७ वैशाख २०८१ शुक्रबार
समाज

मिटर ब्याजी परदेशीलाई पोलिग्राफ टेष्ट गराइयो

सर्लाही– ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम परदेशी भन्ने श्याम कृष्ण साह कलवारलाई सर्लाही प्रहरीले सोमबार पोलिग्राफ टेष्ट (सत्यता परिक्षण) गराएको छ।

रौतहटको चन्द्रनिगाहपुरमा लगेर कलवारलाई पोलिग्राफ टेष्ट गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए। ‘अभियुक्त कलवारले जाहेरीकर्ताले लगाएको आरोप अस्वीकार गरेकाले, सही सत्य पत्ता लगाउनका लागि पोलिग्राफ टेष्टको प्रयोग गरेका हौं’, प्रहरी उपरीक्षक भट्टराईले नागरिक न्यूजसँग भने, ‘अभियुक्तले आरोप इन्कारी गरे थप अनुसन्धानमा पोलिग्राफ टेष्टको ठूलो भूमिका हुन्छ।’

जिल्ला प्रहरी कार्यालयको टोलीले कलवारलाई गत असाेज ६ गते साँझ मलंगवाबाट पक्राउ गरेको थियो। लालबन्दी नगरपालिका–४ निवासी रुकमिणी चौधरीले दिएको जाहेरीको आधारमा कलवारलाई पक्राउ गरी ठगी मुद्धामा कारवाही प्रकृया अगाडी बढाइएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार साढे चार लाख रुपैयाँ ऋण लिएको र ब्याजसहित पटकपटक गरेर नौलाख रुपैयाँ तिरिसक्दासमेत अझैं १५ लाखको कागज रहेको भन्दै साहले आफु र श्रीमानलाई मुद्धा हाल्ने धम्कि दिएको चौधरीको जाहेरीमा उल्लेख छ। चर्को (मिटर) ब्याज लिएर ऋण लगानी गर्दै ठगी गरेको आरोपमा पक्राउ परेका ५६ वर्षीय साहविरुद्ध सम्पति शुद्धिकरणमा समेत अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए। ‘अहिले ठगी मुद्धामा बढी प्राथमिकता दिएका छौं र सँगसँगै सम्पति शुद्धिकरणमा समेत प्रारम्भिक अनुसन्धान गर्दैछौं’, भट्टराईले भने, ‘सम्पति शुद्धिकरणको अनुसन्धानमा त हामी त्यति धेरै एक्स्पर्ट छैनौं, तैपनि प्रारम्भिक रुपमा अनुसन्धान गरिरहेका छौं।’ सम्पति शुद्धिकरण विभागले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई त्यस सम्बन्धी अनुसन्धान गर्न पत्र नै पठाएको थियो।

आइतबार साँझ काठमाडौं जाने तयारी साथ घरबाट बाहिर निस्कने बितिकै प्रहरीले साहलाई मलंगवाबाट पक्राउ गरेको हो। आफ्नाे नभई छोरी, ज्वाँईलगायत आफन्तको नाममा कागज गराउने गरेकाले सम्पति शुद्धिकरणमा समेत साह उम्कन सक्ने सम्भावना रहेको एक जानकार बताउँछन्।

मिटर ब्याजी (सुदखोर)को रुपमा चर्चा कमाएका साहविरुद्ध केही दिनअघि ऋण पीडितहरुले काठमाडौंमै निरन्तर दबाबमूलक प्रदर्शन गरेका थिए। एक पटक लिएको ऋणको ५ वटासम्म छुट्टाछुट्टै तमसुक बनाएर ५ गुणा बढी ऋण देखाउने गरेको पीडितहरुको आरोप छ।

बकाईदा ल्याप्चे हानिएको तमसुक नै भएपछि परदेशी कानूनी रुपमा बलियो रहेको र अदालतबाट धमाधम मुद्धा जितिरहेको र ऋणीहरु भने धमाधम जेल जान बाध्य भइरहेका थिए। महिला त्यसमाथि अनपढ ऋणीलाई चार, पाँच वटा कागजमा सहीछाप गराउने गरेको पीडितहरुले आरोप लगाउँदै आएका छन्।

परदेशीले कतिपय ऋणीलाई मिनाहाका लागि यौन आशयको प्रस्तावसमेत गर्ने गरेको पीडितहरुले खुलेआम आरोप लगाउँदै आएका छन्। परदेशीले २ सय ९९ जना ऋणीविरुद्ध अदालतमा मुद्धा दिएको र त्यसमध्ये कतिपय ऋणी जेल गईसकेका छन् भने कतिपयको नाममा पक्राउ पूर्जी जारी भएको छ। पक्राउ पूर्जी जारी भएका परदेशीका दर्जनौं ऋणीहरु लुकेर बस्न बाध्य छन्।

केही वर्षअघि आफ्नाे घरमा काम गर्ने एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपसमेत लाग्यो परदेशीमाथि। तर पीडित परिवारलाई आर्थिक प्रलोभनमा पारेर अदालतको बयानमा बालिकालाई बयान फेर्ने गराइएपछि साह थुनामुक्त भएको प्रहरी स्रोतले जनायो।

यता परदेशीले भने आफूविरुद्ध ऋण तिर्न नचाहनेहरुको भिड संगठित भई लागेको बताउँदै आएका छन्। ‘मैले पटक–पटक ताकेता गर्दा पनि सावा र ब्याज नै नतिरेपछि बाध्य भएर अदालतमा मुद्धा हालेको हुँ’, साहले भने, ‘मलाई पनि यो मुद्धा मामलाको लफडा गर्ने रहर कहाँ छ र?’ आफूले ऋण लिए अनुसार बाहेक ४–५ वटा कागजमा सहीछाप नगराउने गरेकोसमेत उनले दाबी गरेका छन्।

प्रकाशित: ६ आश्विन २०७६ १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App