१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रकमान्तरबारे छानविन गर्न समिति गठन

फाइल तस्बिर

सुर्खेत - कर्णाली प्रदेशको सार्वजनिक लेखा समितिले अघिल्लो आर्थिक वर्षमा गरिएको रकमान्तर र खर्चका विषयमा छानविन गरिरहेका बेला प्रदेश सरकारले छुट्टै छानविन समिति गठन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भिमबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गर्ने निर्णय गरेको हो।

‘अघिल्लो आर्थिक वर्षको बजेट, खर्च प्रक्रिया, डिपीआरलगायतका विषयमा सार्वजनिक रुपमा टिकाटिप्पणी हुन थालेपछि छानविन समिति गठन गरेका हौं,’ सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्, ‘समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समय दिएका छौं।’ उनले सार्वजनिक लेखा समितिले पनि यस विषयमा छानविन गरिरहेको बताउँदै सरकार आफैले पनि छुट्टै समिति गठन गरेर छानविन गर्न थालेको बताइन्।

कर्णाली–रारा पर्यटन वर्ष, आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर अनावश्यक गाडी खरिद गरेको, डिपिआरका नाममा करोडौं रुपियाँ खर्च गरेकोलगायतका आरोपहरु प्रदेश सरकारमाथि लागेका छन्। ‘लेखा समितिले मागेका आवश्यक कागजातहरु प्रदेश सरकारले उपलब्ध गराएको छ, हामीले पनि छानविन गर्न समिति गठन गरेका छौं,’ प्रवक्ता केसीले भनिन्, ‘छानविन समितिको प्रतिवेदनका आधारमा सरकार अघाडी बढ्छ।’

यस्तै मन्त्रिपरिषद् बैठकले बजेट कार्यान्वयनमा सहजताका लागि आदेश जारी गर्ने निर्णय गरेको छ। कर्णाली प्रदेश विनियोजन ऐन–२०७६ को दफा ९ बमोजिम बजेट कार्यान्वयन सहजताका लागि आदेश जारी गर्ने निर्णय वैठकले गरेको मन्त्री केसीले जानकारी दिइन्। प्रदेश विनियोजन ऐन २०७६ को दफा ९ मा ‘ऐन कार्यान्वयन गर्दा कुनै बाधा उत्पन्न भएमा प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशन गरी आवश्यक व्यवस्था गर्न सक्ने’ उल्लेख गरिएको छ।

यस दफालाई टेकेर मन्त्रिपरिषदले आर्थिक वर्ष ०७६/७७ मा बढी भएको चालू खर्च पुँजीगतमा पठाउने, मन्त्रालयहरुबाट प्रस्तावित योजनामध्ये कार्यान्वयन योग्य नभएका, दोहोरो भएका योजनालाई संसोधन गरी कार्यान्वयन योग्य बनाउने निर्णय गरेको छ।

बैठकले बोनम्यारो पीडित पत्रकार डिलप्रसाद शर्मालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। सुर्खेतमा कार्यरत दैलेखका पत्रकार शर्मा हाल काठमाडौंमा उपचाररत छन्। उनको ‘बोनम्यारो ट्रान्सप्लान्ट’का लागि उपचार खर्चबापत पाँच लाख रुपैयाँ दिने निर्णय गरिएको मन्त्री केसीले जानकारी दिइन्। यस्तै करेन्ट लागेर काठमाडौंमा उपचारका क्रममा रहेका मुगुको सोरु गाउँपालिका–१ का अमर दमाईलाई पनि एक लाख रुपैयाँ उपचार खर्च सहयोग गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।

प्रकाशित: ६ आश्विन २०७६ १२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App