८ वैशाख २०८१ शनिबार
समाज

पुरानो बसपार्क भ्युटावर निर्माणः ठेकेदारलाई ३ अर्ब ५० करोडको अनधिकृत जमानी

काठमाडौं— पुरानो बसपार्कमा प्रस्तावित १२ तले ‘काठमाडौं भ्युटावर निर्माण’ ठेक्का पाएको कम्पनीलाई महानगरपालिकाले अनधिकृत रुपमा ऋण जमानत दिएको छ।

महानगरपालिकाको जमानतमा ३ अर्ब ५० करोड रुपैयाँ ऋण प्रवाह गर्ने बैंकिङ प्रक्रिया अघि बढेको छ।

महानगरपालिकाले सार्वजनिक–निजी साझेदारीमा बनाउन लागेको उक्त टावर निर्माण सम्झौताअनुसार निर्माण कम्पनीले आफ्नै लगानीमा तीन वर्षभित्र टावर बनाइसक्नुपर्नेछ। निर्माणपछि कम्पनीले २७ वर्षसम्म टावर सञ्चालन गर्न पाउनेछ। त्यसपछि उसले महानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

स्थानीय भने उक्त ठाउँमा टावर निर्माण गर्नै नहुने अडानमा छन्। उपत्यकामा खुला ठाउँ मासिँदै गएको र हरियाली नहुँदा वातावरणमा नकारात्मक असर परेको भन्दै उनीहरु जसरी पनि रोक्ने अभियानमा छन्।

‘टावर निर्माणका लागि महानगरपालिका जमानी र प्रोजेक्ट धितो राखेर बैंकबाट निर्माण कम्पनीले ऋण निकाल्ने हो,’ महानगरपालिका राजस्व विभाग प्रमुख तथा टावर निर्माण समन्वय समिति पदाधिकारी  महेश काफ्लेले भने, ‘काम सकिएपछि निर्माण कम्पनीले २७ वर्ष भ्युटावर सञ्चालन गरेर महानगरपालिकालाई हस्तान्तरण गर्नेछ । निर्माण कम्पनीले बैंकलाई ऋण तिर्न नसके बैंकले नै टावर सञ्चालन गरेर ऋण असुली गर्नेछ।’

काफ्लेले भनेजसरी बैंकले ऋण उठ्न नसकेको अवस्थामा जमानतबाट असुल्नुपर्ने कानुनी अवस्था सिर्जना हुन्छ ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की भने जमानी बसेर ऋण दिने विषयमा आफूलाई जानकारी नभएको बताउँछन् । ‘निर्माण कम्पनीकै लगानीले टावर बनाइनुपर्छ,’ उनले भने, ‘जमानी बसेर ऋण दिनु हुँदैन र सम्झौतामा ऋणका लागि जमानी बस्ने भन्ने विषय पनि छैन ।’ काफ्लेले भने सम्झौताअनुसार नै ऋण लिने  प्रक्रिया बैंकमा अघि बढिरहेको बताए । यति ठूलो रकम लगानी गर्न कम्पनीले नसक्ने भएकाले प्रोजेक्ट लोन निकाल्न महानगरपालिकाकै रोहबरमा प्रक्रिया थालिएको उनले जनाए।

सम्झौताको करिब डेढ वर्षसम्म पनि निर्माण कार्य सुरु भएको छैन ।

उनका अनुसार बढीमा ३ अर्ब ५० करोडसम्म बैंकबाट निर्माण कम्पनीले ऋण निकाल्न सक्ने गरी प्रक्रिया अगाडि बढाइएको छ । ऋणका लागि दुइटा बैंकसँग कुरा भइरहेको जानकारी दिए पनि उनले नाम भने खुलाएनन् ।

निर्माण जिम्मा लिएको जलेश्वर स्वच्छन्द बिकोई कम्पनीका प्रमुख मनोज भेटवालले पनि ऋण बैंक प्रक्रियामा रहेको जनाए । कम्पनीले २०७२ भदौ ४ देखि सुविधासम्पन्न भ्युटावर बनाउन महानगरपालिकासँग नक्सा स्वीकृत गराएको थियो । नक्सा स्वीकृत भएको मितिले तीन वर्र्षभित्र काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताको करिब डेढ वर्षसम्म पनि निर्माण कार्य सुरु भएको छैन।

