ओस्लोमा रागोसको भ्रमण वर्ष प्रचार अभियान
ओस्लो (नर्वे)– नेपाल सरकारले मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुराउने भन्दै रेगुलर एथेलिक्टस ग्रुप अफ स्टुडेन्टस (रागोस)ले नर्वेको ओस्लोमा भ्रमण वर्षको प्रचार थालेको छ। सरकारले भमण वर्ष मनाएर सन २०२० मा २० लाख पर्यटक भित्रयाउने लक्ष्य राखेको छ।
सरकारको लक्ष्यलाई आफनो ठाउँबाट सहयोग गर्ने भन्दै नर्वेमा अध्ययन तथा बसोबास गरिरहेका विद्यार्थीहरुको स्वतस्फुर्त समुह रागोसले ओस्लोमा प्रचार अभियान थालेको हो। प्रचार अभियानमा करिब ७० जनाको सहभागिता रहेको रागोसका एक सदस्य माधब काफलेले जानकारी दिए।
काफ्लेका अनुसार भ्रमण वर्षलाई नर्वेमा एक विदेशीले स्वतस्फुर्त रुपमा प्रचार गर्दै आएका छन्। नर्वेमा बस्ने अलेक्जेन्डर स्लोकोम्बे नामका बेलायती नागरिकले नर्वेका विभिन्न ठाउँमा नेपाली गीत गाएर भ्रमण वर्षको व्यानर सहित प्रचार गरिरहेका छन्। आफूलाई अलेक्स नेपाली भन्न रुचाउने ती व्यक्तिको नागरिकको कार्यलाई थप हौसला प्रदानको निम्ती पनि रागोस लागेको उनको भनाई छ।
आइतबार रागोसले ती नागरिक सहितको उपस्थितीमा नेपाली भेषभुषा सहित भ्रमण वर्षको प्रचार गरेको छ। सांगीतिक कार्यक्रम सहित गरिएको प्रचारमा धेरै विदेशीहरुले चासो राखेका थिए। रागोसले भ्रमण नेपालको प्रचारमा आगामी दिनमा थप कार्यक्रम गर्ने योजना रहेको रागोसका अर्का सदस्य विक्रम बस्नेतले जानकारी दिए। आगामी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने कसरी सकिन्छ भनेर डेनमार्कमा रहेको नेपाली दूताबास र नेपाल पर्यटन बोर्डसँग छलफल गर्ने तयारी भइरहेको बस्नेतको भनाई छ।