८ वैशाख २०८१ शनिबार
समाज

चार वर्षपछि बालविवाह आरोपितलाई कैद सजाय

सप्तरी- बालविवाह र बहुविवाहको आरोप लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका– ३ तरहीका ४१ वर्षीय हुलासप्रसाद साहलाई चार वर्षपछि कैद सजाय र जरिवाना गरिएको छ। सप्तरीको कञ्चनरुप नगरपालिका– ६ (पूर्वपिप्रा गाउँ)की १४ वर्षीया बालिकासँग विवाह गरेका साहलाई जनकपुर उच्च अदालतको राजविराज इजलाशले एक वर्ष कैद र पाँच हजार जरिवाना गर्नाका साथै बालविवाह गरेकामा १० हजार रुपैयाँ जरिवाना गरेको थियो।     

मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठसमेतको इजलासले बालविवाह गराइदिएकामा सोही स्थानका बालिकाका बुबा सागर साहलाई एक हजार जरिवाना तोकेको थियो। इन्सेकका जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेल नेतृत्वको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कङ्कालिनी मन्दिरमा ०७२ जेठ १५ गते आरोपीले बालविवाह र बहुविवाह गरिरहेको भन्दै सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकामा प्रहरीले आरोपीलाई तत्कालै पक्राउ गरेको थियो।     

जनकपुरको भानु चोककी बीनादेवी साहसँग २०५० सालमा पहिलो विवाह गरेका आरोपीका जेठी श्रीमतीतर्फ २३ वर्षीया एक छोरी छ। जेठीबाट छोरा नभएको भन्दै आरोपीले बालिकासँग दोस्रो विवाह गरेका थिए। सो मुद्दामा जिल्ला न्यायाधीश विनोदकुमार गौतमको इजलासले विसं ०७३ चैत २१ गते आरोपीलाई सफाइ दिने फैसला गरेको थियो।     

विवाह भइरहेको जानकारी गराए लगत्तै प्रहरीले आरोपीलाई पक्राउ गरेको भए वा विवाहपछि पक्राउ परेका आरोपीविरुद्ध जिल्ला अदालतले सफाइ नदिएको भए बालविवाह र बहुविवाह रोकिने सम्भावना थियो तर चार वर्ष ढिलो फैसला हुँदा कसुरदारलाई सजाय भए पनि विवाह भने बदर हुन नसकेको अधिवक्ता मीना देवले बताइन्। रासस

प्रकाशित: ६ आश्विन २०७६ १०:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App