काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनले मात्र लोकतान्त्रिक गणतन्त्र बलियो हुने बताएका छन्।
एमाले र माओवादी केन्द्रका नेतालाई मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस प्रवेश गराउँदै देउवाले भने, ‘संविधानलाई सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लैजान अब विलम्ब गर्नु हुँदैन।’
संवैधानीक व्यवस्था अनुसार नै २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको जनाउँदै देउवाले चुनावले मात्र लोकतान्त्रिक गणतन्त्र लिकमा हिँड्ने बताए। आन्दोलनका सबै उपलब्धि जोगाउँदै लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न कांग्रेसले आगामी चुनाव जित्नैपर्ने बाध्यता रहेको देउवाको भनाइ थियो।
‘बहुलवादमा आधारित लोकतन्त्रमा विश्वास गर्ने पार्टी कांग्रेस मात्र हो,’ देउवाले भने, ‘अन्य दल मल्टीपार्टी डेमोक्रेसीलाई उपयोग गरी आफ्नो अभिस्ट पूरा भएपछि अन्यत्रै लाग्न सक्छन्।’
पार्टी नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, दिलेन्द्रप्रसाद बडू, बद्री पाण्डेसहित नेताको उपस्थितिमा सभापति देउवाले माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय जगदीश पाल र परमानन्द भट्ट तथा एमाले युवा संघ डोटीका अध्यक्ष निलम साउदलाई पार्टी सदस्यता प्रदान गरेर कांग्रेस प्रवेश गराएका हुन्।
कार्यक्रममा बडूले तीनै तहको निर्वाचन पार्टीले जित्नेगरी संगठन संगठन विस्तारमा लाग्नुपर्ने बताए । आन्तरिक प्रतिस्पर्धाभन्दा एकताबद्ध भएर विपक्षीसँग लड्नुपर्ने उनको भनाइ थियो ।
प्रकाशित: ८ मंसिर २०७३ ०२:२८ बुधबार