८ वैशाख २०८१ शनिबार
अर्थ

अलमल हटाउन ‘बल्क’बाट सुरुवात

भारतको उडिसास्थित धमरा बन्दरगाहको भित्री संरचना। तस्बिर : रितेश/नागरिक

वीरगन्ज – नेपालको समुद्रपार व्यापारमा ‘पारवहन असहजता’ समाधानमा भारतको उडिसा प्रान्तस्थित धमरा बन्दरगाह ‘बल्क’ र ‘कन्टेनर’ दुवै किसिमको ‘कार्गो’का लागि भरपर्दो विकल्प बन्ने देखिएको छ। अहिले प्रयोगमा रहेको पश्चिम बंगालको कोलकाताबाट साढे दुई सय किलोमिटर तथा हल्दियाबाट सय किलोमिरको दूरीमा र आन्ध्र प्रदेशको बिशाखापटनमभन्दा साढे चार सय किलोमिटर नजिकमा यो बन्दरगाह नेपालको व्यपारको ट्रान्जिट बन्दरगाहको रुपमा प्रस्तावित छ।

ठूलो आकार र क्षमताको यो समुद्री बन्दरगाह भौगोलिक अवस्थिति र पूर्वाधारका हिसाबले तेस्रो मुलुकबाट आउने कार्गो ढुवानीमा तुलनात्मक रूपमा लाभदायी हुनसक्ने मानिएको छ। नदीमा आधारित कोलकाता र लामो दूरीमा रहेको बिशाखापटनम् बन्दरगाहको विकल्प धमरा बन्नसक्ने वाणिज्य मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजूले बताए। यसलाई ध्यानमा राखेर नेपाली पक्षले भारतसँग यो बन्दरगाह प्रयोगमा लिन पाउनका लागि प्रस्ताव गरेको थियो।

गत फेब्रुअरीमा सम्पन्न ‘नेपाल–भारतबीच वाणिज्य सन्धिको पुनरवलोकन बैठक’मा भारतले नेपाललाई थप दुईवटा पोर्ट दिन सैद्धान्तिक सहमति जनायो। उडिसा प्रान्तको भद्राक जिल्लामा पर्ने धमरा र गुजरातको कुच जिल्लामा पर्ने मुन्द्रा बन्दरगाहबाट तेस्रो मुलुकसँगको व्यापार गर्न दिन भारतले सहमति जनाएपछि नेपाली सरोकारवालाले यसमा चाँसो देखाएका हुन्। नेपालीपक्षले आफ्नोतर्फबाट भारतीयनिकायलाई सम्झौताको मस्यौदासमेत बुझाइसकेको छ।

अलमल र निकास
यसअघि कोलकतामा आश्रित नेपाली व्यपारका लागि अरु विकल्पसमेत प्रयोग गर्ने भनेर बिशाखापटनमसँग सम्झौता भए पनि दुई वर्ष प्रयोगमा आउन नसकेको अनुभव छ। धमरा अझ नयाँ हो। यसै वर्ष सैद्धान्तिक सहमति भएर सम्झौता हुन बाँकी नै छ। सम्झौतालगत्तै प्रयोगमा ल्याउन सक्नेगरी नयाँ बन्दरगाहको रुपमा प्राप्त धमराका लागि अहिलेदेखि तयारी र अध्ययन हुनुपर्ने वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपाल बताउँछन्। ‘हामीले हेर्ने भनेको लागत र समयको बचत हो,’ राजपालले नागरिकलाई भने, ‘त्यसको लागि उक्त बन्दरगाहको भौतिक पूर्वाधार, कार्गो ह्यान्डलिङ प्रणाली तथा उपकरण, ढुवानीका लागि सम्पर्क मार्ग र समुचित व्यवस्थापनमा हामी अग्रीम रुपमा ढुक्क भइसक्नु पर्छ।’

उनले सरकारले इच्छाशक्ति देखाए निकट भविश्यमैं धमरा भएर कारोबार सम्भव देखेको टिप्पणी गरे। बल्क कार्गोका लागि बन्दगाहाको विशिष्ठता रहेकाले सुरुवात बल्क कार्गोबाट नै गर्न सकिने उनको राय छ। धमरा बन्दरगाह सञ्चालक कम्पनीले समेत त्यस्तै राय जनाएको छ। भारतीय आर्थिक वर्ष ०१८/१९ मा दुई करोड सात लाख टन बल्क कार्गो ह्यान्डलिङ गरेको धमराले आव ०१९/२० मा दुई करोड ७० लाख मेट लक्ष्य राखेको छ। यो क्षमता ३२ करोड पाँच लाख मेट पु-याउने योजना कम्पनीको छ। यसरी बल्क कार्गोमा अहिले यसले भारी मात्रामा काम गरिरहेकाले धमरा भएर नेपालले सुरुमा बल्ककार्गोका लागि सेवा लिँदै यसको उपयोग प्रारम्भ गर्नुपर्ने देखिन्छ।

