७ वैशाख २०८१ शुक्रबार
कला

राजधानीमा देवुको एकल नृत्य साँझ हुने

काठमाडौं– यही असोज ८ गते राजधानीमा नृत्य निर्देशक देवु वोराले एकल नृत्य कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। हिमाल डेन्टल हस्पिटलको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा वोराले विभिन्न लोकप्रिय गायकका स्वरमा सजिएका कालजयी १६ वटा गीतमा नृत्य प्रस्तुत गर्ने छन्। कार्यक्रममा उनका शिष्यहरुले उनलाई साथ दिने छन्।

विगत लामो समयदेखि आफ्नो मौलिक पोशाकमा सुदूर र मध्यपश्चिमको गीत संगीतलाई नृत्यका माध्यमबाट देश विदेशमा चिनाइ राखेका देवु वोरा क्यान्डिल नृत्यबाट चिनिएका थिए। पुख्र्यौली घर बैतडी भई धनगढी कैलालीमा जन्मेका वोरा गत फाल्गुनमा अमृत भादगाउँलेको संयोजनमा भएको डीक्रादेवी एकल गायन कार्यक्रममा ठाडी भाकामा गरेको गीतमा नृत्य गरेपछि अझ बढी चर्चामा आएका थिए। उनकी जीवन साथी जमुना नाटक क्षेत्रमा राम्रो अभिनय गर्ने प्रतिभाका रुपमा चिनिन्छन्। सुदूरपश्चिम डोटीमा संयोगले भेटिएका  नीर शाहले उनको नृत्य मनपराएर उनलाई काठमाडौं बोलाई हालको नेपाल प्रज्ञा प्रतिष्ठानमा जागिर मिलाइ दिनुका साथै विभिन्न कार्यक्रममा नृत्य गर्ने मौका पनि दिलाएका थिए। विभिन्न जातजातिका पोशाक लगाएर नृत्य गर्न सिपालु वोराले सुदूरपूर्वका पनि थुप्रै गीतमा कोरियोग्राफी गर्नुका साथै नृत्य प्रस्तुत गरिसकेका छन्।

प्रज्ञाप्रतिष्ठानको जागिर छुटेपछि पछिल्ला दिनमा काठमाडौं कालोपुलस्थित प्रशिध्दि कला समुह चलाएर बसेकाले पाँच सय जतिलाई नृत्य सिकाइ सकेका छन्। वोराको बारेमा धेरै पटक कलम चलाएका सांस्कृतिक अध्यता हेमन्त विवशले हिमाल डेन्टल हस्पिटलका अध्यक्ष डा. राजेन्द्र भट्ट सामु वोराको एकल नृत्य साँझको प्रस्ताव राखे पछि उनले मध्य तथा सुदूरपश्चिमको लागि तय गरेका आफ्ना अन्य योजनाहरुलाई थाति राखेर उक्त कार्यक्रम अघि सारेका हुन्। डा.भट्ट राम्रा गीतकार हुनुका साथै मध्य तथा सुदूरपश्चिमको गीत संगीत र संस्कृतिको बारेमा राजधानीमा विगतका दिनदेखि नै बिभिन्न काम गर्दै आइरहेका छन्। उनको रचना रहेका सुरेश शाहीले स्वर दिएको कर्मभूमि जहाँ भए नि जन्मभूमि हो मेरो पश्चिम नेपाल बोलको गीतलगायत केही गीतहरु निकै नै चर्चित छन्। उनले आफ्नो हिमाल डेन्टल कलेजमा आर्थिक हिसावले कमजोर विद्यार्थीहरुलाई छात्रवृत्तिमा पढाइरहनुका साथै मध्य तथा सुदूरपश्चिमको भाषा संस्कृति र गीतसंगीतमा समेत योगदान दिइरहेका छन्। 

आज पत्रकार सम्मेलनमा बोल्दै डा.भट्टले गीत संगीत र संस्कृतिका क्षेत्रमा वर्षेनी पचास हजार राशीको हिमाल डेउडा रत्न पुरस्कार प्रदान गर्ने समेत घोषण गरे। यही वर्षदेखि वितरण हुन गइरहेको उक्त पुरस्कारको राशी आगामी वर्षमा पाँच लाख पुर्याउने लक्ष्य रहेको समेत उनले बताए। कार्यक्रम सफल तुल्याउन सांस्कृतिक अध्यता हेमन्त विवश र गायक डबल बोहराले सघाइरहेका छन्। बुधबार अपरान्ह ४ बजे सुरु हुने कार्यक्रमा प्रवेश निःशुल्क रहेको समेत जानकारी गराएका छन्। 

प्रकाशित: ६ आश्विन २०७६ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App