७ वैशाख २०८१ शुक्रबार
समाज

भोकसँगै रोगले पनि थलिँदै कर्णाली

उपचारका लागि बिरामीलाई स्टेचरमा राखेर जिल्ला अस्पताल हुम्ला ल्याइँदै। तस्बिर ः नागरिक

नगेन्द्र उपाध्याय/गणेश विशु
सुर्खेत - प्रायः तराईमा मात्र देखिने गरेको डेंगीले यसपटक कर्णालीमा एकजनाको मृत्यु भएको छ। डेंगीबाट २१ जना संक्रमित भए। २०६६ सालमा झाडापखालाबाट जाजरकोटमा दुई सयजनाभन्दा बढीले ज्यान गुमाए। गत वर्ष पनि विभिन्न रोगको संक्रमणले जुनीचाँदे गाउँपालिकामा १३ जनाको मृत्यु भयो। गत वैशाख दोस्रो साता हुम्लाको ताँजकोट गाउँपालिकामा फैलिएको पहिचान हुन नसकेको रोगबाट आठजनाको मृत्यु भयो। असारमा दूषित पानीका कारण जाजरकोट सदरमुकाम खलंगामा झाडापखाला फैलियो।

कर्णालीका विकट जिल्लाका सर्वसाधारण अशिक्षा, गरिबी र सरसफाइको कमीले विभिन्न रोगको सिकार बन्दै आएका छन्। बर्सेनि कर्णालीको जनसंख्याको करिब आधा हिस्सा विभिन्न रोगले बिरामी हुन्छ। भोकले थलिँदै आएका कर्णालीवासी पछिल्ला वर्षमा विभिन्न रोगले पनि थलिन थालेका छन्। भोक, रोग र गरिबी कर्णालीको साझा समस्या बनेको छ।

कर्णालीका ग्रामीण बस्तीका मानिस झाडापखालाले मात्र होइन, रुघाखोकी, टाइफाइड, अम्लीयपन, श्वासप्रश्वासलगायत रोगले बर्सेनि थलिन थालेपछि यो समस्या विकराल बन्दै गएको देखिन्छ। तथ्यांक हेर्दा कर्णालीमा आव २०७५÷७६ मा आठ लाख २३ हजार ४६ जना विभिन्न रोगले थलिए। करिब १८ लाख जनसंख्या रहेको कर्णालीमा आर्थिक वर्ष २०७४÷७५ मा ६ लाख ४७ हजार एक सय ६७ जना बिरामी भए। कर्णालीका सहरबजारभन्दा ग्रामीण बस्तीका मानिस विभिन्न रोगको जोखिममा छन्।

तथ्यांक हेर्दा कर्णालीमा आव २०७५÷७६ मा आठ लाख २३ हजार ४६ जना विभिन्न रोगले थलिए। करिब १८ लाख जनसंख्या रहेको कर्णालीमा आर्थिक वर्ष २०७४÷७५ मा ६ लाख ४७ हजार एक सय ६७ जना बिरामी भएका थिए।

आर्थिक वर्ष २०७४÷७५ मा झाडापखालाबाट ४६ हजार सात सय ९४ जना बिरामी परेका थिए। यो संख्या बढेर गत आवमा ४९ हजार आठ सय ६१ पुग्यो। गरिबी, अशिक्षा, सरसफाइ, जनचेतनाको कमी, भौगोलिक विकटता, प्राकृतिक प्रकोप, खानपान तथा जीवनशैली, अशुद्ध पिउने पानी, घरबाट निस्किने धुवाँजस्ता कारणले कर्णालीका धेरै मानिस बिरामी हुने गरेको स्वास्थ्य महाशाखाका निर्देशक बृषबहादर शाहीले जानकारी दिए। विशेषगरी बालबालिकामा निमोनिया र अन्यमा रुघाखोकी, दम, ग्यास्ट्रिक, छाला, टाउको र छाती दुख्ने जस्ता समस्या देखिने गरेको उनले बताए।

