६ वैशाख २०८१ बिहीबार
अर्थ

पर्यटकलाई खोटाङ आउन निम्ता

खोटाङ – सुनसरीको धरानमा आयोजित इस्ट टुरिजम मार्ट–२०१९ मा खोटाङको धार्मिक तथा पर्यटकीयस्थबारे प्रचार–प्रसार गरिएको छ। सोमबार सम्पन्न तीनदिने इस्ट टुरिजम मार्टमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र रहेका रुपाकोट, मझुवागढी, भुलभुले देउधाम, साप्सु धाप, एलम्बर पार्कलगायत धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्रबारे प्रचार–प्रसार गरिएको हो।

नगर क्षेत्रमा भएका धार्मिक तथा पर्यटकीय स्थलबारे प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तीन कर्मचारी मार्टमा खटाएको थियो। इस्ट टुरिजम मार्टमा सहभागिताका लागि पुगेको टोलीले तीन दिनसम्म स्टल राखेर नगरपालिकाभित्रका पर्यटकीयस्थलको तस्बिर, ब्रोसर र ब्यानरका माध्यमबाट पर्यटकीय क्षेत्रबारे जानकारी गराएको हो।

मार्टमा आएका पर्यटकलाई खोटाङको पर्यटकीय क्षेत्रबारे परिचय गराउँदै घुमफिरका लागि निम्तो गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सुवास राईले बताए। ‘पाहुँनालाई हाम्रो नगरपालिकाभित्र भएका पर्यटकीय क्षेत्रबारे जानकारी दियौं, रुटबारे बतायौं, जानकारीमूलक ब्रोसर बाँडेका छौं,’ राईले भने, ‘एकपटक घुम्न आउनका लागि नगरपालिकाकातर्फबाट गेस्टलाई आग्रह गरेका छौं।’ नगरपालिकाको पर्यटन प्रवद्र्धनसम्बन्धी स्टललाई प्रदेश १ मुख्यमन्त्री शेरधन राईलगायतले अवलोकन गरेका छन्।

पूर्वी नेपालको पर्यटन व्यवसाय प्रवद्र्धन र विकासका लागि पूर्वका पर्यटन व्यवसायीले इस्ट टुरिज्म मार्ट आयोजना गरेको हो। मार्टमा आएका ११ भुटानी पर्यटन व्यवसायी हलेसी आउने जानकारी आएको उद्योग वाणिज्य संघ खोटाङका पूर्वअध्यक्ष राजेन्द्र लयालुले बताए। खोटाङमा त्रि–धार्मिकस्थल हलेसी, किरात समुदायको ऐतिहासिक स्थल तुवाचुङ, रुपाकोट, दिक्तेलको मझुवागढी, भुल्के, टेम्के, बराहपोखरीलगायत धार्मिक तथा पर्यटकीय स्थल छन्।

प्रकाशित: ७ आश्विन २०७६ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App