यस बन्दरगाहमा सबैभन्दा बढी कोइला आयात हुन्छ। चुनढुंगा, जिप्सम, स्टिल र मलखाद पनि आयात निर्यात भइरहेको छ। मलखादका लागि बन्दरगाहले ७५ हजार टन क्षमताको गोदाम तयार पारिसकेको कम्पनीका बजार प्रबन्धक अमन शरणले बताए। उनका अनुसार कृषिजन्य कार्गोलाई पनि लक्ष्यमा राखिएको छ। यता नेपालका लागि अहिले सीमापारी भारतको रक्सोलमा वार्षिक करिब दुई सय रेक बल्क कार्गोका मालसामान आउने गरेको राजपालले बताए। एक रेकमा करिब साढे २ हजार टन अटाउँछ। जुन पाँच लाख टन हुन जान्छ। त्यस्तै यता वीरगन्ज सिर्सियास्थित सुक्खा बदरगाहमा ‘बिसिएन’मा बग्गी भएको वर्षभरीमा दुई सय ६ रेकमा पाँच लाख १५ हजार टन बोराबन्द सामान आयात भएको आव ०७५/७६ को रेकर्ड छ। नेपालले फलामबाहेक रेलमार्फत वर्षभरी आयात गरेको कुल बल्क कार्गो भनेको धमराले ‘ह्यान्लिङ’को तुलनामा चार प्रतिशतजति मात्र हो। यस्ता कार्गोका लागि धमरा राम्रो विकल्प बन्न सक्ने सम्भावना छ। अहिले हल्दियाबाट बल्क कार्गो मगाइँदा महिनौं रेलका लागि कुनुपर्ने अवस्था छ।

‘कन्टेनर’तिर
धमराबाट भने नेपालका लागि तेस्रो मुलुकबाट आउने ‘बल्क’ र ‘कन्टेनर’ दुवै कार्गोका लागि यो अन्य बन्दरगाहको तुलनामा सहज हुने देखिएको छ। भारतको अहमदाबादमा मुख्यालय रहेको अदानी समूहअन्तर्गतको ‘धमरा पोर्ट कम्पनी लिमिटेड’ले यो बन्दरगाह पाँच वर्षदेखि सञ्चालन गरिरहेको छ। धाम्राले कन्टेनर कार्गोका लागि समेत पूर्वाधार तयारी अवस्थामा रहेको बताएको छ। कन्टेनर ह्यान्डलिङका लागि कन्टेनर फ्रेट स्टेसन (सिएफएस) सञ्चालनका लागि बर्थ र यार्डको क्षेत्र छुट्याएर निकट भविश्यमैं सञ्चालनको योजना रहेको कम्पनीका प्रमुख सञ्चालन अधिकृत सुदीपदास गुप्ताले बताए। कन्टेनर कार्गोका लागि सबै पूर्वाधारको प्रबन्ध मिलाइएकामा त्यहाँका स्थानीय आयातकर्ताले रेलमार्गबाट ढुवानी गर्न नमानेपछि गत वर्ष योजना स्थगित भएको जानकारी गराउँदै गुप्ताले नेपालको त्यसको कार्गो रेलबाट नै लैजानुपर्ने देखिएकाले यसको सम्भाव्यता भने प्रबल रहेको जानकारी दिए।

नेपालले सेवा लिन चाहे जुनसुकै बेला पनि उपयोग गर्न सकिने गुप्ताको दाबी छ। धमरा बन्दरगाहदेखि भटाथिरासम्म ६० किलोमिटर कम्पनीको आफ्नै रेलमार्ग सञ्चालनमा छ। ‘गैरसरकारी रेल सेवा सञ्चालन गरेको छौं, अबको दुई वर्षभित्र दुई लेनको सडकसहित रेल, सडक र पाइपलाइन कोरिडोर बनाउने योजना छ,’ गुप्ताले भने, ‘यसका लागि हामीसँग ६० किमि लामो र एक सय २५ मिटर चौडा आफ्नै जग्गा छ।’ बन्दरगाहले भारत सरकारको ‘जेनरल परपस बेगन स्किम’ (जिउिडब्लुएस)अन्तर्गत आफ्नै स्वामित्वका पाँचवटा मालवाहक रेल सञ्चालन गरिरहेको छ। सन् २०२१ भित्र यस्ता रेलको संख्या ३५ पु-याइने गुप्ताले बताए।

प्रकाशित: ६ आश्विन २०७६ ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App