सीको भ्रमण गराउने तयारीमा जुटेको छ।
कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि चीनका राष्ट्रपति सीको प्रशंसा गर्दै उनकै नेतृत्वमा बनेको सरकारले दोहोरो अंकको आर्थिक वृद्धदर हासिल गरेको समेत बताए। उनले विश्वमा कुनै पनि शासन प्रणालीले दिन नसकेको आर्थिक प्रगति सीको नेतृत्वले दिएको दाबी गरे। उनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालको पूर्वाधार विकासका लागि अपरिहार्य भएको बताए। ‘सोची विचारी बिआरआईसम्बन्धी समझदारीमा मेरै प्रधानमन्त्री कालमा हस्ताक्षर भएको हो। औद्योगिकीकरण तथा समाजिक विकासमा बिआरआईको महŒवपूर्ण भूमिका रहन्छ भन्ने मेरो धारणा छ’, दाहालले भने।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले आफूहरु नेपालका कम्युनिस्ट पार्टीसँग वैचारिक छलफल गर्न हिमाल पार गरेर आएको बताए। दुवै देशका सत्तारुढ कम्युनिस्ट पार्टी मिलेर जनताको विश्वास जिती मुलुकलाई विकासको नयाँ उचाइमा पु¥याउनुपर्ने धारणा उनले व्यक्त गरे। उनले नेपाल दक्षिण एसियामा विशेषतायुक्त भू–राजनीतिक क्षेत्र भएको बताए। उनले भने, ‘नेपाल साउथ एसियामा विशेषतायुक्त भू–राजनीतिक क्षेत्र हो, त्यसकारण चीनले बिआरआई प्रोजेक्ट लिएर आएको छ।’
‘केही वर्ष यता नेकपाले पनि जबज र २१ औं शताब्दीको जनवाद भनेको छ, यो शान्तिपूर्ण रुपान्तरणको बाटो नै हो’, उनले भने, ‘सी विचारले पनि शान्तिपूर्ण विकास गर्दै जनतालाई अगाडि बढाउँछ।’ नेकपाले पनि जनताको विकासलाई अगाडि बढाउँदै गरेको बताउँदै उनले चीन नेपाललाई सहयोग गर्न तयार रहेको स्पष्ट पारे। उनले नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमण हुने बताउँदै थपे, ‘चीन नेपालको विकासमा साझेदार रहन तयार छ।’ उनले चीन काठमाडौंमा आएर सिकाउन र सँगै काम गर्न तयार रहेको बताए। ‘हामी समावेशी र आपसी हितयुक्त काम गर्नेछौं। सी चिन फिङ नेपालसँग हातमा हात मिलाएर काम गर्न चाहनुहुन्छ। उहाँको धारणाअनुसार कम्युनिस्ट पार्टी जनताको जीवनस्तर उकास्ने काममै लाग्नुपर्छ’, उनले भने।

कार्यक्रममा नेकपा स्कुल विभागका प्रमुख ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा अघि सारेको बिआरआई विश्वकै ठूलो परियोजनाका रुपमा चर्चित रहेको बताए। यसमा विश्वका ६५ भन्दा बढी देशले सहभागिता जनाइसकेको उनले जानकारी दिए।

प्रकाशित: ७ आश्विन २०७६ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App