८ वैशाख २०८१ शनिबार
समाज

त्रिविमा सेमेस्टर प्रणाली पनि अस्तव्यस्त

काठमाडौं— त्रिभुवन विश्वविद्यालयले तीन वर्षअघि केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि सिन्धुलीका लोकेन्द्र कार्की खुसी हुँदै भर्ना भए ।

उनको खुसीको एउटै कारण थियो सेमेस्टर प्रणालीमा समयमै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन भई तह पूरा होला भन्ने आशा । उनले वार्षिक प्रणालीमा सास्ती भोगेका थिए । स्नातक तह अध्ययन गर्दा समयमा परीक्षा र नतिजा प्रकाशन हुन नसक्दा चारवर्षे कोर्स सकिन साढे पाँच वर्ष लागेको थियो ।

शिक्षाशास्त्र संकायको गणित विषयमा भर्ना भएका कार्कीको खुसी धेरै दिनसम्म टिक्न सकेन । सेमेस्टर प्रणालीको पहिलो ब्याचका कार्कीले पहिलो सेमेस्टरदेखि नै सास्ती खेप्नुपर्‍यो। तीन वर्षअघि भर्ना भएका कार्कीको स्नाकोत्तर तह यति बेला सकिइसक्नुपथ्र्यो तर उनी अझै थेसिस तयारी गर्दैछन् ।

‘हाम्रो सेमेस्टरको नतिजा चार महिनामा आइरहेको छ,’ कार्कीले भने, ‘कोर्स दुई वर्षमा पूरा हुनुपथ्र्यो, तीन वर्ष हुन लाग्यो । थेसिसको प्रपोजल लिएर जाँदा शिक्षक भेटिँदैनन् ।’

मानविकी संकायअन्तर्गत अर्थशास्त्रमा स्नातकोत्तर गर्दै गरेका प्रदीप लामिछानेका अनुसार शिक्षक केन्द्रित पठनपाठनमै अल्झिएकाले सेमेस्टरको मर्मअनुसार सिर्जनात्मक र विद्यार्थी केन्द्रित पठनपाठन अझै हुन सकेको छैन । ‘त्रिविले एसियाली विकास बैंकको दबाबमा हतारमा  बिनातयारी सेमेस्टर प्रणाली लागू ग¥यो तर कक्षाकोठा र शिक्षकलाई भने त्यसअनुसार तयार पारेन,’ लामिछानेले नागरिकसँग भने । उनले थपे, ‘दोस्रो सेमेस्टरको नतिजा नौ महिनामा आएको थियो।’

यो समस्या एकदुई विद्यार्थीको मात्र नभएर त्रिविका सबै केन्द्रीय विभागको हो । रत्नराज्य क्याम्पसमा पत्रकारितामा स्नातकोत्तर गर्दै गरेकी सोनिका लामिछाने २०७१ चैतमा प्रथम सेमेस्टरमा भर्ना भइन् । हाल उनी चौथो सेमेस्टरमा हुनुपर्नेमा परीक्षा र नतिजा प्रकासनमा ढिलाइकै कारण तेस्रो सेमेस्टरमा छिन् । ‘वार्षिक प्रणालीमा स्नातकोत्तर भर्ना भएका अन्य विषयका साथीहरूको अन्तिम परिक्षा मंसिरको अन्तिम साताबाट सुरु हुँदैछ,’ उनले भनिन्, ‘तर सेमेस्टरमा छिटो सक्नुपर्ने हामी तेस्रो सेमेस्टरमै छौं ।’ विद्यार्थीले डिन कार्यालय अस्तव्यस्त हुँदा यस्तो समस्या आएको बताएका छन् ।

त्रिविले केन्द्रीय विभागहरूमा लागू गरेको सेमेस्टर प्रणालीअन्तर्गत परीक्षा र नतिजा प्रकाशनमा ढिलाइको मुख्य कारण समयमा डिन नियुक्ति नहुनु हो । त्रिवि व्यवस्थापनले सेमेस्टर प्रणाली लागू गरेपछि परीक्षा सञ्चालन, व्यवस्थापन र नतिजा प्रकाशनको सम्पूर्ण जिम्मेवारी डिन कार्यालयहरूलाई दिएको छ ।

यसअघि वार्षिक प्रणालीमा पठनपाठन सञ्चालन गरिरहँदा परीक्षाको व्यवस्थापन परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट हुने गरेको थियो ।
त्रिविले समेस्टर प्रणाली शैक्षिक स्तर सुधारका लागि लागू गरेको हो । तर, डिनहरू अल्पकालका लागि नियुक्त भएका कारण विश्वविद्यालयको पठनपाठनसमेत अस्तव्यस्त बन्दै गएको त्रिविका प्राध्यापकहरूले औंल्याएका छन्।