निर्माणका लागि आवश्यक औजार बाहिरी मुलुकबाट आउन ढिला हुँदा काम थाल्न पनि ढिला भएको कम्पनीको भनाइ छ । स्रोतले भने पैसा नभएका कारण काममा ढिला भएको र सम्झौताअनुसार काम सुरु नभएपछि महानगरपालिकाले आफू जमानी बसेर ऋण निकालिदिन खोजेको बतायो । कम्पनीले १६ गतेसम्म निर्माणका लागि आवश्यक सबै औजार आइपुग्ने र १७ गतेबाट काम थाल्ने जनाएको छ ।

कम्पनीले एक सातापछि निर्माण थाल्ने जनाए पनि स्थानीयले अवरोध गर्ने संकेत गरेका छन् । खुला क्षेत्र मास्न नहुने, बसपार्कका लागि आफ्ना पूर्वजले दिएको जग्गा अन्य प्रयोजनका लागि प्रयोग गर्न नहुने, टावर बनेपछि वातावरणमा असर पर्ने जस्ता तर्क अघि सारेर स्थानीयले टावर निर्माण गर्न नदिने जनाएका छन् । ‘कुनै हालतमा टावर बन्न दिने छैनौं,’ वसन्तपुरका शैलेश शाक्यले भने, ‘भित्रि सहरका सबैको एउटै आवाज छ, टावर बन्न हुँदैन । स्थानीयको असहमति हुँदाहुँदै निर्माण थालियो भने सबै गएर त्यहीं सुत्नेछौं ।’

पुरानो बसपार्कमा टावर निर्माण नगर्न महानगरपालिका, राष्ट्रपति कार्यालय र सहरी विकास मन्त्रालयमा ज्ञापनपत्रसमेत बुझाइसकेको उनले बताए ।

टावर निर्माण विषयमा महानगरपालिकाले भदौ पहिलो साता गरेको सार्वजनिक सुनुवाइमा समेत स्थानीयले विरोध गरेका थिए। त्यसबेला उपस्थित स्थानीयले टावर बनाउन नहुने तर्क राखेका थिए ।

नागरिकको जिज्ञासामा काठमाडौं निर्वाचन क्षेत्र ६ का सांसद भीमसेनदास श्रेष्ठले पनि त्यहाँ कुनै हालतमा टावर बनाउन नहुने बताए । पुरानो बसपार्क निर्वाचन क्षेत्र ६ मा पर्छ । ‘काठमाडौंका सबै सांसद मिलेर राजधानीमा खुला क्षेत्र चाहियो भनेर सरकारसमक्ष आह्वान गरेका छौं,’ उनले भने, ‘महानगरपालिकाले भने भएको खाली जग्गासमेत मास्न लागेको छ । यो कसरी सह्य हुन्छ ? पुर्खाले बसपार्क बनाउन उपलब्ध गराएको जग्गा जथाभाबी प्रयोग गरिनुहुँदैन।’

टावर निर्माण विषयमा महानगरपालिकाले भदौ पहिलो साता गरेको सार्वजनिक सुनुवाइमा समेत स्थानीयले विरोध गरेका थिए। त्यसबेला उपस्थित स्थानीयले टावर बनाउन नहुने तर्क राखेका थिए ।

जनताको यो आवाज आफूले सरकारसमक्ष पुर्‍याइरहेको सांसद श्रेष्ठले बताए ।

महानगरपालिकाले भने स्थानीयको सहमतिमै निर्माण प्रक्रिया अगाडि बढाएको दाबी गरेको छ । समय र सहरको आवश्यकता भन्दै सुविधासम्पन्न भवन बनाउन लागिएको उसको भनाइ छ । आसपास खाली जग्गा प्रशस्त रहेकाले पुरानो बसपार्कमा टावर बनाउँदा कुनै वातावरणीय प्रभाव नपर्ने महानगरपालिकाको दाबी छ ।

झन्डै २४ रोपनीमा फैलिएको पुरानो बसपार्कमा १२ तले टावर तीन वर्ष अर्थात् २०७५ फागुनभित्र बनाइसक्नुपर्ने सम्झौता छ ।

टावर निर्माणपछि दुई तलामा हलुका गाडी पार्किङ, व्यवस्थित सिनेमा हल, पौडीपोखरी, रेस्टुराँ, बैंक तथा महानगरपालिकाको वडा कार्यालय रहनेछन् । नेपाली कला, संस्कृति झल्किने गरी बनाइने टावरको सबैभन्दा तल्लो तलामा बस पार्किङ रहनेछ ।

टावर निर्माण शिलान्यास २०७२ कात्तिकमा उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए । त्यसैका लागि अहिले बसपार्क टुँडिखेलको खुलामञ्चमा सारिएको छ।

 

प्रकाशित: ८ मंसिर २०७३ ०२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App