७ वैशाख २०८१ शुक्रबार
समाज

अवतारको पुर्नजन्म

धरान– झण्डै ५ महिना अघिसम्म धरान १६ का ३२ वर्षीय अवतार श्रेष्ठ घरपरिवार र समाजको लागि बोझ झैं बनिसकेका थिए। उनी स्कुल पढ्दानै लागुपदार्थ दुर्व्यसनको कुलतमा फसिकेका थिए। परिवार र समाजको अघि उनी ‘बिग्रिएको केटो’मा दरिएका थिए।

परिवार र समाजको नजरमा बिग्रिएका तिनै अवतारले अहिले नयाँ ‘अवतार’ लिएका छन्। उनले ५ महिनाको कठोर प्रयासमा दुर्व्यसनबाट मुक्ति मात्र पाएनन्, भर्खर वीरगञ्जमा सम्पन्न ओपन रेन्बो क्लासिक राष्ट्रिय बडिविल्डिङ च्याम्पियनसिपको मेन्स फिजिक्समा विजेता बन्न सफल भए। नेपालभरका १३ जना खेलाडीलाई पछि पार्दै अवतारले ५१ हजार नगदसहित च्याम्पियन बनेपछि हिजो छिःछिः गर्दै टाढिनेहरु अहिले उनको प्रसशंसक बनेका छन्। उनका साथीभाई र परिवार उनीसँग असाध्यै खुशी छन्। त्यो खुशी देखेर अवतार पनि मख्ख छन्। ‘म त खुशी छु, अझ मभन्दा पनि मेरो साथीभाई र परिवार असाध्यै खुशी छन्,’अवतारले भने ‘अस्तिसम्म त्यसरी लगत बाटोमा हिँडेको छोरा अहिले सुध्रिएको छ, बडिबिल्डिङमा त टाइटल नै जितेर आउदा परिवारमा खुशी छाएको छ।’

क्लासिक बडिबिल्डिङ मेन्स फिजिक्स सामान्यतः हुने शारीरिक सुगठन प्रतियोगिता जस्तो होइन्। यसमा मात्र ४ पोज हुन्छ। ती पोज पनि बल प्रयोग गरेर नभै मोडल फिटनेशकोरुपमा प्रस्तुत हुन्छ। यो प्रतियोगितामा धरानसँगै नेपालगञ्ज, विरगञ्ज, काठमाडौं, चितवन, बुटवल, झापालगायत क्षेत्रबाट खेलाडीहरु पुगेका थिए। त्यसैले उपाधि जित्नु चानचुने कुरा थिएन। तर, प्रशिक्षक पुर्ण तामाङको निरन्तरको हौसलाले अवतार प्रतियोगितामा भाग लिन पुगे, र च्याम्पियन नै बने। ‘प्रशिक्षकको ठुलो योगदान छ, उहाँकै प्रेरणाले म अहिले यो ठाउँमा छु, ’भावुक हुदै अवतारले भने,‘पहिलो पटक सहभागी हुँदा नै टाइटल जिते, सोचेकै थिइन।’

अवतार असोज ३ र ४ गते आयोजित प्रतियोगितामा च्याम्पियन बनेर आएपछि सोमबार सञ्जिवनी सुधार केन्द्रले उनी र प्रशिक्षक पुर्ण तामाङलाई सम्मान गरेको थियो। अवतारले सञ्जिवनीमा नै तीन महिना उपचारमा रहेर लागुपदार्थ त्यागेका थिए।

कलिलैमा दुर्व्यसनमा
धरानको ठुलो समस्या लागुपदार्थ दुर्व्यसन हो। यहाँका अत्याधिक किशोरकिशोरी र युवाहरु कुलतमा फसेका हुन्छन्। अवतार पनि करिब १३ वर्षको उमेरमा नै कुलतमा फस्न पुगे। उनले बेलाबेला लागुपदार्थ छोड्थे, तर पुनः लतमा फसिहाल्थे। यसरी नै युवा उमेरको लामो कालखण्ड उनले पार गरे। ‘म छोड्छु भन्थे, प्रयास पनि गर्थे तर सक्दिनथें, फेरि शुरु भैहाल्थ्यो,’उनले भने,‘म के गर्दैछुँ, के छुँ भन्ने केही होस नै पनि थिएन।’

अभिभावक, आफन्तहरु अवतारको भविष्यप्रति चिन्तित थिए। उनी आफै पनि नशाबाट मुक्ति चाहन्थे। त्यसैले धरान १३ स्थित सञ्जिवनी सुधार केन्द्रमा उनी पुगे। त्यहाँ दुर्व्यसनबाट मुक्त गराउन ३ महिना राख्ने गरिन्छ। त्यही समयमा अवतारले लागुपदार्थलाई बिर्सदै गए भने उनले जिम गर्न पनि शुरु गरेका थिए।

केन्द्रबाट निस्कदा अवतार दुर्व्यसन मुक्त भइसकेका थिए। बाहिर आएपछि पनि उनले जिम गर्न छोडेनन्। उनका प्रशिक्षक पुर्ण तामाङले अवतारमा क्षमता देखेपछि प्रतियोगितामा भाग लिन सुझाव दिए। ‘अहिले म आफैलाई देखेर अचम्मित छुँ, कुनै दिन यसरी सुध्रिएर सम्मान पाउछुँ भन्ने सोचेको थिइन्,’उनले भने। बलियो इच्छाशक्ति हुँदा असम्भव भन्ने केही छैन भन्ने उदाहरण अवतारले प्रस्तुत गरेको सञ्जिवनीका अध्यक्ष सम्पुर्ण ताम्राकारले बताए।

अवतारको सफलताले गर्दा उपचारमा रहेका अन्य युवाहरुलाई पनि प्रोत्साहन मिलेको उनको भनाई छ। ‘अवतारको सफलताले गर्दा उपचार सकेर हामी पनि जिम जान्छौं भन्नेहरु थुप्रै छन्, केन्द्रमा पनि जिम गरिरहेकाहरु छन्,’उनले भने,‘जो दुर्व्यसनमा छ, तर त्यसबाट मुक्ति चाहनेहरुलाई हौसला, प्रेरणा मिलोस् भनेर अवतारलाई सम्मान गरिएको हो।’

सञ्जिवनीका अध्यक्ष ताम्राकार आफै पनि दुव्र्यसन त्यागेका युवा हुन्। समाजले दुर्व्यसनलाई लगत नजरले हेर्ने र अपहेलित गर्ने गरेको छ। ‘दुर्व्यसनमा फसेकाहरुलाई अपहेलना गर्नुभन्दा उपचार गराउनुपर्छ, म आफै पनि पहिला युजर हुँ, परिवर्तन हुनसक्छौं,’उनले भने, ‘अवतारले त झन् ५ महिनाभित्र नै सुध्रिए, र मेडल नै जिते।’

प्रकाशित: ६ आश्विन २०७६ ०९:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App