उपकुलपति तीर्थराज खनियाले पूर्णकालीन डिन नियुक्ति गर्न नसक्दा पठनपाठनको स्तर खस्कँदै गएको प्राध्यापकहरू बताउँछन्। अर्थशास्त्रका उपप्राध्यापक खगेन्द्र कटुवालले मानवीय स्रोत र साधन व्यवस्थापन गर्न नसकेका कारण सेमेस्टर प्रणाली व्यवस्थापनमा चुनौती थपिएको बताए।

‘तीन महिने डिनको आफ्नै पद निश्चित नभएका कारण दीर्घकालीन कार्यक्रम बनाउन सकेका छैनन्,’ उपप्राध्यापक कटुवालले भने, ‘त्रिविका ९० प्रतिशत शिक्षकलाई सेमेस्टर प्रणालीको मर्म ज्ञान छैन ।’ उनले सुझाए, ‘डिन कार्यालयले दीर्घकालीन नीति बनाएर परीक्षा सञ्चालन, नतिजा प्रकाशनजस्ता कार्य सेमेस्टरको मर्मअनुसार तय गर्नुपर्छ । शिक्षकहरूलाई पनि विद्यार्थी केन्द्रित र अनुसन्धानमूलक पठनपाठन सञ्चालन गर्न सक्षम बनाउन तालिम दिनुपर्छ ।’

विभिन्न संस्थान र संकायमा लामो समयसम्म डिन नियुक्त हुन नसक्दा त्रिभुवन विश्वविद्यालयको पठनपाठन अस्तव्यस्त हुन पुगेको छ । डिन नभएकै कारण खाली शिक्षक दरबन्दीमा नियुक्ति हुन नसक्दा आंशिकका भरमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता छ।

त्रिवि लोकतन्त्र प्राध्यापक संघका महासचिव उदय कर्णले उपकुलपति खनियाँको प्रशासनिक क्षमताको कमीका कारण विश्वविद्यालयको साख गिर्दै गएको प्रतिक्रिया दिए । विश्वविद्यालयका विभाग, संस्थान, संकाय, अनुसन्धान केन्द्र र क्याम्पसमा चारवर्षे पूर्णकालीन पदाधिकारी नहुँदा अनुसन्धान, पाठ्यक्रम परिमार्जन तथा नयाँ विषय कार्यान्वयनका सबै क्रियाकलाप ६ महिनादेखि अवरुद्ध  भएका कारण विश्वविद्यालयमा शैक्षिक विकास नभएको उनले जनाए।

उपकुलपतिको निरीहता र अकर्मण्यताका कारण विश्वविद्यालय विगतको भन्दा शैक्षिक, प्राज्ञिक मर्यादा गुमाउँदै गएकोमा कर्णले आक्रोश पोखे ।
‘उपकुलपितको मनोमानीले विश्वविद्यालयलाई सिध्याउँदैछ,’ महासचिव कर्णले भने, ‘सेमेस्टर प्रणाली राम्रो भए पनि पदाधिकारीको लापरबाहीले गुम्ने देखिन्छ ।’

त्रिवि प्राध्यापक संघ (टुटा) का सभापति योगेन्द्रनारायण बडबरियाले विगतमा उपकुलपतिले चार वर्षे पदाधिकारी नियुक्ति गर्दा विश्वविद्यालयमा शैक्षिक, प्रशासनिक र प्राज्ञिक मर्यादा कायम रहेको भन्दै हाल तीनमहिने र निमित्तका भरमा त्रिवि चल्दा अस्तव्यस्त बनेको बताए।

कुनै अप्ठ्यारो वा संक्रमणकालमा मात्र उपकुलपतिले विशेष अधिकार प्रयोग गरेर तीनमहिने नियुक्ति दिने त्रिविको नियम छ । तर, उपकुलपतिले मनोमानी तरिकाले दललाई खुसी पार्न तीनमहिने नियुक्ति दिइरहेकाले विश्वविद्यालयमा सञ्चालन गर्न चुनौती थपिएको बडबडियाको भनाइ छ । तीनमहिने नियुक्तिले दीर्घकालीन योजना बनाएर अघि बढ्न नसकिने उनले स्पष्ट पारे ।

शिक्षाध्यक्षको सिफारिसमा त्रिवि कार्यकारी परिषद्ले डिन नियुक्ति गर्नुपर्ने नियम छ । तर, राजनीतिक भागबन्डा नमिलेकै कारण उपकुलपति खनियाले तीनमहिने कार्यावधि तोकेर नियुक्ति गरिरहेको उनले बताए ।

विश्वविद्यालयमा अध्ययन संस्थान, विभाग, संकाय, अनुसन्धान केन्द्र तथा आंगिक क्याम्पसहरूमा १४ महिनादेखि  प्रमुखहरू खाली भए पनि उपकुलपतिले तीनमहिनेको भरमै विश्वविद्यालय चलाउँदा भविष्यमा ठूलो दुर्घटना हुन सक्ने प्राध्यापक बडबडियाको भनाइ छ ।
 

प्रकाशित: ८ मंसिर २०७३ ०४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App