coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपामा मौलिकताको खडेरी

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले सोमबारचिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग प्रशिक्षण लिएका छन्। प्रशिक्षण मंगलबार पनि चल्नेछ। नेकपाका नेताले चिनियाँ कम्युनिस्ट पार्टीका नेताबाट प्रशिक्षण लिएसँगै सात दशक लामो नेपालको वामपन्थी आन्दोलनको मौलिकता र यस्ता प्रशिक्षणले भू–राजनीतिमा पार्न सक्ने प्रभावबारे बहस सुरु भएको छ।

नेपालको ठूलो र सत्तासीन वामपन्थी दलले सुरुदेखि नै माक्र्स, लेलिन, एंगेल्स र माओको विचारधारा मार्गदर्शन मानेर राजनीति गरे पनि त्यसमा बेलाबेलामा विचलन आएका बेला प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा झण्डै दुईतिहाइ बहुमत नजिक पुगेपछि फेरि कम्युनिस्ट सिद्धान्तको धङधङी सुरु भएको हो। अहिले नेकपाले चिनियाँ कम्युनिस्ट पार्टीका सर्वोच्च नेता सी चिनफिङको विचार अपनाउन खोज्नुलाई पनि त्यही धङधङीको निरन्तरताको रूपमा व्याख्या गर्न थालिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नेकपा आफ्नो मौलिकपन छाडेर एकदलीय साम्यवादतर्फ उन्मुख भइरहेको आरोप लगाइरहेका बेला चिनियाँ पार्टीका नेताबाट दिइएको प्रशिक्षणले पनि यो आरोपलाई अझ बलियो बनाएको छ।

राजनीतिक विश्लेषक विष्णु सापकोटा नेकपामा सी विचारधाराको प्रशिक्षणलाई नेपाली वामपन्थी आन्दोलनमा मौलिकताको खडेरीका रूपमा अथ्र्याउँछन्। ‘सात दशकको अवधिमा नेपाली वामपन्थीमा मौलिकताको खडेरी देखियो। माक्र्स, लेनिन, माओ हुँदै सी विचारधाराको अनुशरणले नेपालको वामपन्थी आन्दोलनले आफ्नै मौलिक विचार सिर्जना गर्न नसकेको देखाउँछ,’ उनले भने। सापकोटा माक्र्सवादको दायराभित्र रहेर नेपालका कम्युनिस्ट मौलिक किसिमको विचार प्रतिवादन गर्नुको साटो अरु कसैको विचारमाथि निर्भर हुँदै गएको बताउँछन्। उनी यसलाई नेपालका वामपन्थी दलमा देखिएको नीति शून्यता र विचार शून्यताको परिणाम ठान्छन्। पार्टी विचार शून्य हुँदै गइरहेका बेला नेकपाले कार्यकर्ता भुलाउन सी विचारधारा अघि सारेको उनको तर्क छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नेकपा आफ्नो मौलिकपन छाडेर एकदलीय साम्यवादतर्फ उन्मुख भइरहेको आरोप लगाइरहेका बेला चिनियाँ पार्टीका नेताबाट दिइएको प्रशिक्षणले पनि यो आरोपलाई अझ बलियो बनाएको छ।

सत्तारूढ नेकपाले पार्टीका नेतालाई सी विचारधाराबाट प्रशिक्षण दिँदै गर्दा अब उक्त दलले कस्तो रणनीति अवलम्बन गर्छ भन्ने कुराको पनि प्रश्न खडा भएको छ। नेकपाले लोकतन्त्रको माध्यमबाट समाजवादमा जाने घोषणा गरिसकेको छ। जबकी सी विचारको अनुशरण र लोकतन्त्रको अभ्यास एकैपटक सम्भव नहुने राजनीतिक विश्लेषक बताउँछन्। राजनीतिक विश्लेषक सापकोटा सी विचारधारा र लोकतन्त्र एकैपटक अनुसरण गर्न सम्भव नहुने बताउँछन्। चीनले अवलम्बन गरेको खुला अर्थतन्त्रमार्फत आर्थिक विकास गर्ने योजनालाई पनि नेपालका कम्युनिस्टले स्वीकार नगर्ने भएकाले खुला अर्थतन्त्रको विरोध र सी विचारधाराको अनुशरण पनि आफैंमा विरोधाभाष हुने सापकोटाको तर्क छ।

कांग्रेस नेता बालकृष्ण खाँणले त सोमबार एक कार्यक्रममा नेकपालाई चिनियाँ कम्युनिस्ट पार्टीको भ्रातृ संगठनको संज्ञा नै दिए। उनले चिनियाँ कम्युनिस्ट पार्टी कसरी चलेको छ र चीनमा कसरी जनतालाई नियन्त्रणमा राखिन्छ भन्ने कुराको प्रशिक्षण दिन चिनियाँ नेता नेपाल आएको आरोप लगाए।

नेपालमा शक्ति राष्ट्रको चासो बढिरहेका बेला सत्तारूढ नेकपाभित्र चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गरेको सी विचार धारासम्बन्धी प्रशिक्षण दिने विषयले भूराजनीतिक रुपमा पनि अर्थ राख्ने जानकार बताउँछन्। परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराई सत्तारुढ दलले कुनै निर्णय गर्दा धरातलीय यथार्थको पनि हेक्का राख्नुपर्ने बताउँछन्। चीन उदयीमान विश्व शक्ति बन्ने तयारीमा रहेकाले ऊससँगको सम्बन्ध विस्तार गर्नुपर्ने भए पनि त्यसले कुनै अर्काे छिमेकी वा मित्र राष्ट्रसँगको सम्बन्धमा असर पुग्न नहुने भट्टराईको तर्क छ। ‘चीनसँग सम्बन्ध विस्तार गर्नुपर्छ तर यसले अरुलाई सशंकित बनाउने काम गर्नुहुँदैन,’ उनले भने। नेपालमा शक्ति राष्ट्रको ध्यानकेन्द्रित भएकाले यसको सही व्यवस्थापन गर्न नसके समस्या निम्तिन सक्ने उनको तर्क छ।

सत्तारूढ दलले एउटा शक्ति राष्ट्रको अनुसरण गर्दैगर्दा अर्को राजनीतिक दलले अर्को देशको कुनै दललाई यसरी नै अघि सार्दै अघि बढे मुलुकको राष्ट्रियता कमजोर बन्न पुग्ने उनको बुझाइ छ। मुलुकको अर्को कुनै दलले भारत, अमेरिका वा अर्को कुनै मुलुकको राजनीतिक सिद्धान्त र बाटोमा हिँड्ने घोषणा ग-यो भने त्यसविरुद्ध नेकपा नेतृत्वको यो सरकारलाई प्रश्न उठाउने नैतिक अधिकार यसले समाप्त गरेको जानकार बताउँछन्।

प्रशिक्षणलाई लिएर नेकपाभित्र पनि असन्तुष्टि बढेको छ। पार्टीको विदेश विभागले एकअर्काको देशको विचार आदानप्रदानको कार्यक्रम राख्न सकिने धारणा राख्दै नेकपाका एक नेताले भने, ‘तर स्कुल विभागमार्फत कार्यक्रम गर्दा हामी नेकपा चिनियाँप्रति लोयल भएको सन्देश गयो। यसले पार्टीलाई हित गर्दैन।’

प्रकाशित: ७ आश्विन २०७६ ०१:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App