कर्णालीमा धेरैलाई ग्यास्ट्रिकको समस्या छ। गत वर्ष यहाँ एक लाख २६ हजार सात सय ५४ जना ग्यास्ट्रिकबाट बिरामी भए। ग्यास्ट्रिकपछि श्वासप्रस्वासको समस्या बढी छ। कर्णाली हिमाली र पहाडी भूभाग भएकाले यहाँ अत्यधिक चिसो हुन्छ। चिसो, प्रदूषित वातावरणलगायत कारणले श्वासप्रस्वासको समस्या देखिने गरेको स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत विनोद आचार्यले बताए। उनका अनुसार यहाँका मानिसलाई लुतोले पनि सताउने गर्छ। गत वर्ष कर्णालीका ३० हजार एक सय ७९ जनालाई लुतो भएको तथ्यांक छ।

पानी र खाने चिजबाट झाडापखाला, ज्वरो, टाइफाइड जस्ता रोगको संक्रमण हुनसक्ने बताउँदै अधिकृत आचार्यले पानी राम्रोसँग उमालेर मात्र प्रयोग गर्नुपर्ने र बासी तथा सडेगलेका खानाबाट टाढै रहनुपर्ने बताए। बढ्दो प्रदूषण र धुवाँधुलोका कारण छालाजन्य रोग पनि देखिने गरेकाले आनीबानी र सरसफाइमा समेत सुधार ल्याउनुपर्ने निर्देशक शाही बताउँछन्। सरसफाइमा ध्यान पु‍¥याए ७० देखि ८० प्रतिशत रोग निको पार्न सकिने उनको भनाइ छ। भौगोलिक विकटता र स्वास्थ्य उपचारमा सहज पहुँच नहुनुले पनि कर्णालीका बासिन्दा रोगले थलिने गरेका छन्।

विभिन्न रोगका कारण बर्सेनि कतिजनाले ज्यान गुमाउँछन् भन्ने तथ्यांक भने स्वास्थ्य निर्देशनालयसँग छैन। ‘अशिक्षा र गरिबीले सरसफाइमा ध्यान पुग्दैन्,’ प्रदेश अस्पतालका चिकित्सक डा. नवराज केसीले भने, ‘सरसफाइ नहुँदा रोगको संक्रमण हुन्छ।’ कतिपय व्यक्ति बिरामी पर्दासमेत स्वास्थ्य संस्थाको सम्पर्कमा नआएको पाइएको उनले बताए। बिरामी हुँदा वा कुनै पनि रोगको लक्षण देखिँदासाथ स्वास्थ्य संस्था नजाँदा जोखिम बढ्न सक्ने भन्दै उनले रोगबाट बच्न पहिला सरसफाइ, खाना र जीवनशैलीमा ध्यान दिनुपर्ने बताए।

कर्णालीका स्वास्थ्य संस्थामा पर्याप्त पूर्वाधार नहुँदा कतिपय रोगका लागि अन्य प्रदेश जानुपर्ने बाध्यता छ। क्यान्सर, मृगौला प्रत्यारोपण, टाउको, मुटु र आँखाको उपचार र शल्यक्रिया यहाँ नहुने प्रदेश अस्पतालका सुपरिटेन्डेन्ट डम्बर खड्काले बताए। प्रदेशभित्र उपचार नहुँदा नेपालगन्ज, काठमाडौं, चितवनलगायत जिल्ला धाउनुपर्ने बाध्यता छ।
प्रदेशमा जटिलखालका रोगको उपचार नहुँदा पैसा पनि धेरै खर्च हुने गरेको छ। ‘बिरामी अवस्थामा लामो र झन्झटिलो यात्रा गर्नुपर्छ,’ दैलेख दुल्लुकी सिर्जना आचार्यले भनिन्, ‘यही प्रदेशमा उपचार भए पैसा पनि कम लाग्थ्यो र सजिलो पनि हुन्थ्यो।’ गत वर्ष कर्णालीका विभिन्न स्वास्थ्य संस्थामा भर्ना भएका १२ हजार ६ सय २७ बिरामीलाई सुविधासम्पन्न अस्पतालमा रिफर गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रकाशित: ६ आश्विन २०७६ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App